पर्यटक पर्खदै म्याग्दीको पानी उड्ने झरना

Read Time = 7 mins

-ध्रुवसागर शर्मा
म्याग्दी । विशाल चट्टाने पहरोको शिरानबाट हाम्फाल्दै पहराको बिचमा पहिलो खण्ड र त्यसपछि बिच पहरोबाट जंगलको शिरानमा दोस्रो खण्ड भएर पानी उड्ने म्याग्दीको उडाइनो झरनाले पर्यटकहरुलाई कुरिरहेको छ ।

म्याग्दीको सदरमुकाम बेनीबजारदेखि करिव ४ किलो मिटर पश्चिम बेनी नगरपालिका २ बगरफाँट गाउँको सिरानमा पर्ने यो छहरोको पानी उड्ने र तलबाट हेर्दा निकै आकर्षक देखिने भएकोले यो झरना प्रकृतिप्रेमी पर्यटकको प्रतिक्षामा छ ।

पुछारमा कलकल गर्दै बगेको म्याग्दी नदी । नदीको तटमा लमतन्नै परेको खेतको फाँट । परम्परागत र आधुनिक शैलीका घरले चिटिक्क सिँगारिएको बगरफाँट गाउँ । गाउँको सिरानमा रहेको घना जंगल छिचोलेर यस झरनाको फेदमा पुग्न सकिन्छ ।

जङ्गलको माथिपट्टि विशाल भिर रहेको छ । त्यही भिरको मुख्य पहाड काटिएर अङ्ग्रेजी अक्षर ‘भी’ आकारमा माथिदेखि तल फैलँदै अर्धसोली आकारमा झरेको छ पानी उड्ने/उडाइनो झरना ।

सदरमुकाम बेनीबजारको म्याग्दी पुल तरेर पश्चिम हाँडेभिर सुर्केमेला बरंजा सडकखण्डतर्फ लाग्दा बगरफाँटमा रमणीय धानका हरिया फाँट कटेपछि उडाइनो झरनामा पुग्न सकिन्छ ।

म्याग्दी खोलाको काखमा सुन्दर शान्त बगरफाँट बस्ती र शिरमा झर्ने विभिन्न झरनाहरु हेर्दै करिब चार किलोमिटरको यात्रापछि पुगिन्छ कोप्रे र उडाइनो झरनामा । करिब २०० मिटर उचाई रहेको कोप्रे छहरा र २५० मिटर उचाइ रहेको उडाइनो झरना मुख्य सडकको १०० मिटर दक्षिणी भागमा अवस्थित छन् ।

झरनामा रमाउनका लागि दैनिक करिब १सय ५० जना युवायुवती यहाँ आउने गरेका स्थानीयले बताएका छन् । उडाइनो झरनाको दायातर्फ बरिव २ सय मिटरको दुरीमा कोप्रे झरना रहेका छ । बांगोटिंगो (नागबेली) भएर झर्ने भएकोले यस झरनालाई कोप्रे झरना भनिएको स्थानीय खमबहादुर घर्तीले बताउनु भयो ।
उडाइनो झरना र कोप्रो झरना दुवै वडाका आकर्षक झरना बनेका र यी झरनासम्म पुग्ने पैदलमार्ग तथा अन्य आवश्यक पूर्वाधार निर्माण गरेर प्रचार प्रसार गर्ने हो भने यहाँ धेरै पर्यटकहरुलाई ल्याउन सकिने बेनी नगरपालिका २ का वडाअध्यक्ष यामबहादुर कार्कीले बताए । यी झरनाहरु हिउँदमा सुक्ने र वर्षामा मात्र झर्ने गर्दछन् ।

पूर्वाधार विकास र प्रचारप्रसार गर्नसके आकर्षक पर्यटकीय गन्तव्यस्थलका रुपमा विकसित हुँदै गरेको लभहिल, टोड्के, भकिम्लीको स्वर्गाश्रम जस्तै अर्को पर्यटकीय गन्तव्य बन्नसक्ने स्थानीयको भनाइ छ ।

आन्तरिक र बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बन्ने सम्भावना भएको झरना करिब २५० मिटर अग्लो छ । झरना सदरमुकाम बेनीबजारदेखि करिब ४५ मिनेटको दूरी र बेनी–बगरफाँट–वरंजा सडकअन्तर्गत बगरफाँट गाउँबाट एक हजार मिटर दक्षिणमा पर्दछ ।
बेनपा– ३ भकिम्लीको तोराखेतबाट झर्ने सो झरना पानीको स्थायी स्रोत नहुँदा हिउँदमा भने सुक्छ । पूर्वाधार विकास र प्रचारप्रसार गर्नसके आकर्षक पर्यटकीय गन्तव्यस्थलका रुपमा विकसित हुँदै गरेको लभहिल, टोड्के, भकिम्लीको स्वर्गद्वारी आश्रम जस्तै अर्को पर्यटकीय गन्तव्य बन्नसक्ने स्थानीयको भनाइ छ ।

म्याग्दीका बुद्धिजीवी एवं इतिहासका अध्येता चन्द्रप्रकाश बानियाँले म्याग्दी नदीको पानी लिफ्ट गरेर भएपनि झरनालाई निरन्तरता दिनुपर्ने बताउनु हुन्छ । सो झरनाका कारण सदरमुकाम बेनी र बगरफाँटको मात्रै नभई पुलस्त्य डाँडो, ढोलठाना, मल्लाज, गाजने र टोड्केकोसमेत प्राकृतिक सुन्दरतामा आकर्षण थपिने उहाँको भनाइ छ ।

रमणीय जङ्गलका बीचमा रहेको झरना वरिपरि जङ्गली जनावर र पुशपक्षीको बासस्थानसमेत छ । प्राकृतिकस्वरुप नबिग्रने गरी सुविधायुक्त पर्यटकीय पूर्वाधार व्यवस्थापनका लागि योजना बनाएर यसको विकासमा लाग्न स्थानीयले नगरपालिकासँग माग गरेका छन् ।

झरनामा रमाउँदा निकै रमाइलो भएको र विशुद्ध प्राकृतिक आनन्द मिलेको पर्वतको कुश्माबाट यहाँ घुम्न आउनुभएका लक्ष्मण श्रीषले बताउनु भयो ।

रमणीय जङ्गलका बीचमा रहेको झरना वरिपरि जङ्गली जनावर र पुशपक्षीको बासस्थान समेत छ । प्राकृतिकस्वरुप नबिग्रने गरी सुविधायुक्त पर्यटकीय पूर्वाधार व्यवस्थापनका लागि योजना बनाउनुपर्ने स्थानीयको माग रहेको छ ।

स्थानीयको मागलाई मध्यनजर गर्दै नगरपालिका र प्रदेश सरकारसंग यस्ता प्राकृतिक पर्यटकीय स्थलहरुको संवद्र्धनका लागि यथोचित बजेट माग गर्ने र यहाँ पूर्वाधार निर्माण गर्ने बेनी नगरपालिका २ का वडाअध्यक्ष यामबहादुर कार्कीले बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?