प्रदेशका लोभी सांसद : ४६ जनाले लिए औषधि उपचारका नाममा रकम

Read Time = 9 mins

-रामचन्द्र रायमाझी
पाल्पा । नेकपा एमालेका लुम्बिनी प्रदेश सांसद डा.पुरनमान बज्राचार्य स्वयं चिकित्सक हुनुहुन्छ । उहाँको पाल्पामा दुई ठूला–ठूला घर छन् । पाल्पा बाहिर पनि ठाउँ ठाउँमा प्रसस्त जग्गा जमिन छन् । त्यत्ति मात्र होइन उहाँले प्राविधिक धारका शैक्षिक संस्थाहरु समेत सञ्चालन गर्नु भएको छ । बज्राचार्यको आफ्नै नीजि गाडी समेत छ । तर उहाँले प्रदेश सरकारबाट औषधि उपचार खर्चबापत दुई लाख २० हजार १ सय ७६ रुपैयाँ भुक्तानी लिनु भएको छ ।

प्रदेशसभा सचिवालयको तथ्यांक अनुसार उहाँले गत आर्थिक वर्ष २०७७/०७८ मा उक्त रकम लिनुभएको हो । प्रदेश सभामा नेपाली काँग्रेसका संसदीय दलका नेता वीरेन्द्र कनौडिया चिनी उद्योगका मालिक हुनुहुन्छ तर उहाँले पनि आर्थिक वर्ष २०७७/७८ मा २ लाख ४९ हजार १ सय ५७ र २०७८/७९ मा २ लाख २७ हजार ८ सय ५१ गरी दुई वर्षमा ४ लाख ७७ हजार ८ रुपैयाँ उपचार खर्च लिनुभएको छ । पाल्पाकी जनता समाजवादीकी सांसद पुर्मती ढेंगाले पनि औषधि खर्च वापत ३७ हजार ९ सय ३१ रुपैयाँ भुक्तानी लिनुभएको छ । मन्त्री समेत रहनुभएकी ढेंगाले आर्थिक वर्ष २०७६/०७७ मा १३ हजार २ सय ८५ र आर्थिक वर्ष २०७७÷०७८ मा २४ हजार ६ सय ४६ रकम बुझ्नुभएको छ ।

उहाँहरु सहितका ४६ जना प्रदेश सांसदहरुले औषधि उपचारका नाममा लिएको रकमको विषयमा अहिले व्यापक चर्चा परिचर्चा भएको छ । आर्थिक रुपमा बलिया भए पनि सामन्य उपचारमा राज्यकोषको झण्डै आधा करोड रकम खर्च भएपछि अहिले चर्चाले व्यापकता पाएको हो । पछिल्लो तीन वर्षको अवधिमा प्रदेशसभा सचिवालय मार्फत् ४६ जना सांसदहरूले ५२ लाख ९५ हजार ८ सय ८० रुपैयाँ औषधि उपचार भन्दै भुक्तानी लिएका छन् । आर्थिक वर्ष २०७६/७७ मा २८ जना सांसदले १४ लाख ४९ हजार ५ सय ३० रुपैयाँ लिएको उपचार खर्च त्यसयताका वर्षहरूमा निरन्तर बढिरहेको छ ।

पाल्पाका दुई सांसद डा.पुरनमान बज्राचार्य र पुर्मती ढेंगाले औषधि उपचारबापत रकम लिए पनि पाल्पाकै सांसद तथा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वीरबहादुर रानाले भने उपचारका लागि कुनै रकम लिनुभएको छैन् । जबकी उहाँ गत दुई वर्ष अघि काठमाडौंबाट बुटवलतर्फ आउँदै गर्दा सडक दुर्घटनामा परी घाइते हुँदा समेत कुनै पनि राज्यकोषको प्रयोग भने गर्नुभएनन् ।

जसपाबाट पूर्वमन्त्री समेत रहनुभएकी कल्पना पाण्डेयले २ लाख ७५ हजार २ सय ७ रुपैयाँ भुक्तानी लिनुभएको छ । प्रदेश मन्त्री डिल्लीबहादुर चौधरीले २ लाख ३७ हजार २ सय ७०, सांसद निर्मला क्षेत्रीले २ लाख ७३ हजार ८ सय ९७, माला गोतामेले २ लाख १४ हजार ६ सय ८७ र मोहम्मद याकुब अन्सारीले २ लाख १६ हजार ९ सय ५९ रुपैयाँ भुक्तानी लिएका छन् । डा. कृष्ण न्यौपानेले २ लाख ४८ हजार १ सय ५ र सरस्वती गौतमले २ लाख २० हजार २ सय ३१ रुपैयाँ भुक्तानी लिएका छन् । सांसद ढेंगा बाहेक माथि उल्लेख गरिएका सांसदहरुले दुई लाख भन्दा बढी उपचार खर्च वापतको रकम लिनेमा पर्दछन् ।

