सप्तरंगी साहित्य समाजको गजल महफिल कपिलवस्तुमा

हिमालय टाइम्स
Read Time = 3 mins

कपिलवस्तु । सप्तरंगी साहित्य समाज नेपाल लुम्बिनी प्रदेश शाखाले दोस्रो लुम्बिनी गजल महफिल एक कार्यक्रमबीच कपिलवस्तुमा सम्पन्न गरेको छ । ‘साहित्यको सम्मान कलाको पहिचान, सप्तरंगी अभियान’ भन्ने मूल नारालाई आत्मसात गर्दै अगाडि बढेको सप्तरंगी साहित्य समाज लुम्बिनी प्रदेशले आयोजना गरेको कार्यक्रम कपिलवस्तुको वाणगंगा नगरपालिकाको पिस हिमालयन रिसोर्टमा सम्पन्न गरेको हो ।

वरिष्ठ गजलकार बुँद रानाले बहरमा गजल गुनगुनाएर कार्यक्रमलाई भव्य बनाउनुभएको थियो । साहित्यकार रामप्रसाद ज्ञवालीले गजल विधालाई अब बहरमा लेख्न प्रयास गर्नुपर्नेमा जोड दिनुभयो । साहित्य तोडिएका मन जोड्ने विधा भएकाले स्रष्टाहरूलाई मन छुने तरिकाले गजल रचना गर्न सुझाव दिनुभयो । साहित्यकार पशुपतिमणि त्रिपाठीले गजलको माध्यमद्वारा प्रस्तुत गरेका भावले समाज, देशलाई नै परिवर्तन गर्नसक्ने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रमका आकर्षक दाङका गजलकार वसन्त वली (वसन्ती) ले जन्मदिने आमाको महिमा, देशको उन्नतिमा लागेका नेता र माया प्रेमका गजलहरू वाचन गर्नुभएको थियो । यस्तै कार्यक्रमका अर्का आकर्षक दोलखाकी गजलकार सुशीला श्रेष्ठले जीवनका भोगाइलाई आफैँ भोग्नुपर्ने र नारीका पीडालाई प्रस्तुत गर्नुभएको थियो । यस्तै कपिलवस्तुका गजलकार प्रकाश पाठकले गजलबाट छाउपडी प्रथा र नारीलाई हुने पीडा अरूले बुझ्न नसक्ने र भगवान नभएको कुरालाई प्रस्तुत गर्नुभएको थियो ।

प्युठानकी गजलकार लालिमाया थापाले गजलमार्फत देशको पीडा र नेपाली युवाले विदेशमा भोग्नुपरेको पीडालाई प्रस्तुत गर्नुभएको थियो । नवलपरासीका गजलकार तिलक भट्टराई (अञ्जान) ले प्रेमिल तथा शृंगारिक गजल वाचन गरेर कार्यक्रमलाई भव्य बनाउनुभएको थियो । कार्यक्रममा उपस्थित दुई दर्जनभन्दा बढी स्रष्टाहरूले गजलहरू वाचन गर्नु भएको थियो ।

नेपाली साहित्यलाई जगेर्ना गर्दै गजल साहित्यमा प्रेरित गर्न र गजल साहित्यमा अग्रसर हुँदै अगाडि बढेका गजलकारहरूका विशेष गजल वाचन गरी कार्यक्रम सप्पन्न भएको थियो । विजय खड्काको अध्यक्षता रहेको कार्यक्रम कृष्ण बुढाको स्वागत मन्तव्य र कोपिला गिरीको सञ्चालनमा सम्पन्न भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?