हाम्रो शिक्षा विकासमा हिजो, आज र भोलि

Read Time = 17 mins

✍️ रमेशप्रसाद गौतम

मानव चेतनासँगै शिक्षाले इहलौकिक र पारलौकिक जीवनको सुखानुभूति गराउँदै आएको छ । मानिसको आत्मिक विकासका साथै ठीक बेठीक छुट्याउन सक्ने शक्ति शिक्षाबाटै प्राप्त हुँदै आएको हो । शिक्षाविनाको मानिस पुच्छरविनाको पशु जस्तै हो भने गरिन्छ । यसैले शिक्षाको महत्व यही विशिष्टतम उद्देश्य हासिलका खातिर नै शिक्षाको विकास हुँदै आयो । मानव जीवनको उत्थान र विकासका निम्ति आत्मविश्वास, आत्मबल र आध्यात्मिक शक्तिले सबल तुल्याउँदछ ।

प्राचीन कालदेखि नै शिक्षाको उद्देश्य व्यक्तिको चरित्र निर्र्माण गर्नु र सत्चरित्रमा रहनु ठूलो सामाजिक गुण हो । मानिसमा सहिष्णुता, सौहार्द्र, सत्यनिष्ठा, नैतिकताका आदर्श नभई नहुने तत्व हुन् । प्राचीन शिक्षा व्यवस्थापनले यी नै गुणहरूको विकासमा जोड दिइएको पाइन्छ । जुन यी गुणहरू आज पनि त्यत्तिकै शाश्वत छन् ।

लिच्छविकालीन नेपालको शिक्षा व्यवस्था राम्रो मान्न सकिन्छ । शासकहरू समेत शास्त्र अध्ययन गर्थे । राजा मानदेव पनि धर्मशास्त्रका अध्ययता थिए । अंशुवर्माको विद्वता देशविदेशमा समेत फैलिएको थियो । तत्कालीन दरवारिया कवि चन्द्र बर्माले चन्द्र व्याकरण लेखेका थिए ।

प्राचीन गुणहरूले सानै उमेरदेखि बालबालिकालाई विभिन्न आचरण, नियम र अनुशासनको पालना गर्न लगाई सुव्यवस्थित जीवन यापनमा बल पु¥याएका थिए । अनि ती बालबालिकामा आत्मसंयम, आत्मबल, आत्मचिन्तन, आत्मविश्लेषण, विवेकी आदि भावना उत्पन्न हुन्थ्यो । आत्मविश्वासविना व्यक्तिले कठिन आवस्थाबाट पार पाउन सक्तैन । उसमा निर्णय दिन सक्ने क्षमता विकासका लागि पनि आत्मबल चाहिन्छ । प्राचीन गुरु आश्रमहरूमा दिइने शिक्षाले बालबालिकाको शारीरिक र मानसिक विकास स्वतस्फूर्त रूपमा हुने गर्दथ्यो ।

बालबालिकाले शिक्षा लिनुको उद्देश्य नै भविष्यमा आफूलाई आइपर्ने कुनै पनि जिम्मेवारी निर्भिकतापूर्वक बहन गर्न सक्ने क्षमता वृद्धि गराउँनै हो । प्राचीन शिक्षा प्रणाली अनुशासन, सञ्चरित्रता र विवेकको भावना बढाई उच्च आदर्शमा चलेको थियो । यस किसिमको शिक्षाले समाज र राष्ट्रका लागि सुयोग्य नागरिक उत्पादन गर्न सक्दथ्यो ।

इशापूर्वको शिक्षा :
तत्कालीन मिथिला राज्य शिक्षा विकासका दृष्टिले महत्वपूर्ण देखिन्छ । सातौं शताब्दीमा वर्तमान जनकपुर विदेह राज्यको केन्द्र थियो । तत्कालीन जनक राजाको समयमा शैक्षिक कृयाकलाप बारे योगदान देखिन्छ । तीनताका बौद्धिक छलफल, लेखन कलाको विकास र शैक्षिक जागरण पनि बढ्दै गरेको पाइन्छ । त्यसैबेला उपनिषद्, बाहृय साहित्यहरू दर्शनहरू तथा वेदांगहरू आदिका साथै बौद्धिक ग्रन्थ ऋग्वेदका सूत्रहरूको व्यवस्था अध्ययन गरिने चलन बसिसकेको थियो । तत्कालीन प्रख्यात विद्वानहरूमा यज्ञवल्य, स्वेतकेतु, उद्धालक, आरणी, सत्यकाम, गार्गी आदि थिए । आयुर्वेदको समेत राम्रो पठनपाठन प्रारम्भ भइसकेको थियो ।

