गर्भवती र सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स सेवा

हिमालय टाइम्स
Read Time = 5 mins

देवेन्द्र खड्का/हिटा
महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले गर्भवती तथा सुत्केरी महिलाहरूलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ । महाकाली प्रादेशिक अस्पतालमा आयोजित एक कार्यक्रमका बीच महाकाली अस्पतालबाट सुत्केरी महिला तथा शिशुलाई निःशुल्क एम्बुलेन्समा घरसम्म पुर्‍याएर नगर क्षेत्रभित्रका गर्भवती तथा सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स सेवा कार्यक्रमको शुभारम्भ गरिएको हो ।

भीमदत्त नगरपालिका-७ र भीमदत्त नगरपालिका-९ का सुत्केरी महिला र शिशुलाई घरसम्म पुर्‍याएर निःशुल्क एम्बुलेन्स सेवा कार्यक्रम शुभारम्भ गरिएको नगर प्रवक्ता महेन्द्र खड्काले बताउनुभयो । ‘एम्बुलेन्स भाडा तिर्न नसकेर घरमै सुत्केरी हुँदा कतिपय आमा र नवजात शिशुको मृत्यु भएको खबर पनि सुनिन्छ,’ उहाँले भन्नुभयो, ‘तर अबको दिनमा भाडा तिर्ने पैसा नभएकै कारण कुनै पनि गर्भवती-सुत्केरी, महिला स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले नगरपालिकाले एम्बुलेन्स सेवा निःशुल्क गरिदिएको छ ।’ कुनै पनि दिदीबहिनीहरूले एम्बुलेन्स, यातायात अभावका कारण ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले यो कार्यक्रमको सुरुवात गरिएको नगर उपप्रमुख नीलम लेखक जोशीले बताउनुभयो । ‘निर्वाचनमा जनतासँग हामीले एम्बुलेन्स अभावका कारण कुनै पनि महिला तथा शिशुले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले गर्भवती महिलाहरूलाई महाकाली प्रादेशिक अस्पतालसम्म ल्याउन लैजान निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउँछौं भनेर प्रतिबद्धता गरेका थियौं,’ नगर उपप्रमुख जोशीले भन्नुभयो, ‘आज त्यो प्रतिबद्धता पूरा भइरहेकोे छ ।’ उहाँले अगाडि भन्नुभयो, ‘यसरी नै हामीले जनतासँग गरेका सबै प्रतिबद्धता पूरा गर्छौं ।’

कार्यक्रममा भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यामनारायण गौलीले उक्त कार्यक्रम निरन्तर सञ्चालन हुने बताउनुभयो । ‘नगरपालिकाको नीति कार्यक्रमअनुरूप नगर क्षेत्रभित्रका गर्भवती महिलाहरूको स्वास्थ्य सेवामा सहज पहुँच पुर्‍याउन र घरमै प्रसूति गराउने कार्यलाई शून्यमा पुर्‍याउन नगरपालिकाभित्रका प्रसूति सेवा केन्द्र वा महाकाली प्रादेशिक अस्पतालसम्म ल्याउनलैजान निःशुल्क एम्बुलेन्स सेवा शुभारम्भ भएको छ,’ उहाँले भन्नुभयो, ‘यो कार्यक्रम निरन्तर सञ्चालन हुन्छ ।’ यस्तै उहाँले उक्त सेवाका बारेमा जनतालाई जानकारी दिन विभिन्न सञ्चारमाध्यमबाट प्रचारप्रसार गर्नुपर्नेमा समेत जोड दिनुभयो ।

यस्तै भीमदत्त नगरपालिका-१८ का वडाध्यक्ष रविन्द्र देवकोटाले उक्त कार्यक्रमलाई थप प्रभावकारी बनाउन सम्बन्धित संघसंस्थाहरूको समेत सहयोग आवश्यक रहेको बताउनुभयो । भीमदत्त नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख नरेन्द्रराज जोशीका अनुसार हाल भीमदत्त नगरपालिकासँग एउटामात्र एम्बुलेन्स भएकाले नगरपालिकाले नेपाल रेडक्रस सोसाइटी, परिवार नियोजन संघ, जिमुवा स्वास्थ्य चौकी र महाकाली प्रादेशिक अस्पतालका एम्बुलेन्स भाडामा लिने गरी सम्झौता भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?