नेपाल यू-१९ क्रिकेट विश्वकपमा छनोट

प्रधानमन्त्रीको बधाई, क्यानद्वारा जनही एक लाख दिने घोषणा

हिमालय टाइम्स
Read Time = 5 mins

यज्ञराज जोशी/हिटा
काठमाडौं । घरेलु टिम युनाइटेड अरब इमिरेट्स (युएई) माथि सात रनको रोमाञ्चक जित निकाल्दै नेपालले अर्को वर्ष श्रीलंकामा हुने युवा विश्वकपमा स्थान पक्का गरेको छ । नेपालले सन् २०१६ पछि विश्वकपमा स्थान बनाएको हो । बिहीबार युएईलाई ६ रनले हराउँदै नेपाल विश्वकपमा पुगेको हो । छनोटमा नेपाल अपराजित रह्यो । नेपालले सिंगापुरलाई ९६, कुवेतलाई २४३, हङकङलाई नौ विकेट र मलेसियालाई १० विकेटले हराएको थियो ।

नेपालले दिएको १९२ रनको विजयी लक्ष्य पछ्याएको युएईले ४८ ओभरमा १८५ रनमा अल आउट भयो । दीपेश कँडेलले ४७औँ ओभरमा तीन विकेट लिँदै नेपालको जित सुनिश्चित गर्नुभएको थियो ।

युएईका इथान डी सोल्झाले ६६ बलमा पाँच चौकासहित ५० रन जोड्नुभयो । यस्तै, अर्यान्स शर्मा ५० बलमा चार चौकासहित ३२ रन रन जोड्नुभयो । अर्यान सक्सेना ६५ बलमा पाँच चौकासहित ३४ रनमा आउट हुनुभयो । नेपालका सुवास भण्डारीले १० ओभरमा ३९ रन खर्चेर दुई विकेट लिनुभयो ।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले ४८ ओभर पाँच बलमा अलआउट हुँदै १९१ रन बनाएको थियो । नेपालका कप्तान देव खनालले ८४ बलमा ५१ रनको अर्धशतकीय ईनिङ खेल्नुभयो । उहाँले तीन चौका र एक छक्का प्रहार गर्नुभएको थियो ।

त्यसबाहेक विशाल विक्रम केसीले ५० बलमा ३८ रन बनाउनुभयो । केसीले पाँच चौका प्रहार गर्नुभएको थियो । उत्तम थापा ३६ रन बनाएर आउट हुनुभयो । छ ओभरमा तीन विकेट गुमाइसकेको नेपालका लागि थापा र खनालले चौथो विकेटका लागि ८४ रनको साझेदारी गर्दै नेपालका लागि विजयी स्कोर खडा गर्नुभएको थियो ।

त्यसबाहेक दिपेश कँडेलले १५ तथा हेमन्त धामीले १३ रन बनाउनुभयो । युएईका लागि धुव्र पराशरले तीन तथा हरिस शेठ्ठी र आयान खानले समान दुई-दुई विकेट लिनुभयो । हर्शित शेठ र अम्मर बदामीले समान एक-एक विकेट लिनुभएको थियो ।

योसँगै नेपाल २०१९ मा भोगेको एक रनको हारको बदला पनि लिएको छ । त्यसबेला वर्षाका कारण खेल रोकिएपनि युएईसँग नेपाल डकवर्थ लेविस पद्धतिको आधारमा एक रनले पराजित हुँदा विश्वकपमा सहभागी बन्न पाएको थिएन ।
यस छनोट खेलमा आयोजक युएईसहित नेपाल, हङकङ, कुवेत, मलेसिया र सिंगापुर सहभागी थिए । नेपालले सबै खेलमा अपराजित रह्यो ।

क्रिकेट टोलीले देशको गौरव बढाएको छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वकपका लागि छनोट भएको नेपालको यू-१९ क्रिकेट टोलीलाई बधाइ दिनुभएको छ । प्रधानमन्त्रीले बधाइ दिनुहुँदै देशको गौरव बढाउन र नेपालको ख्याति विश्वस्तरमा चिनाउन खेलाडीले पुर्‍याएको योगदानको उच्च प्रशंसा गर्नुभएको हो ।

प्रधानमन्त्रीको ट्वीटरमार्फत् सचिवालयले भनेको छ, ‘श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट भएकोमा नेपाली टिमलाई हार्दिक बधाइ ज्ञापन गर्दै देशको गौरव बढाउन एवं नेपालको ख्याति विश्वस्तरमा चिनाउन नेपाली खेलाडीहरूले पु¥याउनुभएको योगदानको उच्च प्रशंसा गर्नुभएको छ ।’

यसैबीच नेपाल क्रिकेट संघ (क्यान) ले यू-१९ टोलीका सदस्यलाई जनही एक लाख रुपियाँ पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । नेपाल सन् २०२४ मा श्रीलंकामा आयोजना हुने आईसीसी यू-१९ विश्वकपमा छनोट भएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?