काठमाडौं । हिन्दू नारीहरूको महत्वपूर्ण चाड हरितालिका तिजको पहिलो दिन आज दर खाएर मनाइँदै छ । भोलि व्रत भएकाले दिउँसो भरी नाचगान गर्दै नारीहरूले पीडा पोख्दा चर्को घाममा उनीहरूलाई समस्या नहोस् भनेर दर खाने प्रचलन रहेको छ ।
हरितालिका तीजको अघिल्लो दिन दर खाएर भोलिपल्ट व्रत बसी पूजाआजा, नाचगान तथा दिदीबहिनी भेटघाट गर्ने चलन छ । हुनत अहिले चलन फेरियो ।
केहि हप्ता अघिदेखिनै दरको नाममा रमझम चलिरहेको छ । दर खाने र खुवाउने कार्यक्रम भइरहेका छन् ।
दर धेरै खाँदा पनि स्वास्थ्यमा समस्या हुन्छ । कस्तो किसिमको दर खाने भन्ने कुराले स्वास्थ्यमा प्रभाव पारेको हुन्छ । शरीरले धान्नै नसक्ने गरी धेरै खाँदा झाडापखाला, पेट ढुस्स हुने, फूल्ने, ढ्याउ आउने, ग्याँस भरिने जस्ता समस्याहरू देखा पर्दछ । त्यसैले ठिक्क आफ्नो शरीरको पाचन क्षमता हेरेर खानुहोला ।
दरमा के खाने के नखाने ?
-वर्खायाम भएको कारणले पनि बजारका खानेकुरा तथा सागसब्जीमा फोहोर हुनसक्छ । राम्रोसँग पखालिएको र पकाइएको खानेकुरा मात्रै खाने ।
-सकेसम्म बजारबाट भन्दा घरमै बनाइएको ताजा र पोषिलो खाना खानुपर्छ ।
-दरमा माछा मासुजस्ता परिकार खाने चलन पनि छ । तर मरमसला हालेर पकाइएको यस्ता चिज नखानू जाति हुन्छ ।
-तेलमा तारेको खानेकुरा नखान सुझाव छ ।
-नुन धेरै सेवन गर्दा पानी तिर्खा लाग्ने भएकोले निर्जल व्रत बस्नेलाई समस्या हुन्छ ।
-व्रतको बेला नाचगानका धेरै शक्ति खेर फाल्नु पनि अनुपयुक्त हुन्छ ।
-दरको नाममा मादक पदार्थ सेवन गर्नु हुँदैन ।
-पोषणका लागि दरमा दुग्ध खाद्य पदार्थ खानु राम्रो मानिन्छ ।
-फलफूल तथा अन्नबाट बनेका परिकार समावेश गर्दा राम्रो हुन्छ ।
-बिरामीले सकेसम्म व्रत नगर्दा राम्रो गरिहालेको खण्डमा निराहार व्रत गर्नु स्वास्थ्यका दृष्किोणले राम्रो हुन्न ।
पानी नखाई व्रत बस्नाले डिहाइड्रेसन हुनसक्छ
धेरैजसो महिलाहरू तीजमा (पानी नपिई) व्रत बस्ने गर्छन् । स्वास्थ्यका हिसाबले यसरी पानी नखाई व्रत बस्नुलाई उचित मानिँदैन । पानी हाम्रो शरीरका लागि एकदम आवश्यक हुन्छ । पसिना तथा पिसाबको माध्यमबाट शरीरको पानी निष्कासन भइरहने हुँदा पानी शरीरलाई चाहिरहेको हुन्छ । पर्याप्त मात्रामा पानी नखाएमा शरीर डिहाइड्रेट हुन्छ ।
शरीरमा डिहाइड्रेसन भएपछि मानिसको मुड परिवर्तन हुने, छिट्टै रिस उठ्ने, मष्तिष्कमा पानीको कमी भई रिँगटा लाग्ने, बेहोस हुने, थकान अनुभव हुने हुन्छ ।
