राष्ट्रपति कार्यालयबाट नागरिकता विधेयक ढिला नहुनुपथ्र्यो : प्रचण्ड

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । सत्तारूढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएको नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरणमा ढिलाइ गर्न नहुने बताउनुभएको छ । पाँचदिने जापान भ्रमणबाट फर्किएपछि बुधबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले प्रमाणीकरणका लागि ढिला हुन नहुनेसमेत बताउनुभयो । विधेयक राष्ट्रपतिले रोक्न नहुने पक्षमा आफू रहेको भन्दै उहाँले भन्नुभयो, ‘नागरिकता विधेयक राष्ट्रपतिले रोक्नुहुन्न भन्ने मलाई लाग्छ । ढिलो नहुनुपथ्र्यो ।’

संविधानको धारा ११३ मा प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेश भएको विधेयक १५ दिनभित्र प्रमाणीकरण गरी त्यसको सूचना यथासम्भव चाँडो दुवै सदनलाई दिनुपर्ने व्यवस्था छ ।

राष्ट्रपति भण्डारीले भने नागरिकता विधेयकबारे विचार गरिरहेको बताइएको छ । नागरिकता विधेयक प्रमाणीकरण नगर्न र प्रमाणीकरण गर्न भनेर राष्ट्रपतिकहाँ विभिन्न व्यक्ति र समूहले भेट गरिरहेको अवस्थामा सत्तारूढ दलका प्रमुख नेताको यस्तो प्रतिक्रिया आएको हो ।
प्रचण्डले पहिलोपटक जापान भ्रमणमा गएको र भ्रमण धेरै राम्रो भएको सुनाउनुभयो । उहाँले फोहोर व्यवस्थापनका लागि सहयोग माग गरिएको पनि जानकारी गराउनुभयो । ‘विकास साझेदारमा जापान अघि छ । जापानले नेपाललाई गरेको सहयोगप्रति आभार प्रकट गर्‍यौँ । जापान फोहोर व्यवस्थापनमा सायद संसारकै अग्रणी रहेछ । कतै फोहोर नै नदेखिने बनाएका रहेछन्,’ उहाँले भन्नुभयो ।

जापानको हाइड्रो, कृषि र भौतिक संरचना आवश्यकता भएको विषयमा छलफल भएको प्रचण्डले बताउनुभयो । उहाँले नेपाल जापानबीच प्रविधिको सहयोगबारे छलफल भएको बताउनुभयो । नेपाली जनप्रगतिशील मञ्चको निमन्त्रणमा गत शुक्रबार प्रचण्डसहितको टोली जापान गएको थियो । टोलीमा अध्यक्ष प्रचण्डसँगै उहाँका स्वकीय सचिव रमेश मल्ल, प्रेस संयोजक सूर्य किरण र निजी सचिव गंगा दाहाल हुनुहुन्थ्यो ।

जापानमा रहँदा विभिन्न कार्यक्रममा सहभागी हुनुभएका प्रचण्डले त्यहाँको सत्तारूढ लिवरल डेमोक्रेटिक पार्टीका वरिष्ठ नेता एवं नेपाल जापान संसदीय समितिका सभापति तोसिहिरो निकाईसँग भेटवार्ता गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?