म्याग्दीमा वर्षेनी २५ लाख टन मलिलो माटोको नास

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 4 mins

म्याग्दी । म्याग्दीमा बर्षेनी २५ लाख १५ हजार ७६० दशमलव २० टन माटो भूक्षयको रुपमा बगेर जानेको गरेको छ ।

भू-तथा जलाधार ब्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार भू-क्षय,नदी कटान र बाढी पहिरोका कारण वर्षेनी म्याग्दीका ६ वटै स्थानीय तहहरुबाट २५ लाख १५ हजार सात सय टन भन्दा बढी माटो बगेर जाने गरेको भू-संरक्षण अधिकृत शम्भुकुमार मिश्रले जानकारी दिनुभयो ।

उहाँले विगत पाँचवर्षदेखि यस वर्षको असार दोस्रो सातासम्म जिल्लामा बाढी पहिराले दुई हजार पाँच सय १० घर प्रभावित रहेको उल्लेख गर्नुभयो । उहाँले बाढी पहिरो र कटान जोखिम नियन्त्रणको लागि बार्षिक एकसय ४० वटा निवेदन आउने भएपनि कार्यालयबाट १२ वटा निवेदनलाई बजेटले सम्वोधन गर्न सकिएको उल्लेख गर्दै यसतर्फ जनप्रतिनिधिले ध्यान दिन आग्रह गर्नुभयो ।

विकासका भौतिक पूर्वाधारहरु निर्माण गर्दा वातावरणीय पक्षलाई वेवास्ता गरिएको कारण म्याग्दीमा वर्षेनी बाढी र पहिरोको जोखिम बढ्दै गएको उहाँको भनाइ छ ।

बरिष्ठ जलाधार ब्यवस्थापन अधिकृत दिवाकर पौडेलले वातावरणीय प्रभाव मूल्यांकन नगरी जथाभावी सडकलगायतको पूर्वाधारले मानवबस्तीसंगै उर्भरभूमिको कटान, पहिरो र भू-क्षयको जोखिम बढ्दै गएको बताउनुभयो । उहाँले म्याग्दीमा संरक्षणमुखी विकास पूर्वाधारहरु निर्माणमा ध्यान नदिदाँ दिन प्रति दिन पहिरो, कटान र भू-क्षयको समस्या बढ्दै गएको जानकारी दिनुभयो ।

भिरालो भू-बनोट रहेको म्याग्दीमा विनाशमुखी सडक र मानवीय क्रियाकलापको कारण भूमिगत जलप्रवाहले खेतीयोग्य जमिन र मानव बस्तीको संरचनामा क्षति बढ्दै गएको उल्लेख गर्नुभयो । उहाँले पछिल्लो तीन बर्षमा म्याग्दी, पर्वत र बागलङमा बाढी पहिरोले एक सय २० जनाको ज्यान गएको समेत जानकारी दिनुभयो ।

उहाँले सडक निर्माणको क्रममा निस्किएको कच्चा पदार्थ नदी र खोलामा फाल्ने, भल ब्यवस्थापन लागि नाली निर्माण नगर्नाले दिनप्रतिदिन मानविय क्षतिसंगसंगै खेतीयोग्य जमिनको उत्पादकत्व घट्दै गएको बताउनुभयो । “तीन तहको सरकारले जलाधार संरक्षणमैत्री पूर्वाधार निर्माणमा जोड दिएमा दिगो विकासका पूर्वाधार निर्माण गर्न सजिलो हुन्छ ।’’ उहाँले भन्नुभयो । “प्रकृतिमा रहेका जमिन, जल, जंगल, जनावर र जनतालाई असर नपर्ने गरी विकास पूर्वाधार निर्माण गर्न जनप्रतिनिधिले ध्यान दिनुपर्छ ।

जिल्ला समन्वय समितिका म्याग्दीका प्रमुख राजकुमार थापाले संघ र प्रदेशले जनताको आवश्यकता अनुसार योजनाहरु छनोट गरेर बजेट विनियोजन गर्न आग्रह गर्नुभयो । रघुगंगा गाउँपालिकाभित्र एक सय २८ पहिरोमध्ये २८ वटा ठूला पहिरो रहेको गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिनुभयो ।

कालीगण्डकी, म्याग्दी र रघुगंगा नदी रहेको म्याग्दीमा गाउँ-गाउँमा पुग्ने सडक स्तरोन्नती क्रममा जथाभावि फालिएको माटो र ढुंगाले भू-क्षय र पहिरो जोखिम समेत आगामी दिनमा बढेको छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?