क्यानको छात्रवृत्तिका लागि आवेदन खुला

Read Time = 3 mins

काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले प्राविधिक शिक्षातर्फ विगत चार वर्षदेखि प्रदान गर्दै आएको छात्रवृत्तिको ‘नेसनल आइसिटी स्कलरसिप- २०७९’ का लागि आवेदन खुला गरेको छ । महासंघले राष्ट्रभित्र सूचना प्रविधिको अध्ययन-अध्यापन गर्ने, गराउने कलेजको सहयोगमा गरिब, जेहेन्दार, विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गर्दै आएको छ । छात्रवृत्ति कार्यक्रम लर्ड बुद्ध एजुकेसन फाउन्डेसनसँगको सहकार्यमा सुरु गरिएको हो । छात्रवृत्तिमार्फत् यस वर्ष पनि ४९ जना विद्यार्थीलाई आंशिक तथा पूर्ण छात्रवृत्ति प्रदान गरिने महासंघले जनाएको छ ।

महासंघका अनुसार सातै प्रदेशका विद्यार्थीले समान अवसर पाउने गरी प्रत्येक प्रदेशबाट एक छात्रालाई पूर्ण छात्रवृत्ति र बाँकी ४२ जनालाई आंशिक छात्रवृत्ति प्रदान गरिनेछ । विगत चार वर्षदेखि सञ्चालित कार्यक्रमअन्तर्गत हालसम्म ४६ जना विद्यार्थी अध्ययनरत रहेका छन् ।
यस वर्ष पनि फिमेल मेरिट आइसिटी स्कलरसिपमा प्रत्येक प्रदेशबाट चारजनाका दरले २८ छात्रालाई छात्रवृत्ति प्रदान गरिने र आइसिटी मेरिट स्कलरसिपअन्तर्गत प्रत्येक प्रदेशबाट तीनजनाका दरले २१ जनालाई छात्रवृत्ति प्रदान गरिने महासंघद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

क्यान र कलेजबीचको सम्झौताअनुसार ४९ जना विद्यार्थीले एक करोड ९५ लाख ५८ हजार रुपैयाँबराबरको छात्रवृत्ति पाउनेछन् । छात्रवृत्ति पाउने विद्यार्थीले लर्ड बुद्ध एजुकेसन फाउन्डेसनमा स्नातक तहअन्तर्गत बिएससी आइटी अध्ययन गर्न पाउनेछन् । मान्यताप्राप्त शिक्षण संस्थाबाट ५० प्रतिशत अंकसहित प्लस टु वा सो सरह अध्ययन गरेका र कक्षा १० को गणितमा कम्तीमा ५० प्रतिशत अंक ल्याई सिटिइभिटीबाट कम्प्युटर इन्जिनियरिङमा डिप्लोमा गरेकाले छात्रवृत्तिका लागि आवेदन दिन सक्ने बताइएको छ ।

इच्छुक विद्यार्थीले क्यान महासंघ र लर्ड बुद्ध एजुकेसन फाउन्डेसनको वेबसाइटमार्फत् भदौ ९ गतेभित्र आवेदन दिनुपर्ने क्यान महासंघका महासचिव नारायण थापाले बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?