गौतमश्री सहकारीका अध्यक्ष सम्पर्कमा

Read Time = 4 mins

काठमाडौं । फरार भनिएका गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रामबहादुर गौतम प्रहरीको सुरक्षाबीच सहकारीको केन्द्रीय कार्यालय कुलेश्वरमै फर्किनुभएको छ । गौतमले बचतकर्ताको सबै बचत रकम फिर्ता गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आफ्नो व्यक्तिगत सम्पत्ति बिक्री गरेरै भए पनि सबै बचतकर्ताको रकम फिर्ता गर्ने कतै नभाग्ने पनि स्पष्ट पार्नुभयो । तथापि केही दिन भने आफूलाई समय दिनुपर्ने उहाँको माग छ ।

विगतमा सहकारीमार्फत् राम्रो व्याजदर दिएको भए पनि अब भने धेरै व्याज दिन नसक्ने उहाँले बताउनुभयो । गौतमले भन्नुभयो, ‘तपाईंहरूले पनि केही व्याज माफी दिनुस्, तपाईंको बचतभन्दा मेरो सम्पत्ति धेरै छ । ऋण उठ्न पनि बाँकी छ, तिर्न सक्छु ।’ उहाँले आफ्ना कम्पनीको व्यापार, सम्पत्ति, सहकारीको बचत, ऋण र जग्गा कति छ भन्ने सबै विवरण आइतबार भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा बुझाउने जानकारी गराउनुभयो ।

सहकारी सदस्यको निक्षेप घोटाला काण्डमा मुछिएपछि गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था समस्याग्रस्त घोषणा गर्न सहकारी विभागले सरकारलाई सिफारिस गरेको थियो । विभागले गौतमश्री सहकारीलाई समस्याग्रस्त घोषणा गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सिफारिस गरेको हो । बचत रकम फिर्ता नपाएको भन्दै ११ सयभन्दा बढी सदस्यले विभागमा उजुरी दिएका छन् । उक्त संस्थाका २५ हजार बचतकर्ताको सात अर्बभन्दा बढी रकम जोखिममा रहेको बताइन्छ । तर, सहकारीको सम्पत्ति भने करिब पाँच अर्ब रुपैयाँमात्रै रहेको बताइएको छ । संस्था विगत २५ वर्षदेखि सञ्चालनमा रहेको थियो ।

विभागले सहकारी संस्थाका अध्यक्ष गौतम एवं निजकी पत्नी निर्मला खत्री गौतमको नाममा नेपालभर रहेको घरजग्गा यथाशीघ्र रोक्का राखी सहयोग गर्न भूमि व्यवस्थापन तथा अभिलेख विभागलाई साउन १७ गते अनुरोध गरी पठाइएको छ । काठमाडौं महानगरपालिका–१४ कुलेश्वरमा रहेको उक्त संस्थाको केन्द्रीय कार्यालय, काठमाडौंको टेकु, कास्कीको पोखरा, चितवनको नारायणगढमा रहेका संस्थाका सेवा केन्द्र र हेटौंडामा रहेको गोदाम, कुलेश्वरमै रहेको संस्थाको सुपरमार्केट र काभ्रेको पात्लेखेतमा रहेको गाई फार्मलगायत सम्पत्तिको सुरक्षा गर्न आग्रह गरेको हो ।

बचतकर्ताको पैसा फिर्ता नगरी पछिल्लो दुई सातादेखि सहकारी संस्थाका सञ्चालक सम्पर्कविहीन भएपछि गत शुक्रबार आफ्नो कर्जा असुली नभएको भन्दै एभरेस्ट बैंकले सिलबन्दी गरेको थियो । उक्त घटनापछि सहकारी ठगी प्रकरण बाहिरिएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?