राष्ट्रपति भवन अगाडि निहारिकाको आत्मदाहको प्रयास

Read Time = 2 mins

काठमाडौं । निहारिका राजपुतले आत्मदाहको प्रयास गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवास अगाडी शुक्रबार दिउँसो राजपुतले आफ्नो शरीरमा पेट्रोल खनाएर आत्मदाहको प्रयास गर्नुभएको थियो ।

आफूलाई बलात्कार गर्ने दोषीलाई कारबाही, दोषी र बलात्कारबाट जन्मेको छोराको डीएनए परीक्षणसहितको माग राखेर दोस्रोपटक एक सातादेखि आमरण अनशन बस्नुभएकी उहाँले शुक्रबार दिउँसो आत्मदाहको प्रयास गर्नुभएको हो ।

आफूले न्याय नपाएको भन्दै केही दिनयता उहाँले राष्ट्रपति भवन अगाडि गएर आत्मदाह गर्ने बताउँदै आउनु भएको थियो । उहाँको आत्मदाह प्रयासलाई सुरक्षाकर्मीले असफल बनाएका छन् ।

प्रहरीले निहारिकालाई स्वास्थ्य जाँचका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगेको छ । आफू १७ वर्षको हुँदा एक युवकले बलात्कार गरेको र सोही बलात्कारबाट छोरा जन्मिएको भन्दै उहाँले दोषीलाई कारबाहीको माग राखेर दोस्रोपटक आमरण अनशन बस्नुभएको हो ।

महोत्तरी जलेश्वर नगरपालिका ९ की निहारिकाले जिल्ला अदालतबाट दोषीलाई सफाइ दिएपछि उच्च अदालत जनकपुरमा पुनरावेदन दिनुभएको छ । तर, मुद्दा विचाराधीन छ । जसकारण आफूले न्याय पाउन नसकेको र पीडित खुलमखुला हिँडेको भन्दै कारबाहीको माग राखेर उहाँ काठमाडौं आएर अनशन बस्नुभएको हो

यसअघि उहाँको अनशन तोडाउन सरकारले ५ बुँदे सहमति गरेको थियो । तर, सहमति कार्यान्वयन नभएपछि दोस्रोपटक यही २० साउनदेखि आमरण अनशन बस्नुभएको हो । गत ३ असारमा गृहमन्त्री बालकृष्ण खाँणकै उपस्थितिमा ५ बुँदे सहमति गरेर उहाँले अनशन तोड्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?