बञ्चरे डाँडा ल्यान्डफिल्ड प्रभावितद्वारा तत्काललाई आन्दोलन स्थगितको घोषणा

Read Time = 5 mins

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको ल्याण्डफिल्ड साइट बञ्चरे डाँडाँका प्रभावितले तत्काललाई आन्दोलन स्थगितको घोषणा गरेका छन् ।

उनीहरुले सरकारले मागेको तीन महिना अवधि हेरेर भावी कदम चाल्ने प्रष्ट पारेका छन् ।

आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै बञ्चरे डाँडा फोहोर ल्याडफिल्ड साइट प्रभावीत क्षेत्र व्यवस्थापन सरोकार समितिले सरकारले प्रभावित क्षेत्रमा परेको असर र समस्या समाधानको उपायबारे प्रतिवेदन तयार पार्न ३ महिना समय मागेपछि आन्दोलन हाललाई रोकेको जानकारी दिएको हो ।

गत साउन २९ गते शहरी विकास मन्त्रालयले प्राविधिक परामर्श टोली गठन गर्ने र उक्त टोलीले तयार पारेको प्रतिवेदनअनुसार काम अघि बढाउने निर्णय गरेसँगै आन्दोलनका कार्यक्रम हाललाई स्थगित् गरिएको समितिका संयोजक श्रीराम ढुंगानाले जानकारी दिनुभयो । सरकारले गरेको निर्णयमा प्राविधिक टोलीले ३ महिनाभित्र तथ्यगत रिपोर्ट तयार गर्ने र सो रिपोर्टको आधारमा काम अघि बढाइने उल्लेख गरिएको छ ।
उहाँले भन्नुभयो,‘सरकार र शहरी विकास मन्त्रालयले ३ महिनाभित्र प्राविधिक प्रतिवेदन तयार पार्ने र त्यसलाई विधानको रुपमा प्रयोग गरिने भनेसँगै आन्दोलन अहिलेलाई स्थगित गर्न तयार भयौ ।’ राष्ट्रप्रतिको दायित्वबोध गर्दै आन्दोलनलाई स्थगित नभई यसको रुपमात्रै परिवर्तन गरेको उहाँको स्पष्टोक्ति थियो ।

उहाँले आगामी तीन महिनासम्म सम्पुर्ण सिस्डोल फोहोर व्यवस्थापन संघर्ष समितिहरुले आफ्नो आन्दोलन रोकेर प्राविधिक टोलीलाई सहयोग गर्ने बताउनु भयो । ढुंगानाले काठमाडौं महानगरको काम र भूमिकालाई हेरेर आफुहरुको गतिविधि बढाइने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो ‘त्यहाँका उद्योग, बस्तीलाई स्थानान्तरण गर्ने स्थायी समाधानका विकल्प नभएसम्म, महानगरपालिकाको व्यवस्थापनको रणनीति हेरेर फेरी गतिविधिहरुलाई अघि बढाउनेछौं ।’

उहाँले राज्यको प्रतिनिधित्व गर्ने काठमाडौं महानगरले धेरै वर्षदेखि स्थानीयहरुलाई अवान्चित रुपमा समस्या खडा गरेर चुप बसेको भन्दै उक्त कार्य फेरि नदोहोर्याउन समेत चेतावनी दिनुभयो ।

ढुंगानाले विगत १५ वर्षदेखि नेपाल सरकार, मन्त्रिपरिषद र सम्बन्धित मन्त्रालयहरुले पुनर्लेखन गरेर त्यहाँको वातावरण, पशपन्छी, जग्गा प्राप्ती, गुठी, कृषी उद्योग, छाडा जंगली जनावरले गरेका असरको बारेमा अध्ययन गरेपनि समाधानबारे चासो नदिएको गुनासो पोख्नुभयो । र, अब पनि समस्या समाधानबारे नसोचे सदाका लागि फोहोर व्यवस्थापनमा रोक लगाउन बाध्य हुने उहाँको चेतावनी छ ।

प्राविधिक टोलीले तथ्यगत र स्थानीयको भावनालाई बुझेर रिपोर्ट बनाउनेमा आफु विश्वस्त रहेको पनि उहाँले सुनाउनु भयो ।

त्यस्तै, स्थानीय मनोज तामाङले फोहोरको गाडी गुड्ने सडकमा फोहोर धेरै चुहिएको भन्दै उक्त सडकमा तत्काल पानी हालेर सफा गर्न सरकारसमक्ष आग्रह गर्नुभयो । फाहोरमैला संकलन गरेर सरकारले गुठीको जग्गा नियन्त्रणमा लिएको उहाँको भनाई थियो । गुठीको जग्गा स्थानीयलाई उपभोग गर्न मिल्नेगरि व्यवस्थित गर्नुपर्ने उहाँको धारणा छ ।

यसैगरी, स्थानीय युवा हरि लामाले अंग्रेजी भाषामा लेखिएको सरकारको निर्णयको विरोध गर्नुभयो । सरकारले सर्वसाधारणले नबुझ्ने भाषामा जनतालाई भ्रममा पार्न खोजेको टिप्पणी गर्दै उहाँले सबै जनताले बुझ्ने सरल भाषामा सहमति तथा सम्झौताका बुँदाहरु बाहिर ल्याउनुपर्ने माग गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?