छाडा चौपायाका कारण किसानलाई हैरानी

हिमालय टाइम्स
Read Time = 4 mins

भजनी । कैलालीको जोशीपुर गाउँपालिका-४ का श्यामसुन्दर चौधरीले यस वर्ष जसोतसो दुई बिघा जग्गामा धान रोप्नुभएको छ । समयमै मल नपाउँदाको पीडा र समयमा वर्षा नहुँदा सिँचाइका लागि पाएको दुःख नमेटिदै छाडा चौपायाका कारण समस्या भएको छ । उहाँको एक बिघामा लगाएको धान छाडा चौपायाले एक रातमै सखाप पारेका छन् ।

“भर्खरै मल हालेर धान हरियो हुन लागेको थियो । एकै रातमा चौपायाले खाएर सिध्याए”, चौधरीले भन्नुभयो, “किन खेती लगाएछु जस्तो लागिरहेको छ । कहिले प्राकृतिक प्रकोपले दुःख दिन्छ त कहिले चौपायाले ।” प्राकृतिक प्रकोपले क्षति गर्दा सबैको हुने भएकाले चित्त बुझाउने ठाउँ रहने उल्लेख गर्दै उहाँले चौपायाले दिएको दुःख खेपीनसक्नुको भएको पीडा सुनाउनुभयो ।

सोही ठाउँका राजाराम चौधरीको समस्या पनि उस्तै छ । वर्षभरिका लागि खान पुग्ने खेत एकै दिनमा छाडा चौपायाले सखाप पार्न थालेपछि उहाँले खेतमा तारजालीले घेरबारसमेत गरेको बताउनुभयो । चौपायाले सताउन थालेपछि राजारामले खेतको मुख्य भागमा घेरबार गर्नुभयो । “घेरबार गरे पनि खेती जोगाउन सकिएको छैन”, उहाँले भन्नुभयो, “अरुको खेतबाट चौपाया पसेर बाली नष्ट गर्छन् । हिउँदमा भए खेतमै बस्न पनि सकिन्थ्यो । बर्खाको समयमा खेतमा चौपायाको रेखदेखका लागि रातभर बस्न सक्ने अवस्था पनि छैन ।”

कैलाली र कञ्चनपुरका अधिकांश क्षेत्रका किसानका लागि छाडा चौपाया समस्या बन्दै गएका छन् । चौपाया व्यवस्थापनका लागि प्रायः सबै स्थानीय तहले काम गर्दै आएको भए पनि त्यसको प्रभावकारिता देखिएको छैन । चौपायाका कारण किसानमात्रै नभई व्यापारी पनि हैरान छन् । भजनी नगरपालिका-१ मा दूध डेरी सञ्चालन गर्दै आउनुभएका मनु खत्रीले साँझ पसल बन्द गर्दासम्म पसलको आँगन निकै सफा हुन्छ । तर बिहान पसल पुग्दा उहाँको आँगनमा चौपायाको मलमूत्रमात्रै हुन्छ । ट्रस्ट भएका कारण बजारभरिका चौपाया त्यहीँ केन्द्रित हुन्छन् ।

चौपायाले बजार क्षेत्र र सडक नै जाम गरेर बस्दा त्यसले दुर्घटनाको जोखिम समेत बढाएको छ । बस चालक कुमार क्षेत्री छाडा चौपायाका कारण दुर्घटनासमेत बढेको बताउनुहुन्छ । जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरी चौपायाको समस्या समाधान गर्न योजना नै बनाउनुपर्ने बताउनुहुन्छ । “एउटा पालिकाले व्यवस्थापन गरेर मात्र हुन्न, सबैले गर्नुपर्छ”, उहाँले भन्नुभयो । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?