सुडानमा खाद्यान्नको चरम संकट पर्न लागेको संयुक्त राष्ट्रसंघको चेतावनी

Read Time = 3 mins

खार्तुम । संयुक्त राष्ट्रसंघले सुडानमा खाद्य संकट पर्नसक्ने चेतावनी दिएको छ । राष्ट्रसंघले यसअघि पनि कैयौँ पटकसम्म यहाँ खाद्य संकट पर्न सक्ने बताउँदै आएको छ । यहाँ खाद्यान्नको अभाव टार्न आवश्यक पर्ने अन्तर्राष्ट्रिय सहयोग उपलब्ध हुन नसक्ने हो भने छिट्टै नै खाद्यान्नको अभाव पर्ने राष्ट्रसंघले जनाएको छ ।

राष्ट्रसंघको मानवीय सहायतासम्बन्धी निकायले बुधबार सो कुरा बताएको हो । सो निकायले प्रकाशन गरेको विज्ञप्तिमा यहाँ छिमेकी देशहरू दक्षिण सुडान, इरिट्रया, इथियोपियालगायतबाट शरणार्थीहरू आइरहेका तर खाद्यान्नको प्राप्तिका स्रोतहरू नरहेकाले निकट भविष्यमै संकट पर्नसक्ने जनाएको हो ।

यहाँ खाद्यान्न उत्पादन हुन छोडेको र विदेशी दाताहरूबाट प्राप्त सहयोगले मात्र दैनिक रूपमा चल्ने गरेकाले यहाँको अवस्था नाजुक बन्दै गएकाले यहाँका नागरिकहरूमा आन्तरिक रूपमा विस्थापित हुने संख्या पनि बढ्दै गएको पाइएको बताइएको छ । जुनदेखि सेप्टेम्बरसम्म यहाँको करिब एक चौथाई जनसंख्या खाद्यान्नको संकटमा पर्ने देखिएको र अब त्यो भन्दा पनि बढी हुनसक्ने सो संस्थाले जनाएको छ ।
हाल सुडानमा आन्तरिक रूपमा विस्थापित भएका बाहेक पनि पाँच लाख ५० हजार जना शरणार्थीलाई विश्व खाद्य कार्यक्रमले सहयोग गर्दै आएको छ । आगामी दिनमा यदि अहिलेजस्तै संकट पर्दै जाने र विदेशी दाताबाट सहयोग प्राप्त नहुने हो भने शरणार्थीलाई दिइँदै आएको सुविधामा पनि कटौती गर्नुपर्ने अवस्था आउने सो कार्यक्रमले जनाएको छ ।

सुडानको खाद्य क्षेत्रका अधिकारीहरूका अनुसार त्यहाँको चार करोड पाँच लाख जनसंख्यामध्ये एक करोड ८० लाख नागरिकले नै खाद्यान्नको समस्या झेल्नुपरिरहेको छ । खाद्यान्नको संकट हुनुमा रुस र युक्रेनका बीचको द्वन्द्व पनि रहेको छ । साथै नागरिकमा आन्तरिक द्वन्द्व र आर्थिक अवस्था जोडिएको छ ।

त्यसैगरी कृषि उत्पादनमा हुन पुगेको ह्रासले पनि यो अवस्था आएको अधिकारीले जनाएका छन् । युक्रेन र रुसबाट सुडानमा खाद्यान्न आपूर्ति हुने गरेकामा अहिले त्यस्तो अवस्था नरहेकाले पनि संकट आइपरेको अधिकारीरूको भनाइ छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?