स्वाभिमानी र इमानदार नागरिक बनाउने लक्ष्य भनेको विद्यार्थीको रुचिको विषय पढ्न पाउनु हो

Read Time = 16 mins

-हरिविनोद अधिकारी
हाम्रो शिक्षा क्षेत्र बेवास्ता गरिएको र राज्यले पटक्कै ध्यान नदिएको क्षेत्रमा परेको छ । सबै कुराको आधारभूत स्तम्भको रूपमा रहेको शिक्षालाई सरकारको विकासको प्राथमिकतामा नपारेको र भोलिको तयारीका लागि पटक्कै ध्यान नदिइएको देखिन्छ । कक्षा आठसम्म आधारभूत संरचनाको शिक्षा प्रणाली भनेर कल्पना गरिएको छ जहाँ चरित्र निर्माणको लागि जोड दिइनुपर्ने हो । अनि भोलि म के बन्ने भन्ने बारेमा आफूलाई चिन्ने बनाउने हो ।

आधारभूत तहसम्म सिकारुलाई सबै प्रकारका ज्ञान र सीपको सामान्य जानकारी दिइन्छ किनभने उसको चाहना विस्तार गर्ने र उसलाई कुनचाहिँ विषयमा चाख रहने हो, थाहा पाउने आधार बनाइन्छ । एकातिर साक्षरता अभियानको महान् काम पनि त्यही आधारभूत तहमा सम्पन्न गरिन्छ भने जीवनलाई बुझ्ने तयारीको समय पनि त्यही बेलामा हो । उमेरको हिसाबले आधारभूत तह सम्पन्न गर्दा उत्तर बाल्यावस्थाबाट किशोरवयमा प्रवेश गर्ने बेला सुरु हुनलागेको हुन्छ ।

त्यसपछि सुरु हुन्छ माध्यमिक तह । कक्षा ९ देखि कक्षा १२ सम्म । कुनै बेलामा उच्चमाध्यमिक शिक्षा परिषद्ले हेर्ने गरेको, व्यवस्थापन गर्ने गरेको कक्षा ११ र १२ समेत अहिले एकीकृतरूपमा माध्यमिक तहमा गाभिएको छ तर समाजले अहिले पनि कक्षा १० सम्मलाई एउटा तह र कक्षा १२ सम्मका लागि अर्को तह मान्दैआएको छ । लोकले मानेको र व्यवहारले देखाएको कुरालाई हामीले एकीकृत भन्दैमा र एउटै संरचनामा राख्यौ भन्दैमा नहुने रहेछ ।

आधारभूत तहसम्म सिकारुलाई सबै प्रकारका ज्ञान र सीपको सामान्य जानकारी दिइन्छ किनभने उसको चाहना विस्तार गर्ने र उसलाई कुनचाहिँ विषयमा चाख रहने हो, थाहा पाउने आधार बनाइन्छ । एकातिर साक्षरता अभियानको महान् काम पनि त्यही आधारभूत तहमा सम्पन्न गरिन्छ ।

तत्कालीन उच्च माध्यमिक परिषद्का उपाध्यक्ष प्राध्यापक डाक्टर तीर्थराज खनियाँ भन्ने गर्नुहुन्थ्यो–यो उच्च माध्यमिक (कक्षा ११ र १२) तह भनेको सुराहीको घाँटीजस्तै हो । कक्षा १० सम्म पनि फुकेको छ, विस्तारित छ, उच्चशिक्षाको स्नातकदेखि विद्यावारिधिसम्म पनि फुकेको छ तर ११ र १२ चाहिँ सुराहीको घाँटीजस्तो छ । यो उत्तीर्ण पनि हुनै पर्ने नत्र उच्च शिक्षामा प्रवेश पाइँदैन र यसको सम्पूर्ण व्ययभार अभिभावकले नै लिनुपर्छ । त्यो बेलामा प्रवीणता प्रमाणपत्र हटाएर कक्षा ११ र १२ एकातिर अनिवार्य गरिएको थियो तर कुनै सामुदायिक विद्यालयले त्यसको व्यवस्थापन गर्न निजीतहबाट स्रोतको सञ्चालन गर्नुपर्ने थियो ।

