पहिलो शृंखलामा मैले केही तर्कका आधारमा शरीरलाई समग्र चेतनापुञ्जको समष्टिका रूपमा स्थापित गरेको थिएँ । आज म न्यायशास्त्र र वेदान्त दर्शनका आधारमा ज्ञानको नित्यताका सम्बन्धमा केही तर्कवितर्क गर्ने प्रयत्न गर्दैछु । किनभने के मान्छेको हात चेतन छ ? के गोडा, आँखा नाक, कान, मुख, शरीरमा भएका साराका सारा अवयव चेतनयुक्त छन् त ? छैनन् । संसारमा चेतनै पनि सधैँ अनुकूलको अवस्थामा रहेका देखिँदैनन् । मान्छे त चेतन हो । यदि दश, बीस जना मान्छे कुनै काममा लागे भने कुनै न कुनै बेला तिनमा मतभेद उत्पन्न हुन पनि त सक्छ । कहिलेकाहीँ मतभेद पैदा नहुन पनि सक्ला ।
यस्तै किसिमले शरीरका सबै अवयवमा सदाकाल सबै परिस्थितिमा अनुकूलता नै रहन्छ भन्ने पनि त निश्चितता छैन । शारीरिक अवयवमा यस्तो सदा अनुकूलको स्थिति देखिँदैन । शरीरका साराका सारा अवयव स्वतन्त्र छैनन् र चेतन पनि छैनन् किनभने आँखाले देख्ने देखाउने काम गर्दछ, हातले खाना उठाएर मुखमा पुर्याउने काम गर्दछ नै । गोडाले शरीरलाई बोकेर जहाँ भन्यो त्यहाँ पु¥याउँछ नै । यिनलाई सञ्चालन गर्ने कुनै अर्को तत्व छ भन्ने शंका यिनका क्रियाकलापले नै प्रकट गरेका छन् । किनकि, यिनीहरूमध्ये कुनै एक चेतन छ र सर्वतन्त्र स्वतन्त्र पनि छ । हो, त्यही स्वतन्त्र तत्वलाई खुशी बनाउन यिनीहरू अहोरात्र मनोयोगपूर्वक काम गर्दा रहेछन् ।
आधुनिक युगका विज्ञानीहरू पनि हाम्रा मस्तिष्कमा हजारौं कोषिका हुन्छन् भन्ने मान्छन् । यी सबै अलग अलग प्रकारका हुन्छन् पनि भन्छन् । कुनै बेला कुनै कोषिका प्रज्वलित हुन्छ र त्यसलाई हामीले तत्काल उपयोग नगरे त्यो कोषिका मर्छ र अर्को उत्पन्न हुन्छ ।
यिनमा सहयोगी भाव पनि त्यसकै कारणले पैदा भएको हो न कि सबै चेतनयुक्त र स्वतन्त्र भएका हुनाले । यसरी हेर्दा प्राणीका समग्र शारीरिक अवयव स्वतन्त्र र चेतनयुक्त छैनन् । यदि हुन्थे भने मान्छे मर्दैनथ्यो किनभने शरीरका सबै अंगउपांग हातगोडा, मुख, कान, नाक टाउको पेट ढाड आदि ज्यँुका त्युँ हुँदाहुँदै पनि मुर्दा किन उठेर हिँड्न सक्दैन ? किनभने चेतन र सर्वतन्त्र स्वतन्त्र चाहिँ आत्मतत्व मात्रै छ । सबै शारीरिक अवयवलाई सञ्चालन गर्ने त्यही चेतन तत्वका रूपमा रहेको आत्मतत्व मात्रै हो । आत्माका सम्बन्धमा पनि यो संयोगले उत्पन्न भएको हो भनौँला तर त्यही एक तत्व नै सारा शरीरमा व्याप्त रहेको हुन्छ न कि पृथक पृथक अवयवमा पृथक–पृथक चेतन ।
