बार्सिलोनाका औवामियाङ चेल्सीमा

Read Time = 4 mins

लण्डन । इंग्लिस क्लब चेल्सीले स्पेनिस क्लब बार्सिलोनाबाट फरवार्ड पिएरे एमरिक औवामियाङलाई अनुबन्ध गरेको छ । चेल्सीले गावोनका फरवार्ड औवामियाङलाई दुई वर्षका लागि १० मिलियन पाउण्डमा क्लबमा अनुबन्ध गरेको हो ।

३३ वर्षीय औवामियाङ एक सिजनपछि नै प्रिमियर लिग क्लबमा फर्किनुभएको हो । औवामियाङ गत सिजनको विन्टरमा फ्री ट्रान्सफरमा सन् २०२५ सम्मका लागि बार्सिलोनामा आबद्ध हुनुभएको थियो । औवामियाङले बार्सिलोनाका लागि गत सिजन २३ खेलमा १३ गोल गर्नुभएको थियो । यो सिजन उहाँले एक खेल खेल्नुभएको छ । इटालियन क्लब एसी मिलानबाट व्यवसायिक खेल करिअर सुरु गरेका औवामियाङले २००८ देखि २०१३ सम्म फ्रान्सको विभिन्न क्लबमा खेल्नुभएको छ ।

त्यसपछि २०१३ देखि २०१८ सम्म जर्मन क्लब बोरुसिया डर्टमुण्डबाट खेल्नुभएको थियो । त्यसपछि उहाँ लण्डन क्लब आर्सनल पुग्नुभएको थियो । औवामियाङले आर्सनलमा २०१८ देखि २०२२ सम्म १ सय ६३ खेलमा ९२ गोल गर्नुभएको थियो । यस्तै म्यानचेस्टर सिटीले जर्मन क्लब बोरुसिया डर्टमुण्डबाट फरवार्ड एर्लिङ हालाण्ड र म्यानुएल अकान्जीलाई अनुबन्ध गरेको छ । सिटीले २७ वर्षीय स्विस डिफेण्डरलाई पाँच वर्षका लागि अनुबन्धन गरेको हो । सन् २०१८ मा डर्टमुण्ड पुगेका अकान्जीले त्यहाँ रहेर १५८ खेल खेल्नुभएको छ । स्विटजरल्याण्डको राष्ट्रिय टोलीबाट ४१ खेल खेल्नुभएका उहाँले विश्वकप छनोटमा प्रभावशाली प्रदर्शन गर्नुभएको थियो ।

अकान्जीले सिटीमा अनुबन्ध हुन पाउँदा खुशी व्यक्त गर्नुभयो । ‘म यहाँ आउँदा एकदम खुशी छु र यात्रा सुरु गर्न आतुर छु । सिटी पछिल्लो केही वर्षयता युरोपको उत्कृष्ट टोली रहेको छ,’ उहाँले भन्नुभयो, ‘सिटीको खेल हेर्न पनि राम्रो छ । हरेक वर्ष प्रत्यक ट्रफीका लागि प्रतिस्पर्धा गर्छ । मेरो करिअरको अर्को यात्राको लागि यो राम्रो अवसर हो ।’

अकान्जी यस सिजन सिटीले अनुबन्ध गरेको पाँचौं खेलाडी बन्नुभयो । यसअघि डर्टमुण्डबाट फरवार्ड हालाण्ड पनि सिटी आउनुभएको थियो । हालाण्डले प्रिमियर लिगमा अप्रत्याशित सुरुवात गर्ने क्रममा पाँच खेलमा नौ गोल गरिसक्नुभएको छ ।

सिटी लगातार तेस्रोपटक प्रिमियर लिग उपाधि जित्ने लक्ष्यमा छ । हालसम्म च्याम्पियन्स लिग उपाधि जित्न नसकेको सिटीको मुख्य लक्ष्य युरोपमा राम्रो प्रदर्शन गर्ने छ । सिटी यसअघि सन् २०२०/२१ संस्करणको फाइनलमा चेल्सीसँग पराजित भएको थियो । गत सिजन भने सिटी रियल म्याड्रिडसँग सेमिफाइनलमा रोकिएको थियो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?