सम्बन्धन, पाठ्यक्रम र परीक्षाको सम्पूर्ण जिम्मा परिषद्को थियो तर आर्थिकरूपमा विद्यालय या उच्चमाध्यमिक विद्यालयले नै उत्तरदायित्व लिएको हुनुपथ्र्यो । स्थानीय नेता तथा राष्ट्रियस्तरका नेताहरू सुरुमा सम्बन्धनका लागि जोडबल लाउँथे, अनि विद्यालयको भौतिक अवस्था बनाउने जिम्मा विद्यालयलाई सुम्पेर निदाउँथे । सायद त्यसैले होला, त्यो बेलामा खुलेका उच्च माध्यमिक विद्यालय अहिले सामुदायिक विद्यालयमा कतिपय ठाउँमा एकीकृत त भएका छन् तर त्यहाँको आर्थिक अवस्था र शिक्षक व्यवस्थापनको अवस्था नाजुक देखिन्छ र भद्रगोलमै चलेको पाइन्छ ।

हाम्रो चलन अनुसार, चलेको शैक्षिक प्रणालीअनुसार कक्षा १० (एसइई) को नतिजा सार्वजनिक भएको छ । पहिलेजस्तो यति अनुत्तीर्ण भए भन्ने अभिलेख अहिले नराख्नु पनि विद्यार्थीमैत्री प्रक्रिया हो जसले विद्यार्थीलाई एउटा विषयमा अनुत्तीर्ण हुँदा सबै विषय कतै भर्ना हुन पाइँदैनथ्यो । त्यसो भए आजका विद्यालय र शिक्षक कसरी विद्यार्थीमैत्री हुने त ?
माध्यमिक तह कक्षा १० उत्तीर्ण हुनेहरूलाई विद्यालयमा नै केही यस्तो जानकारी दिनुपर्छ जसले भोलि कुन विषय पढ्दा राम्रो हुन्छ भन्ने कुरामा उसलाई पथप्रदर्शन हुन सकोस् । एउटा उदाहरणका लागि भनौँ, एउटा किसानले आफ्नो उखुबारीमा लगेर भर्खर एसइई पास गरेको छोरालाई दिउँसभरि उखु काट्न लगायो र भन्यो बाबु, अब म पनि बुढो भएँ, अब यो उखुबारीको दायित्व तिमीले बहन गर्नुपर्छ र मलाई सहयोग गरिरहनु पर्छ, म नहुँदा पनि तिमी एउटा उखु किसानको रूपमा प्रख्यात हुनुपर्छ ।

तर, छोराले भन्यो, पिताजी, मलाई किसान हुन मन छैन, मलाई वकालत गरेर दीनदुःखीहरूको सेवा गर्न मन छ र सबैलाई न्याय दिलाएर कोही पनि अन्यायमा नपिल्सियून भन्ने चाहना छ, म किसान हुन्न । अनि ऊ विद्यालयमा कानुन विषय लिएर पढ्न थाल्यो, किसान हुन चाहेन, खेतीमा उसको मन लागेन ।

कम्प्युटर र सूचना प्रविधिसँग सम्बन्धित विषयहरूको माग अत्यन्त छ प्रशासनमा, निजी व्यवसायमा र विद्यालयहरूमा पनि । शिक्षकको रूपमा जो भोलिको समाजसेवा गर्न चाहन्छ, उसलाई पनि सहयोग गर्नुपर्छ जसले गर्दा उसले भोलिको असल शिक्षकको दायित्व निर्वाह गर्न सकोस् ।

