✍️ प्रा.डा. अर्जुनदेव भट्ट
विषय प्रारम्भ
मिर्गाैलाको काम भनेको शरीरमा उत्पन्न भएका विषालु पदार्थ, लवण र पानीलाई छानेर पिसाबका रूपमा मूत्रथैलीमा पठाउनु हो । उपयुक्त वातावरण उपलब्ध भएपछि मूत्रथैलीले सञ्चय गरेको पिसाबलाई निष्कासन गर्ने गर्दछ । सुतेको अवस्थामा जागृत समयको भन्दा कम पिसाब उत्पादन हुने भएकाले पिसाब फेर्नुपर्ने बाध्यता कम हुन्छ । तर, यो नियम स्वस्थ शरीरका लागि मात्र हो ।
व्याधिग्रस्त शरीरले रातमा सुतेका बेलामा पनि पिसाब फेर्नुपर्ने हुन्छ । पिसाब फेर्न उठिरहनुपर्ने भए त्यसले निद्रालाई प्रत्यक्ष असर पार्ने गर्दछ । फलस्वरूप बिरामी चिन्ता र कमजोरीले ग्रस्त भई आफ्नो जीवनको गुणस्तर खस्केको अनुभव गर्न पुग्दछन् । सुतेका बेला उठेर पिसाब फेर्नुपर्ने स्थिति आएमा त्यसको कारण थाहा पाउन र त्यसबाट मुक्त हुनका लागि चिकित्सकसँग समयमै सल्लाह लिनुपर्दछ ।
सुतेका बेला उठेर पिसाब फेर्नुपर्ने विषयलाई महत्व दिएर लेख्नुपर्ने कारण के पनि छ भने यो समस्या सर्वत्र भएर पनि बिरामी र चिकित्सक दुवैतर्फबाट उपेक्षित भएको पाइन्छ । राती उठेर पिसाब फेर्नुपर्ने समस्याले बिरामीमा अस्वस्थतामात्र बढाउँदैन कि मरणशीलतासमेत बढाउन सक्ने भएकाले यो विषय विशेष महत्वपूर्ण र मननयोग्य छ । बिरामी, स्वास्थ्यकर्मी र चिकित्सकहरूलाई जागरुक गराएर यो समस्याको उल्लेखनीय समाधान गर्न सकिन्छ ।
परिभाषा
सुतेको समय राती होस् वा दिउँसो, उठेर शौचालय वा मूत्रत्याग स्थानमा गएर पिसाब गरी पुनः सुत्न जाने कार्य छ भने त्यस्तो मूत्रत्यागलाई ‘रात्रिकालीन मूत्रत्याग’ भनिन्छ । यद्यपि पूरै सुताइपछि उठेर गरेको मूत्रत्याग यो परिभाषाभित्र पर्दैन तर त्यो पिसाबलाई भने रात्रिपिसाब मानिन्छ ।
२४ घण्टामा हुने पिसाबको मात्रा २० प्रतिशत जवान मान्छेमा र ३३ प्रतिशत पाका मान्छेमा रातीको समयमा उत्पादन हुने गर्दछ । सुतेको समयमा मिर्गाैलाले १० मिलिलिटर प्रतिकिलोग्राम शरीरको तौलभन्दा बढी पिसाब उत्पादन गरे त्यसलाई रात्रिपिसाबको धेरै उत्पादन मान्ने गरिन्छ ।
२४ घण्टाको सामान्य पिसाब उत्पादन ४० मिलिलिटर प्रतिकिलोग्राम शरीरको तौलअनुरूप हुन्छ । सुतेको अवस्थामा मूत्रथैलीले बिउँझेको समयभन्दा केही बढी नै पिसाब सञ्चय गर्दछ तर पनि मूत्रथैलीको अधिकतम परिणामभन्दा बढी पिसाबथैलीमा सञ्चय भएपछि सुतेको व्यक्तिलाई उठेर मूत्रत्याग गर्नुपर्ने हुन्छ ।
रात्रि मूत्रत्यागको व्यापकता र त्यसको असर
अमेरिकामा भएको अध्ययनअनुसार झण्डै ३० प्रतिशत व्यक्तिहरू रात्रि मूत्रत्यागबाट पीडित भएका थिए । त्यसमा स्त्री-पुरुष छुट्याउँदा स्त्रीको प्रतिशत अझै केही बढी भेट्याइएको थियो । तर, हाम्रो देशमा रात्रि मूत्रत्यागको व्यापकताबारे कुनै ठोस अनुसन्धान भएको पाइँदैन ।
उमेर बढ्दै जाँदा रात्रि मूत्रत्यागको प्रतिशत पनि वृद्धि हुने गर्दछ र ४० भन्दा बढी पुग्छ । रात्रि मूत्रत्यागको सबैभन्दा ठूलो असर निद्रामा पर्दछ । निद्राको कमीले गर्दा शरीर कमजोर हुने, चिन्ता थपिने र उदासीनतालाई निम्त्याउने हुन्छ । सामान्यतया रातमा एकपल्ट पिसाब फेर्नुपर्ने मानिसहरू धेरैजसो चिन्तित भई आफ्नो अवस्थाबारे वास्ता गर्न थाल्दछन् र व्यग्रतापूर्ण उपचारको खोजीमा लाग्दछन् ।
