गिरीको निधनले विश्व समाजवादी आन्दोलनलाई क्षति : प्रधानमन्त्री

Read Time = 6 mins

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदीप गिरीको निधनले सिङ्गो पार्टी पङ्क्ति र नेपालका लागि मात्र नभई विश्व समाजवादी आन्दोलनलाई अपूरणीय क्षति पुगेको बताउनुभएको छ ।

नेपाली कांग्रेसका नेता एवं समाजवादी चिन्तक प्रदीप गिरीको निधनको १३ औँ दिनको पुण्य तिथिमा आज कांग्रेस केन्द्रीय कार्यसमिति एवं कांग्रेस जिल्ला कार्यसमिति काठमाडौँले संयुक्तरुपमा आयोजना गरेको शोकसभालाई सम्बोधन गर्दै उहाँले गिरीको विचार र उहाँका कृतिलाई अध्ययन र अनुसरण गर्न सकेका खण्डमा समाजवादी आन्दोलनलाई ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री देउवाले भन्नुभयो, “गिरीको निधनले कांग्रेस पार्टी, नेपाललाई मात्रै नभई विश्व समाजवादी आन्दोलनलाई समेत अपूरणीय क्षति पुगेको छ । हामीले गिरीको कृति पढेर त्यसलाई अनुसरण गरेमा समाजवादी आन्दोलनलाई धेरै ठूलो सहयोग पुग्छ ।”
समाजावादी मात्रै नभई दार्शनिक व्यक्तित्व भएको उल्लेख गर्दै उहाँले गिरीले लेखेका कृति र विचारलाई अनुसरण गर्न सकेका खण्डमा उहाँप्रति सच्चा श्रद्धाञ्जली हुने विश्वास व्यक्त गनुभयो । “गिरी विद्धान व्यक्तित्व हुनुहुन्थ्यो, उहाँलाई थाहा नभएको विषय नै हुँदैनथ्यो । बिपी कोइरालापछि गिरी नै हो प्रजातान्त्रिक समाजवादप्रति गहिरो ज्ञान भएको व्यक्ति हो । उहाँको विषयमा जति वर्णन गरे पनि अपुरो हुन्छ”, प्रधानमन्त्री देउवाले भन्नुभयो ।

गिरीले आफूलाई भारतका धेरै समाजवादी चिन्तकसँग परिचित गराएको प्रधानमन्त्री देउवाले स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, “ गिरीको संसद्मा केही कुरा राख्ने चाहना थियो तर त्यो राख्न पाउनुभएन । उहाँ अत्यन्तै भर्साटाइल व्यक्ति हुनुहुन्थ्यो । उहाँमा धेरै विषयको ज्ञान थियो, किताबप्रेमी, किताब पल्टाएपछि पूरै नपढी नछोड्ने बानी थियो ।” प्रधानमन्त्री देउवाले गिरीले लेखेका पुस्तक र विचारलाई पार्टीले देशभर पु¥याएर समाजवादी चेतना अभिवृद्धिमा सहयोग पुग्ने विचार व्यक्त गर्नुभयो । निष्ठावान्, त्यागी नेता, समाजवादी चिन्तक, कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य गिरीको २०७९ भदौ ४ गते निधन भएको थियो ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले गिरीको निधनबाट देशले ठूलो प्रजातान्त्रिक समाजवादका विचारक गुमाएको बताउनुभयो । सत्तालाई कहिल्यै राजनीतिक स्वार्थका रुपमा नलिने गिरी आफू सत्तामा नरहे पनि देशमा सुशासन, नवनिर्माण र उन्नतिमा गहिरो चिन्तन राख्ने व्यक्ति भएको उहाँले उल्लेख गर्नुभयो । महामन्त्री गगनकुमार थापाले गिरीको निधनले पार्टी तथा देशलाई अपूरणीय क्षति पुगेको भन्दै उहाँको दर्शन, विचारलाई जीवन्त राख्न विशेष ध्यान दिनुपर्ने औँल्याउनुभयो । उहाँले भन्नुभयो, “ गिरी चिन्तित हुनुहुन्थ्यो प्रजातन्त्र फगत औपचारिकता मात्र भयो । राजनीतिक दल रुपान्तरणका माध्यम भएनन्, सत्ता प्राप्तिका औजार मात्र भए । राजनीतिक दलका कार्यकर्तामा ज्ञानको भोक, परिवर्तनको भोक हुनुपर्नेमा सत्ताको भोकमात्रै भएकामा प्रदीप गिरीको चिन्ता थियो ।”

कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले गिरीको निधन कांग्रेस पार्टीका लागि मात्र नभई नेपालकै लागि क्षति भएको भन्दै उहाँको अभावलाई खड्किन नदिन गिरीको विचारलाई अनुसरण गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले समाजवादी चिन्तनलाई विचारधारा दिने चर्चित गिरी बिपी कोइरालापछि माक्र्सवादी, प्रजातान्त्रिक समाजवादी विचारधाराको व्याख्या गर्नसक्ने व्यक्ति हुनुहुन्थ्यो भन्नुभयो ।

कांग्रेसका नेता प्रकाशमान सिंहले गिरीको निधनले राष्ट्रिय राजनीतिलाई नै क्षति पुगेको बताउनुभयो । गिरीको विचारलाई आत्मसात गरेर अघि बढेमात्रै उहाँप्रति सच्चा श्रद्धाञ्जली हुने विश्वास नेता सिंहले व्यक्त गर्नुभयो ।

कांग्रेस काठमाडौँका सभापति कृष्ण सबुज बानियाँले गिरीको निधनले पार्टी मात्र नभई देशलाई नै ठूलो क्षति पुगेको भन्दै उहाँको अभावलाई खड्कन नदिन गिरीको विचार र दर्शनलाई अनुसरण गरिनुपर्नेमा जोड दिनुभयो ।

-रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?