पैंचो पसल प्रा.लि.को उत्पादन अमेरिकामा

Read Time = 5 mins

काठमाडाैं । पैंचो पसल प्रा.लि.द्वारा उत्पादित नेपाली ब्राण्डका वस्तु संयुक्त राज्य अमेरिकामा निर्यात हुने भएको छ ।

शुक्रवार काठमाडौंमा एक कार्यक्रमबीच पैंचो पसल प्रा.लि. र अमेरिकामा कार्यालय रहेको फेन्सी हाउस इन्कसँग पैंचोले उत्पादन गरेका वस्तु अमेरिका निर्यात गर्ने सम्झौता भएको हो । पैंचो र फेन्सी कम्पनीबीच सम्झौता भएसँगै अब नेपालको ग्रामिण क्षेत्रका कृषिजन्य उत्पादनलाई प्रशोधन गरी उत्पादन हुने पैंचोका सामानहरु अमेरिकी पसलहरुमा बिक्री वितरतणको लागि राखिने भएको छ । पैंचोले उत्पादन गरेका उत्पादनहरुलाई विश्वभर छरिएर रहेका नेपालीहरु माझ पुर्‍याउने उदेश्यले अमेरिका निर्यातको लागि नेपालको अग्नि एक्जिम प्रा.लि.को सहकार्यमा सम्झौता गरेको छ ।

सम्झौता कार्यक्रममा बोल्दै पैंचो पसल प्रा.लि.का बजार व्यवस्थापक लक्ष्मण गैरेले नेपाली उत्पादनको बजार बिस्तार गर्दै अब अमेरिका प्रवेश गरेको बताउनु भयो । उहाँले अमेरिकामा बस्ने नेपालीहरुले पैंचोको उत्पादनहरुलाई मन पराउने अपेक्षा गरेको बताउनु भयो । गैरेले बसे पनि शहर, गाउँकै खाने रहर’ भन्ने मुल मन्त्रका साथ २०७२ सालमा शुरु भएको पैंचो पसल प्रा.लि.का उत्पादनप्रति नेपालभरका उपभोक्ताको विश्वास बढ्दो क्रममा रहेको बताउनु भयो । उहाँले नेपालमा नै बसेर केही गर्न सकिन्छ भनेर स्थापना गरेको पैंचो पसलले अहिले विदेशमा निर्यात गर्ने अवस्थामा पुगेको बताउनु भयो । उहाँले नेपाली बजारमा प्रतिष्पर्धा गर्दै अहिले पैंचोको उत्पादनले विदेशी उत्पादनसँग प्रतिष्पर्धा गरिरहेको बताउनु भयो । गैरेले यसअघि जापान, अस्ट्रेलिया र युरोपका विभिन्न देशमा निर्यात गर्दै आएकोमा अबदेखि अमेरिकामा पनि निर्यात गर्ने बताउनु भयो ।

त्यस्तै फेन्सी हाउस इन्कका प्रतिनिधि राज सराफले अमेरिकाका चार वटा राज्यमा नेपाली उत्पादनहरु बिक्री वितरण गर्ने गरेको बताउनु भयो । उहाँले चार राज्यमा १३५ ब्राण्डमा नेपाली फुड बजारमा बिक्री गर्ने गरेको बताउनु भयो । सराफले अमेरिकामा बसोवास गर्ने नेपालीलाई लक्षित गरी मार्केटिङ गरिरहेको बताउनु भयो । उहाँले नेपालका बाजेको मसला, माटो ब्राण्ड, पैंचो लगायत कम्पनीहरुले विभिन्न सामग्री उत्पादन गरी अमेरिका निर्यात गरिरहेको बताउनु भयो ।

२०७१ सालमा गुल्मीबाट शुरु भएको पैंचो पसलले गुल्मी, पाल्पा, अर्घाखाँची, वागलुङ, प्यूठान, रोल्पा, रुकुम, सल्यान, जुम्ला, कालिकोटलगायतका जिल्लाका किसानले उत्पादन गरेको कृषिजन्य पदार्थलाई मात्र खरिद गर्दै आएको छ । ग्रामिण अर्थतन्त्रलाई सबल बनाउन र केही मात्रामा भएपनि राष्ट्रिय अर्थतन्त्रलाई जीवन्त राख्न पैंचोका उत्पादनले भुमिका खेलिरहेको कम्पनीको दाबी छ ।

यसैगरी विदेशी आयातलाई प्रतिस्थापन गर्न स्वदेशकै ठूला औद्योगिक प्रतिष्ठानहरुलाई पैंचो पसलले औद्योगिक कच्चा पदार्थ उपलब्ध गराइरहेको छ । पैंचोको उत्पादनमा गुल्मी, पाल्पा, अर्घाखाँची, रुपन्देही, बाग्लुङ, पर्वत, स्याङ्जा रुकुम, रोल्पा, कालीकोट, जुम्लासम्मका १० हजार कृषक प्रत्यक्ष अप्रत्यक्ष रुपमा आवद्ध रहेको पैंचो पसल प्रा.लि.ले जनाएको छ । पैंचो पसलले औद्योगिक प्रशोधन गरी विभिन्न स्वादका अचार, विभिन्न प्रकारका जाम, केचप, सस, टोमेटो प्यूरी, भेनगर उत्पादन गरिरहेको छ । यसैगरी परम्परागत खाद्यवस्तु जस्तैः फापरको पीठो, कोदोको पीठो, सिन्की, मस्यौरा तथा जुम्लाको सिमी र पहाडी जिल्लामा उत्पादित मकैको च्याँख्ला, लगायतका खाद्य वस्तु उत्पादन गर्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?