त्यसैगरी, १ लाखभन्दा माथि रकम लिनेहरूमा सभामुख पूर्णबहादुर घर्तीले १ लाख ४० हजार ३ सय ५१ र उपसभामुख कृष्णी थारुले १ लाख ६ हजार ९२ रुपैयाँ खर्च बुझेका छन् । यस्तै, नेपाली कांग्रेसका अष्टभुजा पाठकले १ लाख ६९ हजार ४ सय ६, रुन्धावती शर्माले १ लाख १७ हजार ३ सय २८, शान्तिदेवी स्वर्णकारले १ लाख २१ हजार ४ सय १० र कांग्रेसकै भुवनेश्वर चौधरीले १ लाख १३ हजार ४ सय ७५ रुपैयाँ भुक्तानी लिएका छन् ।

त्यस्तै, माओवादी केन्द्रकी आशा स्वर्णकारले १ लाख ८ हजार ९ सय ५२, दीपा विकले १ लाख २२ हजार ८ सय ६६ रुपैयाँ औषधि खर्च लिएका छन् भने एमालेका चेतनारायण आचार्यले १ लाख ३१ हजार ८५ र विमला शर्मा पन्थीले १ लाख १४ हजार ६९ रुपैयाँ भुक्तानी लिएका छन् । पूर्वमन्त्री समेत रहेका जसपाका विजयबहादुर यादवले पनि राज्यको कोषबाट १ लाख ९० हजार १ सय ५७ रुपैयाँ औषधि उपचार खर्च लिनुभएको छ । सरकारी कोषबाट उपचार खर्च भन्दै रकम भुक्तानी लिने अन्य प्रदेश सांसदहरूमा एमालेका विष्णु पन्थी ९२ हजार ६ सय २४, भोजप्रसाद श्रेष्ठ ८६ हजार ८ सय ५, दधिराम न्यौपाने ६६ हजार ७७, रामजीप्रसाद घिमिरे ६० हजार ९ सय ५४, कमलराज श्रेष्ठ ५० हजार २ सय ३२, चिन्तावती कुर्मी ४८ हजार ५ सय ३१, धमकली चौधरी ४४ हजार २५, कुलप्रसाद पोखरेल ३९ हजार ७ सय १०, ६७, थानकुमारी थापा ३१ हजार ४ सय ८३, खड्ग बहादुर खत्री ३० हजार ६ सय ८५ र दिनेश पन्थीले १६ हजार ६ सय ८ रुपैयाँ भुक्तानी लिएका छन् ।

त्यस्तै, माओवादीकी कृष्णा केसीले ७४ हजार ६७, तेज बहादुर वलीले ४८ हजार ९ सय ८८, गीता थापाले २५ हजार ५ सय ४९, दीपेन्द्र कुमार पुन मगरले १४ हजार ९ सय ४४, लौटी थारुले १३ हजार ५ सय ५३, पार्वती पुन गहतराजले १२ हजार ५ सय ६५ र दीपेश थारुले १० हजार ३३ रुपैयाँ लिएका छन् । नेपाली कांग्रेसकी रमा अर्यालले ३७ हजार ४ सय ७९, शंकर गिरीले ३५ हजार ५८, हाल मन्त्री समेत रहेका बसिउद्धिन खानले २५ हजार ६ सय ७९, रिना नेपालले १८ हजार २ सय ७१, पुष्पा थरुनीले १६ हजार ७ सय ७ र वैजनाथ कलवारले १४ हजार ४ सय ५३ रुपैयाँ सरकारी कोषबाट औषधि उपचार खर्च लिएका छन् ।

सरकारले निःशुल्क गर्ने भनेका औषधि समेत गरिब वर्गका बिरामीले पाउन सकेका छैनन् । तर लुम्बिनी प्रदेशका यि सांसदहरूले भने हरेक वर्ष लाखौं रुपैयाँ औषधि उपचारको नाममा भुक्तानी लिँदै आएका छन् । औषधि बापतको खर्च लिन पाइने भएपछि सांसदहरुले उक्त रकमको लोभ गरेका हुन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?