सप्तकोशीमा हाईअलर्ट जारी

हिमालय टाइम्स
Read Time = 2 mins

सुनसरी । सप्तकोशी नदीको जलस्तर अस्वभाविक बढ्ने आँकलनसहित सुनसरी र सप्तरी प्रशासनले तटीय क्षेत्रमा उच्च शतर्कता अपनाएको छ ।

पूर्वी भेगमा जारी अविरल वर्षाका कारण नदीको जलस्तरमा अस्वभाविक वृद्धि देखिएको भन्दै प्रशासनले तटीय क्षेत्रमा शतर्कता बढाएको जनाएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले नदीमा बाढीको उच्च सम्भावना देखिएकाले सबै स्रोत, साधन तयारी अवस्थामा राखिएको बताउनु भयो ।

प्रजिअ यादवले नदीको वराहक्षेत्रको मापनमा पानीको बहाव उच्च देखिएकाले आसपासको क्षेत्र उच्च जोखिममा रहेको भन्दै हाईअलर्टमा सबै संयन्त्र तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो । वराहक्षेत्रको बहाव चतरा मापनमा आइपुग्दा शतर्कता तह पार गर्ने सम्भावना देखिएकोलेसमेत तटीय क्षेत्रसहित आसपासमा सावधानी बढाइएको उहाँले बताउनु भयो ।

प्रजिअ यादवले उक्त बहाव कोशी ब्यारेजको मापनमा आइपुग्दा ५ लाख क्यूसेकको हाराहारीमा पुग्नसक्ने देखिएकाले ब्यारेजमा समेत शतर्कता बढाइएकोे बताउनु भयो ।

यसैबीच कोशीको बाढीलाई मध्यनजर गर्दै सप्तरीतर्फ समेत प्रशासनले हाईअलर्ट जारी गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक अभिनारायण काफ्लेले कोशी आसपासको क्षेत्रमा हाईअलर्ट जारी गरिएको बताउनु भयो । कोशी ब्यारेजले ९ लाख क्यूसेक बहाव धान्नसक्ने बताइएपनि नदीको सतहमा बालुवा थुप्रिएकाले ४ लाख क्यूसेक माथिको बहावलाई प्राविधिकहरुले सम्भावित जोखिमका रुपमा लिने गरेका छन् ।

सुनसरी र सप्तरी प्रशासनले नदीमा बाढीको खतरा बढेकाले तटीय क्षेत्रमा नजान र सावधानी अपनाउन सर्वसाधारणमा आग्रह गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?