श्रीलंका एसिया कपको सुपर चारमा

Read Time = 3 mins

दुबई । श्रीलंकाले यूएईमा जारी एसिया कप २०२२ को सुपर ४ मा प्रवेश गरेको छ । बंगलादेशमाथि दुई विकेटको रोमाञ्चक जित हात पार्दै श्रीलंका टी–२० एसिया कप २०२२ को सुपर फोरमा प्रवेश गरेको हो ।

समूह बीबाट अफगानिस्तान समूह विजेता र श्रीलंका दोस्रो स्थानमा रहँदै सुपर फोरमा स्थान बनाएको हो । जितका लागि १८४ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंकाले १९.२ ओभरमा आठ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो ।

डेब्यु खेल खेलेका असिथा फ्रेनाण्डो तीन बलमा दुई चौकासहित १० रन जोड्नुभयो । श्रीलंकाका ओपनर कुशल मेण्डिसले ३७ बलमा चार चौका र तीन छक्कासहित सर्वाधिक ६० रन जोड्नुभयो । यस्तै कप्तान दासुन शनाका ३३ बलमा तीन चौका र दुई छक्कासहित ४५ रन जोड्नुभयो । बंगलादेशका लागि डेब्यु खेल खेलेका तीव्र गतिका बलर एबादत हसनले चार ओभरमा ५१ रन खर्चेर तीन विकेट लिनुभयो । तस्किन अहमदले चार ओभरमा २४ रन खर्चेर दुई विकेट लिनुभयो ।

त्यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको बंगलादेशले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १८३ रन बनाएको थियो । बंगलादेशका अफिफ हुसैनले २२ बलमा चार चौका र दुई छक्कासहित सर्वाधिक ३९ रन बनाउनुभयो ।

यस्तै ओपनर मेहदी हसन मिराजले २६ बलमा दुई चौका र २ छक्कासहित ३६ रन जोड्नुभयो । कप्तान सकिब अल हसन २४, विकेटकिपर मुश्फिकुर रहिम चार र महमुदुल्लाह रियाद २७ रनमा आउट हुनुभयो । मोसाद्देक हसन नौ बलमा चार चौकासहित २४ रनमा अविजित रहनुभयो । श्रीलंकाका लेगस्पिनर वानिन्दु हसरंगाले चार ओभरमा ४१ रन खर्चेर दुई विकेट लिनुभयो । चामिका करुणारत्नेले चार ओभरमा ३२ रन खर्चेर दुई विकेट लिनुभयो । दिलशान मदुशनका, महेश थिक्सना र असिथा फ्रेनाण्डोले एक एक विकेट लिनुभयो ।

समूह ‘ए’ बाट भारत अपराजित रहँदै सुपर फोरमा पुगेको छ । शुक्रबार हङकङ र पाकिस्तानबीचको विजेता टोली सुपर फोरमा स्थान बनाउनेछ । त्यस्तै समूह बी बाट अफगानिस्तान अपराजित रहँदै यसअघि नै सुपर फोरमा पुगेको थियो । एजेन्सी

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?