आफ्नै पाठ्यक्रम निर्माणमा पालिका

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 6 mins

-रमेश विश्वकर्मा

गुल्मी । गुल्मीका पालिकाहरू आफ्नै स्थानीय पाठ्यक्रम निर्माणमा जुटेका छन् । दुई नगरपालिका र दश गाउँपालिका गरी बाह्र स्थानीय तह रहेको गुल्मीमा पालिकाहरू आफ्नै पाठ्यक्रम निर्माणमा जुटेका हुन् । जिल्लाका केही स्थानीय तहहरूले पाठ्यक्रम बनाएर पाठ्यपुस्तकसमेत निर्माण गरेको, केही स्थानीय तहहरूले प्रक्रिया सुरु गरेको र केही स्थानीय तहहरूले तयारी थालेको जिल्ला विकास तथा समन्वय इकाई गुल्मीका सूचना अधिकारी अमर केसीले जानकारी दिनुभयो ।

जिल्लाको रेसुङ्गा नगरपालिका, मुसिकोट नगरपालिका, गुल्मी दरबार गाउँपालिका, धुर्कोट गाउँपालिका, कालीगण्डकी गाउँपालिका र सत्यवती गाउँपालिकाले आफ्नै पाठ्यक्रम निर्माण गरेका छन् । जिल्लामा पहिलोपटक धुर्कोट गाउँपालिकाले पाठ्यक्रम निर्माण गरेर कक्षा ५ सम्म पाठ्यपुस्तक लागू गरिसकेको गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले बताउनुभयो ।

त्यस्तै, गुल्मी दरबार गाउँपालिकाले कक्षा ३ सम्म आफ्नै पाठ्यक्रम लागू गरेर कक्षा १ मा पाठ्यपुस्तक लागू गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताउनुभयो । जिल्लाको कालीगण्डकी गाउँपालिकामा पनि पाठ्यक्रम निर्माण गरेर कक्षा १ देखि ४ सम्म, ६ र ७ मा पाठ्यपुस्तक लागू भइसकेको शिक्षा शाखा प्रमुख अग्निधर पराजुलीले जानकारी दिनुभयो । त्यस्तै, रेसुङ्गा नगरपालिका, मुसिकोट नगरपालिका र सत्यवती गाउँपालिकाले आफ्नै पाठ्यक्रम बनाएर पाठ्यपुस्तक लागू गर्ने अन्तिम तयारीमा जुटेका छन् ।

जिल्लाको मालिका गाउँपालिकाले पनि बुधवारमात्रै आधारभूत तहमा आफ्नै पाठ्यक्रम लागू गर्न गोष्ठी गरेको छ । मस्यौदा तयार समितिको प्रस्तुतीकरणसमेत रहेको गोष्ठीमा सुझाव सङ्कलन गरिएको थियो । चालु शैक्षिक सत्रको तयारीमा आगामी शैक्षिक सत्रदेखि आधारभूत तहमा स्थानीय पाठ्यक्रम लागू गर्ने गाउँपालिका अध्यक्ष देवीराम अर्यालले जानकारी दिनुभयो ।

जिल्लाका कुल ६ पालिकाले पाठ्यक्रम निर्माण गरेका छन् भने बाँकी ६ पालिका स्थानीय पाठ्यक्रम बनाउने तयारीमा छन् । मालिका गाउँपालिका, रुरुक्षेत्र गाउँपालिका, छत्रकोट गाउँपालिका, इस्मा गाउँपालिका, मदाने गाउँपालिका र चन्द्रकोट गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माणको अन्तिम तयारीमा रहेको बताएका छन् । पालिकाहरूले निर्माण गरेको आफ्नै स्थानीय पाठ्यक्रममा ग्रामीण कला, संस्कृति, रीतिरिवाज, चालचलन, मेलापर्व, कृषि, पशुपालन, पर्यटन क्षेत्र, प्राविधिक शिक्षा, पालिकाको भूगोल, चिनारी, परम्परागत महत्व झल्काउने वस्तु र समाजमा योगदान गर्ने व्यक्तिलगायत सबै समेटेर पाठ्यपुस्तक निर्माण गर्ने गरी पाठ्यक्रम निर्माण गरिएको छ ।

स्थानीय तहको पहिलो कार्यकालमा जिल्लामा पहिलोपटक स्थानीय पाठ्यक्रम लागू गर्ने धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले लुम्बिनी प्रदेशमा पहिलो शिक्षा ऐन आफूहरूले बनाएको, स्थानीय शिक्षकलाई नै जिम्मा दिएको, व्यावहारिक शिक्षालाई जोड दिएको र स्थानीय पाठ्यक्रमको प्रभाव निकै रहेको बताउनुभएको छ । ‘पाठ्यपुस्तक लेख्ने कुरामा सबै समेट्न आवश्यक रहेकाले धेरै मिहिनेत गरेर सबै जुट्नु आवश्यक छ,’ उहाँले भन्नुभयो, ‘स्थानीय वस्तुचित्र स्पष्टसँग बुझिने गरेर पाठ्यपुस्तक निर्माण हुनुपर्छ ।’ सिङ्गोे समाज र सबै बालबालिकालाई नैतिकवान् बनाउन स्थानीय पाठ्यपुस्तकको निकै आवश्यकता रहेको अध्यक्ष पोखरेलले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?