राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि कुमारी माविलाई

हिमालय टाइम्स
Read Time = 3 mins

काभ्रे । काभ्रेको विकट खानीखोला गाउँपालिकास्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि कुमारी माध्यमिक विद्यालयले जितेको छ । खानीखोला-७ स्थित महांकालमा सम्पन्न प्रतियोगितामा सात स्वर्ण, आठ रजत र दुई कांस्य गरी १७ पदकसहित कुमारी माविले उपाधि जितेको हो ।
गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले शिक्षा क्षेत्रमा परिवर्तनको महसुस हुने गरी केही काम गर्ने संकल्पसहित आफू लागिपरेको बताउँदै विगतमा रोकिएको राष्ट्रपति रनिङ शिल्ड अब निरन्तर हुने बताउनुभयो ।

गाउँपालिका उपाध्यक्ष दोर्जेमान जिम्बाले स्थानीयस्तरमा रहेका खेलाडीको प्रतिभा पहिचान र क्षमता अभिवृद्धिका लागि गाउँपालिकास्तरीय प्रतियोगिता सञ्चालन गरिएको बताउनुभयो । उहाँले सबै खेलमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यालयले नै राष्ट्रपति रनिङ शिल्ड हात पारेको बताउनुभयो ।

प्रतियोगितामा सात स्वर्ण, एक रजत पदक हात पार्दै जनविकास मावि द्वितीय र ६ स्वर्ण, दुई रजत र चार कांस्य पदक प्राप्त गर्दै जनहित मावि तृतीय हुन सफल भएका छन् । त्यस्तै, दुई स्वर्ण, दुई रजत र एक कांस्य पदक जित्दै भृकुटी माविले सान्त्वना स्थान प्राप्त गरेको छ । प्रतियोगितामा प्रथम हुने विद्यालयलाई शिल्ड, मेडल र प्रमाणपत्रसँगै द्वितीय, तृतीय र सन्त्वना हुने विद्यालय र विधागत प्रथम र द्वितीय तथा उत्कृष्ट खेलाडीलाई मेडल, प्रमाणपत्रसमेतले पुरस्कृत गरिएको छ ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष थिङ, उपाध्यक्ष जिम्बा, गाउँपालिका शिक्षा शाखाका तर्फबाट होमबहादुर वाइबा र चक्रबहादुर थापालगायतले विजेता विद्यालय र पदक विजेता खेलाडीलाई पुरस्कार प्रदान गर्नुभएको थियो । गाउँपालिकाभित्रका आठ विद्यालयले सहभागिता जनाएको प्रतियोगितामा छात्र भलिबल, छात्र र छात्रा दुवैको दौड, हाइजम, लङजम, त्रिपलजम्प, ज्यामलिङ, सटपुट, कराँते गरी आठ विधाका ५८ वटा पदकका लागि दुई सयजना विद्यार्थी खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?