अर्को उदाहरण लिऊँ, भावनाले एसइईमा ए प्लस लेटर ग्रेड ल्याइन् । उसका पिताजीले भावनालाई नेपालको सबैभन्दा नाम चलेको विद्यालयमा या कलेजमा विज्ञान विषयमा कक्षा ११ मा भर्ना गर्न चाहेकाले विज्ञापनहरू हेर्न थाले तर भावनाले भनिन्, पिताजी म त संगीत कक्षामा भर्ना हुन्छु र नेपालको प्रख्यात संगीतज्ञ र गायिका हुन चाहन्छु, त्यसैले मलाई संगीत, नृत्य तथा गायन कक्षाका भर्ना हुन मन छ, म त विज्ञान लिएर पढ्दिन । उसका पिताजीले उसलाई कक्षा ११ मा संगीत पढाउने विद्यालयमा भर्ना गरे ।

यी केही उदाहरणले के भन्न खोजेको हो भने भर्खर माध्यमिक विद्यालय तहको पहिलो खुट्किलो पार गर्ने विद्यार्थीहरूलाई पथ प्रदर्शनको खाँचो हुन्छ किनभने कक्षा ११ र १२ ले रुचिको विषयमा उसको चाहनाको अध्ययन गर्न पाएमात्र उसको भोलिको जे सपना छ, त्यो पूरा गर्न सहयोग पुग्ने छ ।

अभिभावकको रुचि र विद्यार्थीको रुचि नमिलेर नै विद्यार्थीहरूले बीचैमा पढाइ छोड्ने गर्छन् । हाम्रो समाजको चाहना कस्तो छ ए वा बी जे लेटर ग्रेडमा पास भएको छ, विज्ञान नै पढोस्, डाक्टर या इन्जिनियर नै होस् भन्ने पाइन्छ । अनि समाजमा फैलिएको एकप्रकारको रोगजस्तो, समाजमा इज्जत र प्रतिष्ठाको अस्वस्थ प्रतिस्पर्धात्मक मनोवैज्ञानिक विवादमा, अभिभावकको विवादमा बीचमा पेलिने चाहिँ निरपराध बच्चा हुने रहेछ ।

केही कुरामा ध्यान दिन सके ती किशोरावस्थाका जिज्ञासुहरूको समस्या समाधान हुने थियो :
१. विद्यार्थीको रुचि अनुसारको विषय छान्ने अधिकार स्वयं सिकारूलाई दिनुपर्छ ।

२. सकेसम्म विद्यालयमा नै ती विद्यार्थीहरूले विद्यालय छोड्ने बेलामा या परीक्षाको तयारीका बेलामा नै उनीहरूको रुचिनुसारको विषय छान्नका लागि सहयोग गर्न थाल्नुपर्छ ।

३. अभिभावक या दबाब समूहको प्रभावमा उसको रुचिभन्दा बाहिरको विषय पढ्न थाले पनि त्यसले दिने परिणाम भने नकारात्मक हुन्छ र विद्यार्थीले मन लगाएर पढ्दैन, तीक्ष्णबुद्धिको विद्यार्थी नै भए पनि स्नातक तहमा उसले अभिभावकको चाहनाभन्दा फरक विषयम पढ्न चाहन्छ जुन उसको रुचिका विषय हो । त्यसले गर्दा उसको रुचिको विषयलाई उसले कक्षा ९ देखि नै छान्ने, पढ्ने र त्यसैमा उसको विज्ञता हासिल गर्नका लागि प्रोत्साहन गरिनुपर्छ ।

४. विद्यालय तहमा कुनै काम गरेर कमाउने त होइन तर भावी दिनमा कसरी असल नागरिक पनि हुने र सहज तरिकाले जीवन बाँच्ने भन्ने कुरामा अभिभावक, शिक्षक तथा शुभचिन्तक अग्रजहरूले सल्लाह सुझाब दिनुपर्छ ।

५. विद्यालय तहको कक्षा ९ देखि नै कुन विषय उसको रुचिको हो भन्ने ठम्याइका लागि सहयोग गर्नुपर्छ ।