साथै जोतिषशास्त्रको विकाससँगै ग्रह नक्षत्र, शुभ अशुभ आदिको विचार गर्ने प्रचलन त्यति बेलाबाट सुरु भएको थियो । शिल्पशास्त्रसम्बन्धी अध्ययन पनि गरिन्थ्यो । मूर्ति बनाउने कार्य पनि निक्कै वृद्धि हुँदै आउन थाल्यो । संगीत तथा अभिनयको प्रारम्भ हुन थाल्यो । त्यस बेला अध्ययनको भाषा संस्कृत थियो । बोलिचालीको भाषामा कतिपय ठाउँमा स्थानीय भाषामा पनि बोलिचालीको प्रचलन थियो भन्ने कुरा इतिहास शिरोमणि श्रीज्ञानमणि नेपालले लेख्नुभएको छ ।

लिच्छविकालीन शिक्षा :
लिच्छविकालीन नेपालको शिक्षा व्यवस्था राम्रो मान्न सकिन्छ । शासकहरू समेत शास्त्र अध्ययन गर्थे । राजा मानदेव पनि धर्मशास्त्रका अध्ययता थिए । अंशुवर्माको विद्वता देश विदेशमा समेत फैलिएको थियो । तत्कालीन दरबारीया कवि चन्द्र वर्माले चन्द्र व्याकरण नामको ग्रन्थसमेत लेखेको कुरा वर्णन गरिएको छ । लिच्छवि राजा जयदेव स्वयं विद्वान थिए । तत्कालीन अवस्थामा पठनपाठनको व्यवस्था गर्न सरकारीस्तरबाट बिर्ता जमिनको व्यवस्था गरिएको हुन्थ्यो ।

सरकारीतर्फका साथै सामाजिक संस्थाहरूबाट पनि शिक्षा सञ्चालनमा योगदान पु¥याउथे । त्यहाँ मठमन्दिर र विहारहरूले धार्मिक शिक्षा प्रदान गर्ने गर्दथे । तत्कालीन अभिलेखमा वेद, स्मृतिहरू र महाभारतका श्लोकहरू समेत उल्लेख गरेको पाइन्छ । त्यस बेला महाकाव्यको महत्व र भास र भारवीका पुराना संस्कृत रचनाहरूको पनि अध्ययन हुन्थ्यो भन्ने कुरा उल्लेख गरिएको पाइन्छ ।

त्यसबेला शास्त्रीय परम्पराका साथै आयुर्वेद ज्योतिष, संगीत, शिल्पशास्त्र जस्ता विषय पठनमा समावेश गरिएका थिए । आयुर्वेदिक पद्धतिअनुसार उपचरि गरिने व्यापक प्रचलन थियो । आयुर्वेदिक शास्त्र विधि प्रक्रिया सबै संस्कृत भाषामा थिए ।

प्राचीन नेपालमा संस्कृत भाषा साहित्यकै आधिपत्य थियो । लिच्छविकालमा किरात र अन्य आर्य भाषा बोलिने भए तापनि सरकारी भाषा संस्कृत नै थियो । तत्कालीन बौद्ध ग्रन्थहरू संस्कृतमै रचिन्थे । शिला लेखहरूमा वैष्णव, शैव, हरिहर आदिका स्तुतिहरू सांस्कृतिक श्लोकहरू संस्कृत भाषामा भेटिन्छन् ।

प्राचीन काल ललितकलाको सुन्दर समय थियो । यसमा साहित्य संगीत, चित्र, मूर्ति, वास्तु आदि समेटिएका थिए । मूर्तिकला र वस्तुकलाको यस समयमा राम्रो विकास भएको थियो । तत्कालीन नेपालमा कला गोष्ठी पनि हुने गरेको पुष्टि लेलेको सम्वत् ५२६ को अभिलेखमा अञ्र्चा गोष्ठीको उल्लेख भएबाट हुन्छ । यसरी त्यसबेला कलाकारहरूको पनि छलफल गर्ने संस्था रहेको बुझिन आउँछ ।

मल्लकालीन शिक्षा :
दशौं शताब्दीको आरम्भकालदेखि नै नेपालमा भारतका आचार्यहरूद्वारा बौद्ध धर्मसम्बन्धी शिक्षा दिने प्रचलन बढ्न थाल्यो । त्यतिखेरै तिब्बती भिक्षु धर्मस्वामी नेपाल आएपछि स्वयम्भूमा बौद्ध शिक्षा दिने केन्द्रका रूपमा स्थापित भयो । यसपछि थुप्रै तान्त्रिक दर्शनका ग्रन्थहरू निर्माण हुन थाले । पाठकहरूको संख्या पनि वृद्धि हुन थाल्यो । जयस्थिति मल्लको हातमा शासन आएपछि शिक्षा र साहित्यमा उन्नति हुन थाल्यो । उनकै कार्यकालमा धेरै संस्कृतका ग्रन्थहरू नेवारी भाषामा रूपान्तरण हुन थाले । भारतबाट मुसलमानद्वारा लखेटिएका विद्वानहरूले जयस्थिति मल्लको दरबारमा आश्रय पाएका थिए । उनका समयमा प्रायः ग्रन्थहरू एवं नाटकहरूको स्तरलाई हेर्दा शिक्षाको स्तर माथि उठेको मान्न सकिन्छ ।

मल्लकालमा थुप्रै ग्रन्थहरू लेखिए र मल्ल राजाहरू शिक्षाप्रेमी पनि थिए । उनीहरू स्वयं गीत, नाटक आदि लेख्थे । ती ग्रन्थहरू नेवारी, संकृत, नेपाली तथा मैथली भाषामा हुन्थे । राजा प्रताप मल्ल आफूलाई सबैभन्दा ठूलो कवि भनाउन रुचाउँथे । उनी गद्य पद्य र अनेक थरिका काव्य रचना गर्थे । मध्यकालीन अवस्थाको शिक्षामा धार्मिक शिक्षा, शास्त्रीय शिक्षा र व्यावसायिक शिक्षा दिइन्थ्यो । शिक्षा दिने ठाउँ मठमन्दिर तथा विहारहरू हुन्थे । बाहिरबाट शिक्षक झिकाई आफ्ना केटाकेटीलाई शिक्षा दिलाउने काम त्यतिखेरदेखि नै थियो । भाषाका रूपमा नेवारी, नेपाली, संस्कृत, मैथली आदि प्रचलनमा थिए ।

काठमाडौं उपत्यकामा नेवारी भाषा पहाडी क्षेत्रमा नेपाली र तराईमा मैथली भाषाको बढी प्रयोग हुन्थ्यो । उपत्कामा स्थानीय भाषाबाहेक अन्य नेपाली, मैथली आदि भाषामा शिक्षा दिइने चलन थियो । यसरी समयानुसार विविध रूपले शिक्षा प्रणाली फेरबदल हँुदै आयो । पूर्वमध्य कालमा आएर विभिन्न शिक्षाकेन्द्र बन्न पुगेका थिए र यसरी प्रसिद्ध भएका शैक्षिक केन्द्रहरूमा फर्पिङ, ललितपुर, भक्तपुर थिए । फर्पिङ तान्त्रिक विद्याको गढ मानिन्थ्यो । ललितपुर हिन्दू तथा बौद्ध धर्मसम्बन्धी शिक्षा दीक्षा दिनका निम्ति प्रसिद्ध थियो । भक्तपुरमा श्री त्रिपुराविद्या पीठका बारेमा तमडी टोलस्थित अभिलेखमा तत्समयको तान्त्रिक विद्याको उल्लेख पाइन्छ । त्यहाँ तान्त्रिक विद्याको समुन्नत विकासका लागि विद्यालयहरू पनि स्थापित गरिएका थिए ।

