रियलको विजयी सुरुवात

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । रियल म्याड्रिडले नयाँ सिजनको स्पेनिस ला लिगामा अल्मेरियामाथि २-१ गोलअन्तरले जित हात पार्दै विजयी सुरुवात गरेको छ । रियलको पुनरागमन जितमा लुकास भास्क्वेज र डेभिड अलाबाले एक-एक गोल गर्नुभयो । अल्मेरियाका लार्जी रमाजानीले सान्त्वना गोल फर्काउनुभयो ।

खेलको छैटौँ मिनेटमा रमाजानीको गोलबाट रियल खेलमा पछि परेको थियो । ४३औँ मिनेटमा लुकास भास्क्वेजले गोल गरे पनि उक्त गोल अफसाइड घोषित भयो । रियलले ६१औँ मिनेटमा बराबरी गोल फर्कायो । त्यसपछि डिफेन्डर अलाबाले मैदान छिर्नेबित्तिकै फ्रिकिकमा गोल गर्दै रियललाई २-१ को जित दिलाउनुभयो ।

ला लिगाकै अर्काे खेलमा जापानी मिडफिल्डर ताकेफुसा कुवोको गोलमा रियल सोसिडाडले क्याडिजलाई १-० ले पराजित गरेको छ । यस्तै भ्यालेन्सियाले जिरोनालाई १-० ले नै पराजित गरेको छ ।

चेल्सी र टोटनहमको बराबरी
यता इंग्लिस प्रिमियर लिगअन्तर्गत चेल्सी र टोटनहम हट्सपरले २-२ को रोमाञ्चक बराबरी खेले । चेल्सीका लागि कालिडु कौलिबाली र रिस जेम्सले अग्रता दिलाउँदा टोटनहमका पिएर एमिल होएबिएर र हृयारी केनले बराबरी गोल फर्काउनुभयो ।

स्टामफर्ड ब्रिजमा भएको खेलमा कौलिबालीले सुन्दर गोल गर्दै घरेलु टोलीलाई अघि बढाउनुभयो । दोस्रो हाफको ६८औँ मिनेटमा स्पर्स होएबिएरको गोलसँगै खेलमा फर्कियो । ७७औँ मिनेटमा चेल्सीले जेम्सको गोलमा अग्रता लियो । इन्जुरी समयको अन्तिम मिनेटमा गोल गर्दै केनले टोटनहमका लागि एक अंक जुटाउनुभयो । यस बराबरीसँगै दुवै टोलीको दुई खेलमा चार अंक भएको छ । टोटनहम अंकतालिकाको चौथो स्थानमा तथा चेल्सी सातौँमा छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?