गठबन्धन सरकार बनेपछि राजनीति भद्रगोल भयो, संसद् पंगु बन्यो : ओली

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद् पंगु भएको टिप्पणी गर्नुभएको छ । बुधबार काठमाडौंमा अखिल नेपाल महिला संघले गरेको कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धन सरकार बनेपछि संसद्, संसद् जस्तो नभएको र अदालत, अदालत जस्तो हुन नसकेको टिप्पणी गर्नुभयो । ‘यो गठबन्धनको एक वर्षको सरकारमा हामीले देख्यौँ, भोग्यौँ हामीले । अर्थतन्त्र ओरालो लाग्यो, राजनीति भद्रगोल भयो । संसद् पंगु भएको छ । संसद्, संसद् जस्तो छैन । सरकार, सरकार जस्तो छैन । अदालत, अदालत जस्तो छैन । अदालतमा मारामार छ । प्रधानन्यायाधीशमाथि ६ महिनाभन्दा बढी हुन लाग्यो महाभियोग लागेको’ उहाँले भन्नुभयो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रस्तावमाथि महाभियोग सिफारिस समितिले अध्ययन नै सुरु गर्न नसकिरहेका बेला एमाले अध्यक्ष ओलीले यस्तो बताउनुभयो । ओलीले संसद्मा जबराविरुद्धको महाभियोगउपर हुने निर्णयमा एमालेको भूमिका के हुन्छ भन्ने पनि खुलाउनुभएन । तर, घुमाउरो शैलीमा महाभियोग किन अगाडि नबढेको ? भनी सत्तारूढ गठबन्धनप्रति प्रश्न उठाउनुभयो ।

ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले श्रीमती र सालाहरू अगाडि सारेर देशमा भ्रष्टाचार गरिरहेको आरोप लगाउनुभयो । देउवाले आफन्तमार्फत देशलाई दुःख दिएको र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले छोरीलाई मेयर बनाउन मरिहत्ते गरेकै कारण केहीले राजनीतिलाई घृणा गरेको जिकिरसमेत गर्नुभयो ।

उहाँले व्यापारीका प्रतिनिधिलाई ल्याएर करको दर हेरफेर गरेपछि राजनीतिमा घृणाभाव जागृत भएको तर्कसमेत गर्नुभयो । अध्यक्ष ओलीले सत्तारूढ दलका नेताहरूले राजनीति नगरेको उल्लेख गर्दै त्यसविरुद्ध लड्न पनि सबैलाई आह्वान गर्नुभयो । राजनीति देशका लागि, जनताका लागि, विश्व शान्ति र मानव जातिको हितका लागि हुनुपर्ने भन्दै उनले त्यसको पक्षमा आफूहरू दृढतापूर्वक उभिरहेको दाबीसमेत गर्नुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘पोलिटिक्सको नाममा छोरीलाई मेयर बनाउन मरिहत्ते, मारामार, काटाकाट । म यो पनि बेचिदिन्छु, त्यो पनि बेचिदिन्छु, जे पनि गरिदिन्छु, छोरीलाई मेयर बनाएर छोड्छु । यस्तो पोलिटिक्स गर्नुभयो भने पोलिटिक्स हुँदैन । त्यो पोलिटिक्स होइन । त्यो स्वार्थ हो । स्वार्थ र राजनीति भनेको फरक कुरा हो । राजनीतिको नाममा त्यो विकृति हो । आफन्त लगाएर अनि भ्रष्टाचार गर्ने अनि यस्तै हो पोलिटिक्स भन्ने, पोलिटिक्स त्यस्तो हुन्छ ? श्रीमती, सालाहरू अगाडि सारेर भ्रष्टाचार गरेर, देशलाई दुःख दिएर त्यस्तै हुन्छ पोलिटिक्स ? अब गलत पोलिटिक्स ग¥यो भने त्यो दृष्टान्त देखेपछि मान्छेले ‘डर्टी पोलिटिक्स’ भन्न थाल्छ ।’

उहाँले अगाडि भन्नुभयोे, ‘व्यापारीका प्रतिनिधि ल्याएर करको दर तोक्यो, सिसिटिभी कर्‍यापकुरूप पारेर तार चुँडाएर आयो । अनि, केही पनि भेटिएन भन्यो । यस्तो ढाँट पनि हुन्छ राजनीति ? अब यही देखेपछि अनि कतिपयले भन्छन्- आई हेट पोलिटिक्स । यो पोलिटिक्स होइन । यसका विरुद्धमा तपाईं हामी उठ्नुपर्छ । तपाईं हामीले यसका विरुद्धमा लड्नुपर्छ । पोलिटिक्स झगडाका लागि हो र ? पोलिटिक्स झगडाका लागि होइन । पोलिटिक्स विश्व शान्तिका लागि । पोलिटिक्स राष्ट्रिय शान्तिका लागि । पोलिटिक्स बिगार्नका लागि होइन । त्यसकारण कस्तो पोलिटिक्स भन्ने कुरा हावादारी पोलिटिक्स होइन ।’ अध्यक्ष ओलीले राजनीतिमा एकथोपा पनि पसिना नबगाएकाहरूले यसलाई मनोञ्जन गर्ने माध्यमको रूपमा लिएको टिप्पणीसमेत गर्नुभयो । ओलीले पछिल्लो समयमा राजनीतिमा महिलाले खेलेको भूमिका असाधारण रहेको पनि बताउनुभयो । तर, महिलाहरूले राजनीति नगरे आधा समाज पछाडि पर्ने उहाँको भनाइ थियो । ‘महिलाले राजनीति नगरे आधा समाजले राजनीति गर्दैन । आधा समाजले राजनीति नगरे आधा समाज पछाडि पर्छ । महिलाले जस्तो भूमिका खेलेका छन् त्यो असाधारण छ । उच्च प्रशंसा गर्न चाहन्छु ।’ राणा शासनमा नै महिलाहरूले समाजमा जागरण ल्याउने भूमिका खेलेको स्मरण गर्दै उहाँले महिलाहरूको भूमिकाप्रति प्रशंसा गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?