अब फेरि भनिएला त्यसो भए शरीरका अंगउपांगमा प्रतिनियत शक्ति कसरी आयो त ? प्रतिनियत भन्नाले आँखाले देख्छ मात्रै, सुन्न सक्दैन । कानले सुन्छमात्रै, देख्न सक्दैन । हातले समात्ने मात्रै र गोडाले हिँड्ने मात्रै काम गर्दछन् । यी कुनै पनि एकले अर्को काम किन गर्न सक्दैनन् ? जब सबै शरीरमा एउटै चैतन्यशक्ति व्याप्त छ भने त सबै अवयवले सबै काम गर्नसक्नु पर्दथ्यो नि होइन र ? यदि यी अवयवमा भिन्नाभिन्नै काम गर्ने शक्ति पनि उत्पन्न भयो भनेर मान्ने हो भने पनि त जुन अवयव नास हुन्छ त्यसको स्मरण नहुनुपर्ने हो ? पहिले आँखा देख्ने तर पछि अन्धो भएका प्राणीले पूर्वदृष्ट रूप नसम्झनुपर्ने थियो । त्यसरी नै पछि बहिरो बनेको मान्छेलाई पनि त पहिले सुनेका शब्दको स्मृति नहुनुपर्ने हो ।
खानपान रहनसहनका कारणले भन्न पनि सकिँदैन किन भने अति राम्रा घरघराना र खानदानका मान्छेका सन्तानले पनि त राम्रो गर्न नसकेको देखेका छौँ । अब्राहम लिंकनका, देवकोटाका, गान्धीका र बीपी पुत्रपुत्रीका उदाहरण पनि छन् ।
जहाँ–जहाँ जुन–जुन काम हुनुपर्ने थियो त्यहाँ त्यहाँ त्यही त्यही काम हुनेगर्दथे र त्यहीँ तिनमा तिनको संस्कार पनि त उत्पन्न हुन्थ्यो होला ? जुन अवयव नास हुन्छ या काम गर्न नसक्ने हुन्छ त्यस अवयवको विनास या अक्षमतासँगै संस्कार या स्मृति पनि त नास हुनुपर्ने होइन र ? यस्तो त व्यवहारमा देखिँदैन । यसका अतिरिक्त आधुनिक शरीर विज्ञानविद् भन्छन् केही समयपछि शरीरका सारा अन्तर अवयव बदलिन्छन् । रगत, मासु, हाड, साना–साना कोषिका आदि सबै बदलिने हो भने पहिले देखेका, सुनेका र अनुभव गरेका कुराको स्मृति, ज्ञान के आधारमा हुन्छ त ? यो बदलिने कुरो विज्ञानसिद्ध तथ्य हो । यसबाट पनि के सिद्ध हुन्छ भने यी कुनै पनि कुरा चेतनयुक्त छैनन् ।
यिनमा चेतना या संज्ञान गराउने तत्व कुनै अर्कै छ जसलाई हामी आत्मा भन्छौँ । त्यो तत्वमात्र चेतनायुक्त र नित्य छ जसका आधारमा शारीरस्थ अनर्बाहृय अवयव परिवर्तन या अप्रेसन गरेर अर्कै स्थानापन्न गरे पनि स्थानापित (स्थानापन्न) ले पूर्ववत् काम गर्नथाल्छ किनभने शरीर चेतनयुक्त छ ऊ नित्य छ । ऊ असक्षम पनि भएको छैन र शरीरलाई छाडेर गएको पनि छैन । नोकर या सहयोगी बदलिएर के फरक पर्छ र ? मालिक (आत्म) ज्युँका त्युँ छँदैछ । यो सिद्धान्त मानेपछि सबैको टुंगो लाग्छ । त्यसैका प्रेरणाले त्यसैका प्रसन्नताका लागि सबै अवयव आआफ्ना काम गरिरहेका हुन्छन् र संस्कार पनि त्यही नित्य–चेतन–तत्वमा नै हुन्छ ।
आधुनिक युगका विज्ञानीहरू पनि त हाम्रा मस्तिष्कमा हजारौं कोषिका हुन्छन् भन्ने त मान्छन् नै । यी सबै अलग अलग प्रकारका हुन्छन् पनि भन्छन् । कुनै बेला कुनै कोषिका प्रज्वलित हुन्छ र त्यसलाई हामीले तत्काल उपयोग नगरे त्यो कोषिका मर्छ र अर्को उत्पन्न हुन्छ भन्ने आधुनिक विज्ञानविद्को मत भेटिन्छ । उनीहरू यिनै हजारौं कोषिका मान्छन् त हाम्रो पौरस्त्य योग दर्शनले पनि मूलाधारचक्र, स्वाधिष्ठानचक्र, मणिपूरकचक्र, अनाहतचक्र, निम्नमनश्चक्र/हृदयचक्र, विशुद्धचक्र, आज्ञाचक्र र सहस्रारचक्र भनेर हाम्रा टाउकालाई हजार पत्र भएको कमलको फूलका रूपमा ‘सहस्रार चक्र’ भन्ने मानेको छ ।
यस्ता अनन्त हजारौं ज्ञान हामी जीवनभरिमा लिन्छौँ पनि । तिनको अधिष्ठाता कुनै एक छैन भने कसरी व्यवहार चल्छ त ? हो, त्यसैलाई हामी आत्म या सदाशाश्वत् तत्व भनेर मानौँ । हामी सहस्रारचक्रका पृथक पृथक पत्र भन्छौँ भने उनीहरू कण भन्छन् । यसमा कुनै विवाद छैन । कोही भात भनुन् या चावल भनुन् या राइस भनुन् कि ओदन भनियोस् वस्तु त एटै हो नै । यिनै प्रत्येक कण या पत्रका अभिज्वलनबाटै भिन्न भिन्न ज्ञान प्रकट भयो र नास पनि भयो भन्ने मानौँ ठीक छ तर यसरी मान्दा एउटा ज्ञानले दोस्रा ज्ञानका सम्बन्धमा केही पनि जान्दैन भन्ने त मान्नै पर्ने भयो ।
त्यसो हो भने एक ज्ञानसँग अर्को ज्ञानको तुलना गर्नेवाला चाहिँ के हो त ? या को हो त ? व्यवहारमा म, हामी, तँ, तिमीहरू, त्यो, तिनीहरू आदिबाट पहिले यस्तो हो भन्ने सम्झन्थेँ/सम्झन्थ्यौँ/सम्झन्थ्यौ/सम्झन्थिस् आदि प्रयोग गरेर अहिले म, हामी, तँ, तिमी, त्यो, तिनीहरूलाई यो कुरो यस्तो लाग्न थाल्यो भन्छौँ । यसरी पहिलो ज्ञान र अहिलेका ज्ञानको तुलना गर्ने चाहिँ को हो त ? यो तुलना गर्ने पनि त एउटा स्वतन्त्र ज्ञानै होला भनेर प्रश्न गर्ने हो भने पनि यो नयाँ ज्ञान त्यो पुरानो ज्ञानका सम्बन्धमा केही जान्दैन । त्यो त त्यही बेला मरेको होइन र ? अनि मरेकाले तुलना कसरी गर्नसक्छ ?
यसरी वैज्ञानिक अन्तिम टुङ्गामा पुग्न सकेका देखिँदैनन् । क्षणमा उत्पत्ति भएर क्षणैमा कोषिका नासिन्छन् भन्छन् । संसारमा जुन प्रकारको कार्यकारणभाव देखिन्छ त्यसै अनुरूपको कल्पना गरौँ न त भनेपनि त्यो त निरा कल्पना नै कहलिने अवस्था देखिन्छ । जस्तो देख्यो त्यस्तै कल्पनाको कुनै मूल्य हुन्छ र ? हामी सबैको अनुभव साक्षी छ, हामी सबै आफ्ना ज्ञानको तुलना अर्काको या आफ्नै पूर्वज्ञानसँग गर्ने गर्दछौँ । अब त स्पष्ट त्यही कुरो हुन्छ कि म, हामी, तिमी नामको कुनै एकै वस्तु छ । त्यो त्यही नित्यतत्व आत्माबाहेक अर्को कल्पना गरे पनि ज्ञान र विज्ञानको तानावाना बस्नेवाला छैन । किनभने यो सारा प्रपञ्च त्यसैमा गएर अन्तर्लीन हुन्छ ।
माकुराले जाल बुनेर फेरि निलेजस्तै त्यसैमा सारा ज्ञान पैदा भएर अन्तरलीन पनि हुन्छन् र त्यसैमा सारा संस्कार पनि अवशेष रहेका हुन्छन् । मरेका मान्छेका हातगोडा नचल्ने तर जन्मनेबित्तिकैको बालकले आमाको दूध, घ्यू, मह आदि खानसक्ने भनेपछि त्यो आत्म नित्य छ र नै पूर्वजन्मको संस्कारका बलमा माताको स्तनपानमा बालकको प्रवृत्ति हुन्छ । यसो भएको हुनाले यसको तुलना ब्रहृमाण्डका कुनै पनि कुरासँग हुँदैन । त्यही ज्ञानस्वरूप र नित्यज्ञानस्वरूप आत्मासँग मात्रै हुन्छ । किनभने यी चाहिँ अंश र अंशी हुन् । यसरी विचार गर्दा वैदिक विज्ञानले एउटा नित्यज्ञानरूप आत्मा नै नमानीकन धर छैन भनेको देखिन्छ ।
ईश्वर अंशी हो भने आत्म अंश हो । जीवो ब्रहृमैव नापरः । यसरी जीवत्व भनेको नै त्यही नित्यज्ञानस्वरूप आत्मा हो । मेरो व्यवसाय प्राध्यापन हो । यसैक्षेत्रको एउटा उदाहरण दिऊँ, निश्चित समयमा निश्चित घराना या खानदानका वातावरणमा पालिएका विद्यार्थीलाई एकै विषय उत्ति नै समयमा मैले नै पढाउँदा विद्यार्थी भिन्नभिन्न लब्धांक ल्याउँथे र श्रेणी पनि फरक पर्दथ्यो नै यस्तो किन भयो ? के कारणले भयो ? बताउन सकिन्छ ? भनिएला जसको बुद्धि तीव्र थियो त्यो प्रथम श्रेणीमा उत्तीर्ण भयो, मध्यम श्रेणीको बुद्धि भएकाले दोस्रो श्रेणी ल्यायो, मन्द या कमजोर दिमाग भएकाले तेस्रो श्रेणीको दिमागले तेस्रै श्रेणी ल्यायो भन्ने हो भने पनि त त्यो भिन्नता किन भयो भन्ने प्रश्न हुन्छ नै ।
खानपान रहनसहनका कारणले भन्न पनि सकिँदैन किनभने अति राम्रा घरघराना र खानदानका मान्छेका सन्तानले पनि त राम्रो गर्न नसकेको देखेका छौँ । अब्राहम लिंकनका, देवकोटाका, गान्धीका र बिपी पुत्रपुत्रीका उदाहरण पनि छन् । बिहान बेलुका पेटभरि खान नपाएका बालक अद्वितीय बनेका पनि देखिन्छन् । विद्वान् आमाबाबुका सन्तान अल्प बुद्धिका पनि त देखिएका छन् भने यो पनि त कल्पना गर्न सकिँदैन । यस्तै अवस्थामा हामी निरुत्तर बन्छौँ र ‘बाइचान्स्’ संयोग वशात् या भाग्य वशात भनेर पन्सन सकौँला तर बौद्धिक र वैदिक ज्ञान त त्यसरी चुप लाग्दैन । ज्ञान त नित्य छ, शिवमय छ, शिवत्वमा सत्य, सुन्दर तथा कल्याणमय छ ।
सबै कुरामा समुचित उपपत्ति खोज्नु त पर्दछ नै । त्यो पनि त्यही नै हुनसक्छ नित्य ज्ञानरूप आत्माको स्वीकृतिविना केबल आचार विचार तथा संस्कृति आदिबाट काम चल्न सक्दैन । यी सबैको समष्टिरूप एउटा महान् आत्मा मान्नैपर्छ । यही नै उचित पनि हुन्छ जस्तो देखिन्छ किनभने जहाँबाट सारा प्रपञ्चादिको उत्पत्ति हुन्छ त्यही नै पुगेर लय पनि हुन्छ । त्यही परमात्मा परब्रहृम या परमेश्वरका नामले अनन्त नित्यज्ञानको सत्ता वेद र न्यायले मानेको देखिन्छ । आधुनिक विज्ञानविद् केही शताब्दी या सहस्राब्दीपछि त्यहाँ पुग्नैपर्ने देखेँ मैले ।
Commendable discourse