बुटवल उपमहानगरपालिकाले सार्वजनिक गर्‍यो सय दिनका उपलब्धि

हिमालय टाइम्स
Read Time = 5 mins

चन्द्रकान्त खनाल/हिटा
बुटवल । बुटवल उपमहानगरपालिकाले एक सय कार्यदिनका उपलब्धि सार्वजनिक गरेको छ । स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिनिधिले पदस्थापन गरेको एक सय दिन पूरा भएको अवसरमा बुटवल उपमहानगरपालिकाले उपलब्धि सार्वजनिक गरेको हो । शुक्रबार एक कार्यक्रमबीच नगर प्रमुख खेलराज पाण्डेयले एक सय दिनका उपलब्धि सार्वजनिक गर्नुभयो ।

एक सय दिनका उपलब्धि सार्वजनिक गर्दै नगर प्रमुख पाण्डेयले बुटवललाई सहमति, सहकार्य, एकता र मेलमिलापको नीतिअनुसार विकासको मार्गमा अघि बढाउने बताउनुभयो । ‘हामी निर्वाचित भएदेखि नै सहमति, सहकार्य, एकता र मेलमिलापको मार्गमा अगाडि बढिरहेका छौँ । बुटवल हामी सबैको र हामी सबै बुटवलको भन्ने भावनासहित बुटवलको सम्मुनत विकास तथा देशकै सबल आर्थिक केन्द्र बनाउन निरन्तर लागिरहनेछौँ’, उहाँले भन्नुभयो, ‘हामी बुटवलमा असल शासन, कुशल प्रशासन, चुस्त सेवाप्रवाह र प्रभावकारी कार्यका लागि निरन्तर समर्पित छौँ । सबै वडाहरूको सन्तुलित विकास गर्दै नगरबासीको साझा चौतारीको रूपमा बुटवल उपमहानगरपालिकालाई स्थापित गर्न हामी प्रयत्नरत छौँ ।’

उहाँले बुटवलका समस्याहरू समाधानका लागि संघ र प्रदेशसँग समेत सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो । बुटवललाई सबल आर्थिक केन्द्रका रूपमा स्थापित गर्नका लागि सबैको साथ जरुरी रहेको बताउनुभयो । कार्यक्रममा प्रमुख पाण्डेयले एक सय दिनको अवधिमा बुटवल १३ र १७ मा अक्सिजनसहितका दुई अस्पताल, कृषि बजार केन्द्र स्थापना, आम्दा अस्पतालमा पिसिएल नर्सिङ अध्ययन, बुटवल टेक्निकल इन्स्टिच्युटमा सिभिल इञ्जिनियरिङतर्फ डिप्लोमा अध्ययन, अटो भिलेजमा अटो इञ्जिनियरिङ कलेज स्थापनाका लागि प्रक्रिया अघि बढेको बताउनुभयो ।

यस्तै, बुटवल बसपार्कमा बहुतले पार्किङ भवन निर्माणको अध्ययन, बुटवल ७ र ८ मा प्रदेशस्तरको हरियाली बसपार्क निर्माणका लागि जग्गा प्राप्तिको सहमति माग गर्ने काम अगाडि बढाइएको बताउनुभयो । नगरप्रमुख पाण्डेयले डेंगु नियन्त्रणका लागि लार्भा नष्ट गर्ने र फगिङ गर्ने, विद्यार्थीहरूका लागि आयमूलक कार्यमा संलग्न गराउन ‘कमाउ र अध्ययन गर’ भन्ने कार्यक्रम नवरत्न माध्यमिक विद्यालय बुटवल–१५ मा सञ्चालन गरिएको, तिनाउ नदी किनारमा बाढीबाट हुनसक्ने जोखिम न्यूनीकरण गर्नका लागि च्यानलाइज गर्ने र तारजाली लगाउने काम गरेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै उपप्रमुख सावित्रादेवी अर्यालले बुटवलको विकासका लागि चरणबद्ध रूपमा योजनाहरू कार्यान्वयनमा जाने बताउनुभयो । उहाँले बुटवललाई सहमति र सहकार्यका आधारमा सबैलाई साथ लिएर अघि बढ्ने बताउनुभयो । कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बुटवललाई समृद्ध र सफल बनाउने योजना सफल पार्नका लागि कर्मचारी संयन्त्र प्रतिबद्ध भएर लाग्ने बताउनुभयो ।

कार्यक्रममा नगरका पूर्व-उपप्रमुख रामेश्वर श्रेष्ठ, शिक्षा तथा जनस्वास्थ्य महाशाखाका प्रमुख मित्रमणि खनाल, नेपाली कांग्रेसका ज्योति भण्डारी, नेकपा एकीकृत समाजवादीका ऋषिराम बस्याल, माओवादी केन्द्रका महेन्द्र भुसाल, राष्ट्रिय जनमोर्चाका ढुण्डीराज शर्मा पौडेल, नेकपाका वीरेन्द्र विक, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजु, बुटवल अटो इञ्जिनियरिङ एसोसिएसनका तुल्सीराम न्यौपाने लगायतले बोल्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?