६. कक्षा ११ मा धेरै विषयको ऐच्छिक रोजाइ दिनुपर्छ जसले गर्दा विद्यार्थीको रुचिमा देखिने विविधतालाई संवोधन गर्न सकोस् । यदि उनीहरूमा द्विविधा हुने देखिएमा उसको रुचि पत्ता लगाउने गरी मनोवैज्ञानिक प्रक्रिया अपनाउनु जरुरी हुन्छ, त्यसैले शिक्षकलाई शैक्षिक मनोविज्ञानको तालिम दिइएको हो ।

७. भोलि के बन्न मन छ भन्ने कुरा उसको हाउभाउ, बानी व्यवहारका आधारमा छनोट गर्न शिक्षक र अभिभावकले सहयोग गर्नुपर्छ । विज्ञान, व्यापारशास्त्र, कानुन, शिक्षा, कलाअन्तर्गत धेरै विषयहरू पर्दछन्, समाजशास्त्र, मानवशास्त्र, भूगोल, इतिहास, राजनीतिकशास्त्र, भाषा र साहित्यको साह्रै ठूलो क्षेत्र छ, जसमा विद्यार्थीहरूको रुचि देखिन्छ । पर्यटन क्षेत्र, होटेल व्यवस्थापन, कृषि, सामान्य इन्जिनियर, प्राविधिक धार जसले स्वरोजगारको काम गर्न गराउन सकिन्छ, त्यस्ता विषयको छनोटमा शिक्षक, अभिभावकको साथ र सहयोग पाए भने रुचिको विषय अध्ययन गर्न सक्छन् । कम्प्युटर र सूचना प्रविधिसँग सम्बन्धित विषयको माग अत्यन्त छ प्रशासनमा, निजी व्यवसायहरूमा र विद्यालयमा पनि । शिक्षकको रूपमा जो भोलिको समाजसेवा गर्न चाहन्छ, उसलाई पनि सहयोग गर्नुपर्छ जसले गर्दा उसले भोलिको असल शिक्षकको दायित्व निर्बाह गर्न सकोस् । कतै काम नपाएपछि शिक्षक हुने होइन, शिक्षण एउटा स्वतन्त्र र भावी पीँढीको जीवन रेखा तयार गर्ने सेवाको रूपमा लिइने हो ।

८. यो कुरामात्र कक्षा ११ को लागि मात्र होइन, आधारभूत तहपछि जसले पनि रुचिको विषयमा आफ्नो अध्ययनको निरन्तररूपमा गर्न गराउन पाउनुपर्छ । के कुरामा बढी ध्यान दिनुपर्छ भने मुख्यतः असल नागरिक, नैतिकवान नागरिक बन्ने कुरा महत्वपूर्ण हो । कुनै पनि काम पूजनीय हुन्छ । सेवाले नै सेवाको महत्व बढाएको हुन्छ । चिकित्सक, अभियन्ता, अधिवक्ता, शिक्षक, प्राध्यापक, न्यायाधीश जस्ता सेवाका क्षेत्रहरूमा सेवागर्नेले समाजलाई बाटो देखाउने हो, समाजको नैतिकताको बन्धन अझ कसिलो बनाउने हो । कुनै पनि विषय सानो, ठूलो, राम्रो, नराम्रो भन्ने हुँदैन, पात्रको चयन नै विषयको गरिमा हो ।

९. र अन्त्यमा, सबैभन्दा ठूलो कुरो भनेको असल नागरिक बन्ने हो , इमानदार जनसेवक बन्ने हो, त्यसका लागि आफ्नो रुचिको विषयमा विज्ञता हासिल गर्ने हो । बाँच्ने जीवन त आफैंले हो, आफ्ना लागि अध्ययन गर्ने हो जसले जीविकोपार्जन पनि हुन सकोस् सम्मानजनक जीवन स्वाभिमानसँग बाँच्न सकियोस् र अरूलाई पनि पथप्रदर्शन गर्न सकियोस् । त्यसैले शिक्षाको मुख्य लक्ष्य नै असल र स्वाभिमानी नागरिकको उत्पादन, पुनरुत्पादन हो जो आफू पनि टाउको उचालेर बाँच्न सकोस् र अरूलाई पनि टाउको उचालेर बाँच्न सिकाओस् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?