रात्रिपिसाबको पटकले सबै बिरामीलाई एकनासको असर पारेको भने पाइँदैन । यसमा व्यक्तिगत विविधताको अन्तर ज्यादै ठूलो हुनसक्छ ।
रात्रिकालीन मूत्रत्यागको व्याधि निदान
रात्रिकालीन मूत्रत्यागमा असर पार्ने थुप्रै कारण हुन्छन्– दैनिक खानपिनमा अपनाएको व्यवहार, प्रयोग गरिएका औषधि, देखापरेका रोगहरू जस्तैः मधुमेह, उच्च रक्तचाप, फोक्सो तथा कलेजोको रोग, शरीरको सुजन, प्रोस्टेट ग्रन्थीको अवस्था, मूत्रथैलीको सञ्चय गर्न सक्ने क्षमता, मूत्रसङ्क्रमण, चिन्ता र उदासीनताजस्ता मानसिक रोग, सुतेका बेला क्षणिक श्वास रोकावट, हर्मोनको कमीकमजोरी तथा निद्रामा देखिएका गडबढी आदि यी सबैको भूमिका हुन्छ ।
जुनसुकै कारणबाट मूत्रथैलीको अधिकतम परिणामभन्दा बढी हुने गरेर पिसाब उत्पादन भएर थैलीमा प्रवाह भएपछि बिरामीले मूत्रनिष्कासन गर्न उठ्नैपर्ने हुन्छ । मूत्रथैलीमा जम्मा भएको अधिकतम परिणाममात्र नभएर सुतेको समयमा पिसाब फेर्न उठ्नुपर्ने अर्को कारण मूत्रथैली खुम्चिएर अधिकतम परिणाममा कमी आउनु पनि हुनसक्छ । त्यस्तो अवस्था मूत्रसङ्क्रमण, प्रोस्टेट ग्रन्थीको वृद्धि वा खुम्चेको अवस्था वा प्रोस्टेट क्यान्सरसँग संलग्न हुन सक्दछ । मूत्रथैलीको अर्बुद रोगले पनि थैलीको अधिकतम परिणाम घट्न सक्दछ ।
अति सक्रिय मूत्रथैली हुनेहरू पनि सानो मूत्रथैलीका कारण बारम्बार रात्रि समयमा उठ्न बाध्य हुन्छन् । पिसाबको थैलीले पूरा पिसाब ननिखारेर धेरै पिसाब बाँकी राख्दा पनि रातमा उठिराख्नुपर्ने हुन्छ । कहिलेकाहीँ निद्राको गडबडीले पनि रात्रि मूत्रत्यागलाई प्रोत्साहन गर्ने हुन सक्दछ । त्यतिमात्र नभएर सुत्ने उचित वातावरण नमिल्दा, चिन्ता, उत्तेजक वस्तुको प्रयोग र मेलानोटोनिनको कमीले गर्दा रात र दिनको चक्रको फरक राख्न नसक्ने वृद्ध व्यक्तिहरूको अवस्थाबाट पनि राती बारम्बार पिसाब फेर्नुपर्ने हुन्छ ।
रात्रि मूत्रत्यागको निश्चितीकरण
बिरामीको निद्रा कस्तो छ ? राती सुतेपछि पिसाबको मात्रा कति हुन्छ ? मूत्रथैलीको अधिकतम परिणाम कति छ ? बिरामीले तरलपदार्थको मात्रा कति प्रयोग गर्दछ ? कुन–कुन औषधि बिरामीले सेवन गर्ने गरेको छ ? भन्ने कुराको जानकारी लिई २४ घण्टामा बिरामीले पिसाब फेरेको समय, पिसाबको मात्रा, सुत्न गएको र उठेको समय तथा खाएपिएको समय र मात्रा करिब चार दिनसम्म लेखेर राखेमा वैज्ञानिक तरिकाले रात्रि मूत्रत्यागको कारण पत्ता लगाउन सकिन्छ ।
व्यवस्थापन तथा उपचार
रात्रि मूत्रत्यागको समस्यालाई समाधान गर्न बिरामीलाई नै व्याधि व्यवस्थापनमा सक्रिय बनाउनुपर्दछ । उसको जीवनशैलीमा ल्याउनुपर्ने हेरफेरबाट नै यो समस्याको समाधान प्रारम्भ हुन्छ ।
२४ घण्टाको मूत्र, खानपिन, सुत्ने-उठ्ने समय, पिसाबको मात्रा, मूत्रथैलीको अधिकतम परिणाम इत्यादिलाई ध्यानमा राखी डेसमोप्रेसिन, मेलानोटोनिन तथा शान्तिकरजस्ता औषधिको विवेकशील प्रयोग भएमा रात्रि मूत्रत्यागजस्तो गम्भीर समस्याको निकै राम्रो उपचार गर्न सकिन्छ । यदि रात्रिकालीन मूत्रत्याग प्रोस्टेट ग्रन्थीको विकृतिजन्य कारण साबित भए शल्यक्रियाबाट सन्तोषजनक उपलब्धि पाउन सकिन्छ । (वरिष्ठ युरोलोजिस्ट भट्टको बहुउपयोगी पुस्तक ‘मूत्र र जननेन्द्रिय प्रणाली रोग, निदान तथा उपचार’ हालै प्रकाशित भएको छ ।)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच