कार्यदल सहमतिनजिक, आ-आफ्नो दाबी छोड्न दलहरू तयार, आइतबारसम्म निष्कर्षमा पुग्ने नेताहरूको भनाइ

डिबी शर्मा
Read Time = 5 mins

काठमाडौं । सत्तारूढ दलहरू सिट बाँडफाँटका विषयमा सहमतिनजिक पुगेका छन् । आसन्न प्रतिनिधि र प्रदेशसभा चुनावका लागि सिट बाँडफाँट गर्न गठित कार्यदल सहमतिनजिक पुगेको नेताहरूले बताएका छन् । शुक्रबार बसेको कार्यदल बैठकमा गठबन्धनका चार दल प्रतिनिधिसभामा दाबी गरेको सिट घटाउन सहमत देखिएका हुन् । कार्यदलको बैठकमा आफ्नो दाबी छोड्न नेताहरू तयार भएको बैठकमा सहभागी एक नेताले जानकारी दिनुभयो । दाबी घटाउन दलहरू तयार भए पनि कुनै सहमति भने बनिनसकेको ती नेताको भनाइ छ । ‘शुक्रबारको बैठकमा सकारात्मक छलफल भयो । यसअघि दाबी गरेको सिट संख्या घटाउन दलहरू तयार भएका छन्,’ उहाँले भन्नुभयो, ‘दाबी नघटाउनुको विकल्प पनि छैन । कुल सिटभन्दा झण्डै बढी दलहरूको दाबी छ । दाबी घटाउन तयार भए पनि कुनै सहमति भने भएको छैन । सम्भवतः अर्को बैठकमा हामी निष्कर्षमा पुग्छौँ होला ।’ बिहीबार बसेको कार्यदलको बैठकमा कांग्रेसले सय, माओवादी केन्द्रले ६०, नेकपा एकीकृत समाजवादीले ४०, जनता समाजवादी पार्टी (जसपा)ले ३३ र राष्ट्रिय जनमोर्चाले दुई सिट दाबी गरेका थिए ।

यस्तै, कांग्रेस नेता तथा सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पनि आफूहरू सहमतिनजिक पुगेको बताउनुभयो । आइतबार बस्ने बैठक सिट बाँडफाँटका विषयमा निष्कर्षमा पुग्ने उहाँको विश्वास छ । ‘शीर्ष नेताहरूले दिएको जिम्मेवारी पूरा गर्नेमा नजिक पुगेका छौँ,’ उहाँले भन्नुभयो, ‘बढी जितौँ भन्ने सबैको छ । तर, हामी व्यावहारिक हिसाबले प्रतिवेदन तयार गरेर बुझाउँछौँ । आइतबारसम्म निष्कर्षमा पुग्छौँ ।’ शुक्रबार प्रदेशको सिट बाँडफाँटका विषयमा छलफल भएको कार्कीले बताउनुभयो ।

साझा अवधारणा बनाउने तयारी, संघमा एउटा दलले पाए प्रदेशमा अर्को दललाई दिइने

सत्तारूढ गठबन्धनले साझा अवधारणा बनाउने भएको छ । शुक्रबार बसेको चुनावी तालमेलको खाका बनाउन गठित कार्यदल बैठकमा साझा अवधारणा बनाउनेबारे छलफल भएको कांग्रेस नेता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । सबैको साझा अवधारणा बनाएर जाने विषयमा गृहकार्य भइरहेको उहाँको भनाइ छ । ‘यो गठबन्धन चुनाव जित्नलाई मात्र होइन, देशलाई स्थिरता र समृद्धितर्फ लैजान पनि हो,’ कार्कीले भन्नुभयो, ‘त्यसैले हामी साझा अवधारणा बनाएर चुनावमा जानेछौँ ।’ संघको निर्वाचन क्षेत्र एउटा पार्टीले पाएमा प्रदेश अर्कोलाई छाड्ने खालको मोडालिटीमा समझदारी भएको उहाँले बताउनुभयो ।

सिट बाँडफाँटमा बाहिर चर्चा भएजस्तो धेरै समस्या छैन : प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिट बाँडफाँटबारे सत्ता गठबन्धनमा कुनै समस्या नभएको बताउनुभएको छ । शुक्रबार विराटनगर विमानस्थलमा माओवादी अध्यक्ष प्रचण्डले गठबन्धनमा बाहिर चर्चा भएजस्तो समस्या नभएको बताउनुभयो । भदौ १५ भित्र सबै काम सकिने उहाँको भनाइ छ । ‘बाहिर चर्चा भएजस्तो एकदमै धेरै समस्या त्यस्तो केही छैन,’ उहाँले भन्नुभयो, ‘हामी निरन्तर छलफलमा छौँ । कार्यदलले काम गरिरहेको छ । छिट्टै सहमति हुन्छ ।’ फरक प्रसंगमा नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीबाट स्वीकृत हुने विश्वास प्रचण्डले व्यक्त गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?