सेनेटरी प्याड उद्योग बन्द हुन थालेको गुनासो

Read Time = 2 mins

काठमाडौं । सेनेटरी प्याडमा लगाइएको भन्सार दरका कारण उद्योग बन्द हुन थालेको बताइएको छ । नेपाल सेनेटरी प्याड उत्पादक सङ्घको प्रथम अधिवेशनमा सम्बद्ध उद्योगीहरूले यस्तो बताएका हुन् ।

सरकारले सेनेटरी प्याडको आयातमा ९० प्रतिशत भन्सार छुट दिँदै कच्चा पदार्थ आयातमा भने उच्च भन्सार दर निर्धारण गरेका कारण उद्योग बन्द गर्न बाध्य गर्नुपर्ने अवस्था आएको उनीहरूको भनाइ छ ।

सरकारले चालु आर्थिक वर्ष २०७९/०८० को बजेटमार्फत् आयातित सेनेटरी प्याडमा लाग्दै आएको १५ प्रतिशत भन्सार महसुलमा ९० प्रतिशत कटौती गरी १.५ प्रतिशत कायम गरेको छ । तर, कच्चा पदार्थ आयात गरी स्वदेशमै सेनेटरी प्याड उत्पादन गर्ने उद्योगले भने विभिन्न वस्तुमा भन्सार महसुल सरदरमा ७.५ प्रतिशत तिर्नुपर्ने अवस्था रहेकाले उद्योगमा सङ्कट परेको सङ्घका अध्यक्ष विश्व थापाले बताउनुभएको छ । थापाका अनुसार सरकारले आयातित प्याडलाई ९० प्रतिशत छुट दिई कच्चा पदार्थमा चर्को भन्सार दर कायम गरेकाले स्वदेशी उद्योग बन्द हुने अवस्थामा पुगेको हो ।

व्यवसायी मिरा लामिछानेले पनि कच्चा पदार्थ आयात गरी उत्पादन गर्दै आएको व्यवसायीले दिँदै आएको रोजगारी कटौती गरी उद्योग बन्द गर्नुपर्ने अवस्था आएको बताउनुभयो । रिजाल सेनेटरी प्याड उद्योगका अध्यक्ष विनेन्द्र रिजालले स्वदेशी प्याड गुणस्तरीय भए पनि बजारीकरण समस्या रहेकोमा पछिल्लो नीतिले झन् समस्या आएको बताउनुभयो । वरिष्ठ अर्थविद् डा. चन्द्रमणि अधिकारीले चालु आवको बजेटमा सेनेटरी प्याडमा नीतिगत भ्रष्टाचार भएको आरोप लगाउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?