मध्यकालीन नेपालमा काठमाडौंका विभिन्न ठाउँमा अध्ययन केन्द्रहरू स्थापित गरिएका थिए । यी विद्या अध्ययन केन्द्रहरूमा हिन्दू र बौद्ध दुवै धर्मसँग सम्बन्धित पठनपाठन गराइने प्रचलन थियो । बौद्ध धर्म र दर्शनको शिक्षा दिने ठाउँ स्वयम्भू थियो । ठमेलमा विक्रमशील महावी शैक्षिक केन्द्र थियो । भारततिर अध्ययन गर्न नेपाल भई जाने पण्डितहरू यहीँ बसेर संस्कृत भाषा र बज्रयोगी ग्रन्थहरू अध्ययन गर्दथे । भारतबाट तिब्बत जाने र तिब्बतबाट भारत जाने दुवै थरिका विद्वान नेपाल भएर जाने र आउने बाटो पर्ने भएकाले त्यसबेला नेपाल महत्वपूर्ण शैक्षिक केन्द्र बन्न पुगेको थियो ।

नेपालमा शिक्षाको संस्थागत विकास हुनुभन्दा अगाडि गुरुकुल, गुम्बा, विहार, मठमन्दिर आदि शिक्षा केन्द्रहरू थिए । यस्ता केन्द्रहरूमा बसेर परम्परागत शिक्षा हासिल गर्नेगर्दथे । त्यतिबेला वैदिक धर्मबाट अनुप्राणित संस्कृत शिक्षा र बौद्ध धर्मबाट अनुप्राणित बौद्ध शिक्षाको प्रचलन बढी थियो ।

त्यसताका विभिन्न थरिका विद्वान काठमाडौं उपत्यकाभित्र रहन्थे । विद्वानहरूको छलफल र सभा गर्न मण्डपहरू बनाउँथे । काष्ठमण्डप र अन्य मण्डपबाट पनि शिक्षाको महत्व बोध हुन आउँछ । यसरी प्राचीन मध्यकालीन नेपालको शैक्षिक अवस्था अध्ययन गर्दा शिक्षाको राम्रो विकास भएको देखिन्छ । यो स्थिति सर्वसाधारण जनताका लागि कत्तिको उपयोगी र तिनको पहुँच कति थियो भन्ने कुरा अभिलेखले देखाउँदैन । केवल उच्च वर्ग र शासकहरूका निम्ति मात्रको शिक्षा भन्ने बुझिन आउँछ ।

नेपालमा शिक्षाको संस्थागत विकास हुनुभन्दा अगाडि गुरुकुल, गुम्बा, विहार, मठमन्दिर आदि शिक्षा केन्द्रहरू थिए भन्नेबारे माथि नै चर्चा गरिसकिएको छ । यी शिक्षाका केन्द्रहरूमा बसेर परम्परागत शिक्षा हासिल गर्ने गर्दथे । त्यति बेला वैदिक धर्मबाट अनुप्राणित संस्कृत शिक्षा र बौद्ध धर्मबाट अनुप्राणित बौद्ध शिक्षाको प्रचलन बढी थियो । सातौं शताब्दीमा आएर राजा अंशुबर्माको समयमा शिक्षा पद्धतिको वर्गीकरण एवं शैक्षिक परम्परा हेर्दा शैव, वैष्णव र बौद्ध धार्मिक सम्प्रदाय गरी तीन किसिमबाट विद्यालय सञ्चालित थिए ।

प्राचीन शिक्षा प्रणाली अनुसार शिष्यहरू गुरुको सानिध्यमा रही ज्ञान आर्जन गर्ने व्यवस्थामा आत्मानुभूति परलोक प्राप्त गर्नु नै शिक्षाको उद्देश्य मानिन्थ्यो । त्यसबेला शिक्षा हासिल गर्ने बालबालिकाहरू उपनयन संस्कारपछि गुरुकुल गई ब्रहृमचर्यमा रही शास्त्रीय अध्ययन गर्दथे । अध्ययनपछि समार्वन संस्कार सकेर घरमा आएर गृहस्थाश्रम प्रवेश गर्दथे । गुरुकुल व्यवस्थाका लागि राजा र जनताबाट प्राप्त स्वेच्छिक दानको आधारमा आवास र भोजनको प्रबन्ध हुन्थ्यो । क्रमशः

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?