व्रत बस्दा केही नखाएको कारण थकान भएको अधिकांश मानिसले सोच्ने गर्छन् । तर एक मानिसले २४ घण्टासम्म केही खानेकुरा नखाँदा खासै थकित अनुभव हुँदैन ।
मानव शरीरमा स्टोर भएर बसेको बोसोले एक दिनका लागि ऊर्जाको कमी हुन दिँदैन । तर, कहिले पनि व्रत नबसेको मानिसले अचानक व्रत बस्दा थकित भएमा वा रिँगटा लाग्ने हुन्छ भने कारण शरीरमा खाना वा क्यालोरीको कमीभन्दा पनि पानीको कमी भएको बुझ्न्नुपर्छ । व्रत बस्दा सामान्य पानी खान मन नभए यसको साटो सर्वत, फलफूलको जुस, फलफूल पनि सेवन गर्न सकिन्छ ।
व्रत बस्नु स्वास्थ्यका लागि फाइदाजनक
व्रतले शारीरिक रूपमा फाइदा वा बेफाइदा के पुर्याउँछ भन्ने कुरा व्रत कसरी बसेको छ भन्ने कुरामा निर्भर हुन्छ । सामान्यता कुनै पनि किसिमको रोग वा समस्या नभएको एक स्वस्थ मानिसका लागि व्रत बस्नु निकै फाइदाजनक हुन्छ ।
व्रत बस्नु भनेको शरीरलाई केही समय आराम दिए जस्तै हो । व्रत बस्दा शरीरलाई रिकभर हुन पर्याप्त समय पाउने हुँदा स्वस्थ मानिसले समय समयमा व्रत बस्दा शरीरका लागि निकै राम्रो मानिन्छ ।
समय समयमा व्रत बस्नाले रोगप्रतिरोधक क्षमता बढ्ने, पाचन प्रणाली बलियो हुने, खाना सजिलोसँग पचाउन मद्दत गर्ने, पेटमा भएका मृत कोशिकाहरूलाई निष्कासन हुन सहयोग पुग्ने, नयाँ कोशिकाहरू बन्ने लगायतका फाइदा हुनसक्छ ।
व्रत बस्नाले शरीरमा सुगरको मात्रा नियन्त्रण हुने भएकाले यसले मधुमेहको जोखिमबाट पनि बचाउँछ । विभिन्न अध्ययनहरूका अनुसार राम्रोसँग व्रत बस्दा यसले मधुमेह मात्र नभई रक्तचाप, थाइराइडको समस्या पनि निको पारेको छ । साथै, विशेषज्ञको परामर्शमा मोटोपना भएका मानिसहरूले व्रतलाई तौल घटाउने उपायको रूपमा पनि लिन सक्छन् ।
यी मानिसले व्रत बस्दा ध्यान दिनुपर्ने
मधुमेह भएका, लो ब्लड सुगर, प्रेसर, मुटु तथा मिर्गौलाको समस्या भएका तथा कुनै पनि समस्या भई नियमित औषधि सेवन गर्नेहरूका लागि व्रत बस्नु फाइदाजनक नहुने वा कतिपय अवस्थामा घातक पनि हुन सक्छ ।
विशेषगरी बच्चा, वृद्धवृद्धा तथा शारीरिक समस्या भएका मानिसले व्रत बस्नु हुँदैन । व्रत बस्नै परेमा व्रत बस्ने तरिकालाई मोडिफाइ गर्नुपर्ने हुन्छ ।
यस्ता समस्या भएकाले व्रत बस्दा फलफूलको जुस, फलफूल वा लाइट खालको छिटो पच्ने खानेकुराको सेवन गर्न सक्छन् । यस्ता मानिसले व्रत बस्नुअघि चिकित्सकको सल्लाह लिनु नै उचित हुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच