भनिरहनु पर्दैन अहिले बर्खाको समय छ । आधाआधी वर्षा याम बित्दैछ । जताततै घनघोर वर्षा भइरहेको छ । काठमाडौं उपत्यकामा यस वर्ष पहिलेको भन्दा बढी वर्षा भएको हो कि जस्तो देखिन्छ । प्रत्येक दिन ठूलो वर्षा भइरहेको छ । केही ठाउँहरू जलमग्न भएका छन् । बस्तीमा र मानिसका घर पसलमा पानी पसेर जनजीविन प्रभावित बनाएको छ । राजधानी काठमाडौंमै यस्तो अवस्था छ भने राजधानीबाहिरका अन्य ठाउँमा त्यसभन्दा ठूल्ठूला क्षति भएका छन् भनेर अनुमान गर्न गाह्रो छैन । अहिले त सञ्चारमा धेरै प्रगति भएको समय हो । जहाँ जे जस्ता साना ठूला घटना भए पनि त्यसको जानकारी सबैतिर केही समयभित्रै पुग्नसक्छ ।
त्यसकारण देशमा विगतको भन्दा मानवीय क्षति चाहिँ कमै भएको छ भन्न सकिन्छ । बाढी पहिरोबाट भौतिक क्षति भने भइरहेको छ र हुनेक्रम जारी छ । राजधानीका विभिन्न खोला किनाराका बस्तीहरू पानी भरिनाले डुबानमा परेका छन् । बागमती, विष्णुमती, मनहरा, धोवी खोला हनुमन्ते लगायत खोलाका किनाराहरू च्यापेर घर बनाइनाले पानीको बहाव रोकिन जाने गरेको छ । जसले गर्दा त्यस्ता ठाउँका मानिसहरू बर्खायाममा चइनले सुत्न पाउँदैनन् । हुन त त्यस्ता ठाउँहरूमा हिउँदमा पनि दुर्गन्ध फैलिनाले त्यहाँका बासिन्दाहरूलाई बस्न असहज नै हुने गरेको छ । प्रकृतिलाई बिथोल्नाले त्यसको परिणाम मानिसले भोग्नैपर्छ भन्ने अर्थमा पनि कतिपयले यसलाई व्याख्या गर्ने गरेका छन् ।
नदीहरूको बहाव रोकेर मानिस बस्नाले यस्तो भएको हो भन्ने तर्क गर्न ठूलो विज्ञको जरुरत पर्दैन । यस्ता नदी किनारतिर धेरैजसो सुकुमबासी हुँ भनेर दाबी गर्ने वर्गका मासिहरू बसेका छन् । तिनले त्यही परिभाषा अनुरूपका ससाना घर बनाएका छन् । त्यही होचो र नदीको बहाव च्यापिएका ठाउँहरूमा यसरी बाढी पसेर डुवान हुने गरेको छ । उपत्यका बाहिरका गाउँघरबाट राजधानी काठमाडौं उपत्यकामा बस्ने र केही दुःखजिलो गरेर जीविकोपार्जन गर्ने मनशाय राखेर आएका मानिसहरूले यस्तै खोला किनार ओगटेर बसेका छन् । कतिपय राजनीतिक व्यक्ति हुँ भन्नेहरूले बलमिच्याइँ गरेर व्यक्तिका आवादी दर्ता जग्गासमेत ओगट्ने काम गरेर बसेका छन् । कतै खाली जग्गा देख्नासाथ त्यसलाई ओगट्ने प्रवृत्तिले गर्दा खोलाहरू साँगुरिँदै गएका छन् ।
त्यसैले बर्खामा मुहानतिरबाट आएको पानीको प्रवाह खोलाको भाग भनेर छोडिएको डोरेटोमा नअटेर बस्तीतिर प्रवाहित हुने हुँदा बस्ती डुवानमा पर्ने गरेको हो । यस कुरालाई बुझेर मानिसले नदीहरूको प्राकृतिक बाटो छोडिदिनु पर्ने हो तर बर्खा आफू डुवानमा परेका बेला त्यस्तो सोच आए पनि हिउँदमा छेपाराको कथा जसरी मानिसले बर्खामा भोगेको पीडा बिर्सिन्छन् । काठमाडौंको महँगो जग्गा ओगट्नेले अलिकति ओगटे पनि त्यसको मूल्य निकै पर्ने भएका कारण आफूले किन्दा त्यतिलाई नै धेरै पर्ने भएको हुँदा जति आफूले ओगट्न सकेको छ त्यसैमा जीविका गरेर बस्नुपर्ने तिनको बाध्यता छ । त्यसैले त्यसलाई फैलाउन पनि खोलातिरै लम्किनुपर्ने हुन्छ । यसो गर्दागर्दै खोलाको बगर मिचिँदै गएर अझै सानो हुन्छ र पानी बग्ने ठाउँ नपाएर माथि निस्कन्छ ।
अहिले भएको यस्तै हो तर यसको लागि सरकारले स्पष्ट नीति बनाएर यसलाई नियमन गर्नु राम्रो हो । नत्र यस्ता घटनाले निरन्तरता पाइरहन्छन् । हामी आफैँ पनि यसको मारमा परेका छौँ । हिमालय टाइम्स राष्ट्रिय दैनिक छापिने आशुतोष प्रेसमा बाढी पस्नाले प्रकाशनको लाखौँको कागज, मसी र अन्य भौतिक सम्पत्तिमा क्षति पुगेको छ । निरन्तरको वर्षाका कारण काठमाडौं उपत्यकामा सधैँको भन्दा बढी क्षति भएको छ । सकर्तकता नै यसबाट जोगिने मुख्य उपाय हो । काठमाडौं उपत्यका नीति नियमको कमीका कारण अस्तव्यस्त भएको यस परिस्थितिमा सरकारले यसलाई व्यवस्थित गर्नु आवश्यक छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच