जन दबाबमा सरकारले निर्वाचनको मिति घोषणा गर्यो : एमाले उपाध्यक्ष नेम्वाङ

Read Time = 4 mins

-चन्द्रकान्त खनाल

रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले जनदबाबमा सरकारले निर्वाचनको मिति घोषणा गरेको बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उहाँले निर्वाचन आयोगले पहिलेदेखि निर्वाचनका लागि आफ्नो सल्लाह, सुझाव र सिफारिस गरेको र जनदबाब पनि सृजना भएकाले मिति तय भएको स्पष्ट पार्नुभयो ।

‘निर्वाचनको मिति तय भएको छ, हामी खुशी छौँ । तर, यस्ता महत्वपूर्ण विषयमा देशका प्रमुख दललाई थाहा हुुनपर्छ । हामी त प्रतिपक्षी दल हौ । यसबारे जान्न पाउने छलफल गर्न पाउने हाम्रो अधिकार हो’, उहाँले भन्नुभयो ।

लोकप्रिय मतका आधारमा एमाले पहिलो स्थानमा रहेकाले राज्यको अभिन्न अंग प्रतिपक्षी दलसँग निर्वाचनका बारेमा छलफल गरेर मिति तय गर्नुपर्नेमा त्यसो हुन नसकेको उहाँले बताउनुभयो ।

‘हामीले समयमै निर्वाचन घोषणा हुनुपर्छ भनेको थियौँ । घोषणा गरेको मितिमा भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुनुपर्छ भन्ने नै हाम्रो चाहना हो । त्यस कुरामा हाम्रो सहयोग रहन्छ’, उहाँले भन्नुभयो ।

संविधानले मिश्रीत निर्वाचन प्रणलीको व्यवस्था गरेको जनाउँदै उहाँले हरेक गठबन्धन र तालमेल संसदीय मूल्य मान्यता बमोजिम हुनुपर्नेमा त्यसो हुन नसक्नु दःखद भएको बताउनुभयो । 'जुन बेला हाम्रो विरुद्धमा गठबन्धन शुरु भयो । सर्वोच्च अदालतमा रिट निवेदन पर्यो र आफ्नै पार्टीको प्रधानमन्त्रीलाई सरकारबाट हटाउन हाम्रै साथीहरुले तालमेल गर्नुभयाे, त्यसैले यो दुषित गठबन्धन हो, यो रहिरहनु हुँदैन', उहाँले भन्नुभयो, गठबन्धन र तालमेल संसदीय मूल्य मान्यता अनुरुप हुनुपर्छ । निर्वाचनमा आफ्ना एजेण्डा लिएर जनताका बिचमा जान एमालेले तयारी गरेको जनाउँदै उहाँले आउने निर्वाचनमा जनताको आर्शिवाद रहनेमा विश्वस्त रहेको उल्लेख गर्नुभयो ।

आवधिक निर्वाचनको मिति घोषणा भएको छ अब जनताले फैसला गर्ने छन् । वास्तवमा जनताले दुधको दुध र पानीको पानी छुट्याउने छन् उपाध्यक्ष नेम्वाङले भन्नुभयो ।

उहाँले सरकारले छापामार शैलीमा महत्वपूर्ण निर्णय गर्दै आएकाले संसदीय प्रणलीमा लोकतान्त्रिक मूल्य मान्यता अनुसार काम गर्न सुझाव दिनुभयो । एमाले कतिपय तिता पक्षलाई ध्यानमा राखेर निर्वाचनलाई स्वच्छ, भयरहित र शान्तपूर्ण वातावरणमा सम्पन्न गर्नतर्फ लाग्ने उहाँले बताउनुभयो ।

पार्टी निर्वाचनको तयारीका क्रममा विभिन्न प्रदेशमा प्रशिक्षण चलाइरहेको बताउँदै दृढ विश्वासका साथ जनताका बिचमा जाने तयारीमा रहेको उहाँले उल्लेख गर्नुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?