सिनेमा घरहरू नेपाली फिल्म क्षेत्रको मन्दिर हुन् : भुवन केसी

Read Time = 3 mins

काठमाडौं । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीलाई हल सञ्चालक तथा वितरकहरूको छाता संस्था नेपाल चलचित्र संघले स्वागत, बधाई तथा सम्मान गरेको छ । बुधबार संघकै सभाकक्षमा केसीलाई संघका अध्यक्षसँगै अन्य चलचित्रसँग सम्बन्धित विभिन्न संघका अध्यक्षहरूले स्वागत तथा बधाई दिनुभएको थियो ।

बोर्ड अध्यक्ष केसीले आफ्नो भनाई राख्नेक्रममा सिनेमा घरहरूलाई संरक्षण गर्न सकेको खण्डमा मात्र नेपाली फिल्म क्षेत्र सफल हुने धारणा बताउनुभयो । उहाँले चलचित्र क्षेत्रलाई बलियो बनाउन हलहरूको संरक्षण आवश्यक रहेको बताउनु भएको हो ।

उहाँले भन्नुभएको छ, ‘मैले सिनेमा घरहरूलाई नेपाली फिल्म क्षेत्रको मन्दिर भन्ने गरेको छु । यदि मन्दिर नै छैन भने कहाँ फिल्म चल्छ अनि कहाँ पूजा गर्ने ? त्यो मन्दिरलाई हामी सबै मिलेर संरक्षण गर्न सकेनौं भने फिल्म क्षेत्र सफल हुन सक्दैन । त्यसैले सिनेमा घरहरूको समस्यालाई पनि अवश्य समाधान गर्नेछु ।’ उहाँले नेपालमा हलको संख्यामा वृद्धि हुन आवश्यक रहेको पनि धारणा राख्नुभएको ।

साथै अध्यक्ष केसीले राज्यको तर्फबाट सहयोग नमिलेकाले चलचित्र क्षेत्रले छलाङ मार्न नसकेको पनि तर्क राख्नुभयो । उहाँले भन्नुभयो, ‘फिल्म क्षेत्रलाई राज्यले जसरी सहयोग गर्नुपथ्र्याे, त्यो भएको छैन । जसले गर्दा फिल्म क्षेत्रले छलाङ मार्न सकेन । मलाई सरकारले ‘तपाइँ केही गर्नुस् हामी साथ-सहयोग गर्छौं’, भनेर वाचा गरेकाले अब नेपाली फिल्म क्षेत्रलाई राज्यबाट पूर्ण सहयोग मिल्छ भन्नेमा विश्वस्त छु ।’ उहाँले फिल्म सम्बद्ध सबै संघसंस्थासँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?