नेपालमा आइसिसी विश्वकपको ट्रफी सार्वजनिक

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । सोमबार नेपाल आइपुगेको आइसिसी विश्वकप ट्रफी बुधबार भक्तपुर दरबार स्क्वायरमा सार्वजनिकीकरण गरिएको छ । भक्तपुर दरबार स्क्वायरमा ट्रफी सार्वजनिकीकरण हुँदा ट्रफी हेर्नका लागि स्थानीय स्कुलका बालबालिकाहरूलाई उपस्थित गराइएको थियो । भक्तपुरका विभिन्न स्थानबाट ठूलो संख्यामा आएका विद्यार्थीले टाढैबाट भए पनि आँखा अगाडि विश्वकप ट्रफी देख्ने अवसर पाएका थिए । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्री लगायतले ट्रफी सार्वजनिक गर्नुभएको थियो । स्थानीय धिमे बाजा र लाखे नाचका साथमा बाँसुरीको मंगल धुन बजाएर ट्रफी भक्तपुर नगर परिक्रमा गराइएको थियो ।

ट्रफीलाई बुधबार नै प्रधानमन्त्री कार्यालय पुर्‍याइएको थियो । प्रधानमन्त्री कार्यालय ट्रफी पुर्‍याएसँगै नेपालको औपचारिक कार्यक्रम समाप्त भएको छ । नेपालपछि ट्रफीलाई सिंगापुर लगिएको छ ।

मंगलबार बिहान सोलुखुम्बु जिल्लाको गोक्यो ताल र कालापत्थर लग्ने कार्यतालिका भए पनि खराब मौसमका कारण बुधबार बिहानसम्म पनि ट्रफीलाई उक्त स्थानमा लान सम्भव नभएपछि उक्त कार्यक्रम रद्द गरिएको थियो ।

मंगलबार गोक्यो पुग्न नसकेको ट्रफीलाई चन्द्रागिरिमा लगेर प्रदर्शन गरिएको थियो भने मंगलबार राति केही चर्चित व्यक्तिहरूमाझ एक होटलमा ट्रफी प्रदर्शनीमा राखिएको थियो ।

आइसिसी विश्वकप ट्रफी नेपालमा दोस्रोपटक आएको हो । यसअघि सन् २०१८ मा एकदिवसीय विश्वकपको ट्रफी नेपाल ल्याइएको थियो । टी-ट्वान्टी विश्वकपको ट्रफी भने पहिलोपटक नेपाल ल्याइएको हो । विश्वकपको १०० दिने ट्रफी भ्रमणअन्तर्गत ट्रफी नेपाल ल्याइएको हो । अष्ट्रेलिया विश्वकपअघि विश्व भ्रमण गरिरहेको ट्रफीको उद्देश्य क्रिकेटप्रति लगाव बढोस् र क्रिकेट क्रेज थप वृद्धिहोस् भन्ने रहेको छ ।

विश्वकपको ट्रफी १३ देशका ३५ स्थानमा पुर्‍याइनेछ । ट्रफीको भ्रमण जुलाई ८ देखि मेलबर्नबाट सुरु भएको थियो । अष्ट्रेलियाको सात शहरमा आयोजना हुने विश्वकप अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म हुनेछ । विश्वकपमा १६ राष्ट्रले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?