मालपोत कार्यालय गुल्मीको राजस्व संकलनमा कमी

हिमालय टाइम्स
Read Time = 3 mins

-रमेश विश्वकर्मा

गुल्मी । मालपोत कार्यालय गुल्मीको राजस्व संकलनमा कमी आएको छ । आर्थिक वर्ष ०७७/०७८ को तुलनामा आर्थिक वर्ष ०७८/०७९ मा राजस्व संकलनमा कमी आएको हो ।

आर्थिक वर्ष २०७७/०७८ मा पुँजीगत लाभकर ५३ लाख ४६ हजार १७० र रजिस्ट्रेसन शुल्क दस्तुर एक करोड ८२ लाख ९६ हजार ६०० संकलन भएको थियो । आर्थिक वर्ष ०७८/०७९ मा पुँजीगत लाभकर २४ लाख ६२ हजार ६ रुपैयाँ र रजिस्ट्रेसन शुल्क दस्तुर एक करोड ५२ लाख ६३ हजार १६ रुपैयाँ संकलन भएको थियो ।

आर्थिक वर्ष ०७७/०७८ को तुलनामा आर्थिक वर्ष ०७८/०७९ मा पुँजीगत लाभकरअन्तर्गत २८ लाख ८३ हजार १६४ र रजिस्ट्रेसन शुल्क दस्तुर ३० लाख ३३ हजार ५८४ ले कमी आएको कार्यालय प्रमुख खेतबहादुर खत्रीले जानकारी दिनुभयो ।

आर्थिक वर्ष ०७७/०७८ मा दुई हजार ८१६ र आर्थिक वर्ष ०७८/०७९ मा दुई हजार ६४१ लिखत पारित गरिएको उहाँले बताउनुभयो । त्यस्तै, नामसारी दाखिला संशोधन ०७७/०७८ मा एक हजार १७ र ०७८/०७९ मा ९२५ भएको कार्यालय प्रमुख खत्रीले बताउनुभयो । ०७७/०७८ मा दुई हजार ७१० र ०७८/०७९ मा दुई हजार ६४१ कित्ताकाट गरिएको बताइएको छ । ‘जेठ मसान्तबाट कित्ताकाट गर्न कृषि र गैरकृषि क्षेत्र वर्गीकरण गरी सिफारिस गरेर स्थानीय तहले नपठाउँदा दैनिक लिखत पास घटेको छ,’ कार्यालय प्रमुख खत्रीले भन्नुभयो, ‘अंशबण्डा गर्दा र बिक्री गर्दा कित्ताकाट गर्ने सेवाग्राहीको काम रोकिएको छ । यसले गर्दा पनि राजस्व आम्दानी घटेको हो ।’

राष्ट्र बैंकको नीति, बैंकमा लगानीयोग्य रकमको अभाव, भू–उपयोग नियमावली जारी भएपछि जग्गाको वर्गीकरण स्थानीय तहले नगरिदिँदा कित्ताकाट हुन नसकेर राजस्व संकलनमा कमी आएको कार्यालय प्रमुख खत्रीको भनाइ रहेको छ ।

मालपोत कार्यालयले संकलन गरेको घरजग्गा रजिस्ट्रेसन तथा अन्य कर सम्बन्धित स्थानीय तहलाई ६० प्रतिशत र ४० प्रतिशत प्रदेश सरकारको सञ्चित कोषमा जम्मा हुने गर्छ । पुँजीगत लाभकरबापत उठेको राजस्व संघीय सरकारको सञ्चित कोषमा जम्मा हुने गरेको कार्यालय प्रमुख खत्रीले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?