समस्यामा सहकारी !

निक्षेपमा सञ्चालकको मनोमानी, बचतकर्ताको बिचल्ली

हिमालय टाइम्स
Read Time = 12 mins

काठमाडौं । पछिल्लो समय एकपछि अर्को सहकारीहरू समस्यामा पर्न थालेका छन् । अध्यक्ष र व्यवस्थापनको मनोमानीका कारण सहकारीहरू समस्यामा पर्न थालेका हुन् । बचतकर्ताको सानोसानो रकम जम्मा गरेर ठूलो बनेका सहकारीहरूमा एकपछि अर्को समस्या आउन थालेका छ । सहकारीमा समस्या आउन थालेपछि बचतकर्ताको विश्वास मात्रै गुमेको छैन उनीहरू जम्मा गरेको रकमसमेत धमाधम निकाल्न थालेका छन् । सहकारी सञ्चालकहरू जम्मा भएको निक्षेपसहित फरार हुने क्रम बढेपछि बचतकर्ताहरू त्रसित बनेका हुन् । बचतकर्ताहरूले धमाधम जम्मा रकम निकाल्न थालेपछि सहकारीहरूलाई थप समस्या भएको छ ।

काठमाडौंको शान्तिनगरस्थित कान्तिपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा बचत रकम निकाल्ने बचतकर्ताहरूको लाइन लाग्न थालेको छ । व्यवस्थापनको बदमासीका कारण सहकारी समस्यामा परेपछि बचतकर्ताहरूले पैसा जम्मा गर्न छोडेर धमाधम निकाल्न थालेका हुन् । काठमाडौंको पुरानोमध्येको एक कान्तिपुर सहकारीमा निक्षेप फिर्ता लिनेको लाइन लाग्न थालेपछि सहकारीले कोटा निर्धारण गरेर पैसा फिर्ता गर्न थालेको हो । सहकारीले दैनिक प्रतिव्यक्ति १५ हजारको दरले मात्र फिर्ता गर्दै आएको छ । चन्द्रबहादुर लामाले २४ वर्ष नेतृत्व गरेको २६ वर्ष पुरानो सहकारीले १८ वटा शाखा कार्यालयमार्फत कारोबार गर्दै आएको छ । विसं २०५३ सालमा स्थापना भएको सहकारी सुरुमा फाइनान्सको रूपमा सञ्चालनमा रहेको थियो । सहकारीका तत्कालीन अध्यक्ष लामाले श्रीमतीको नाममा काठमाडौंकै जमलमा अर्को समानान्तर सहकारी खोलेका थिए ।

दुई सहकारीमा फरक-फरक नामबाट सञ्चालक बनेका लामाले कान्तिपुर समस्यामा पारेर नेतृत्व हस्तान्तरण गरेका थिए । लामाले कान्तिपुरमा सिबी लामा र पशुपतिमा चन्द्रबहादुर तामाङ बनेर काम गर्दै आएका थिए । सर्वसाधारणले जम्मा गरेको निक्षेप आफूखुसी प्रयोग गरेपछि पशुपति सहकारी डुबाएर कान्तिपुरसमेत डुब्ने लगभग निश्चित भएपछि दुई वर्ष अगाडि कान्तिपुरमा हिमालय विक्रम सिंह ठकुरीलाई अध्यक्षको जिम्मेवारी दिएर लामाले दुई वर्षअघि सहकारी छोडेका थिए । कान्तिपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष सिबी लामा भने यस विषयमा कुरा गर्नै चाहनुहुन्न । हिमालय टाइम्सले यस विषयमा जानकारी लिन उहाँलाई सम्पर्क गर्दा यस विषयमा आफूलाई केही थाहा नभएको भन्दै फोन काटिदिनु भयो ।

आरक्ष सहकारीका सञ्चालक फरार
आरक्ष बचत तथा ऋण सहकारीका सञ्चालक फरार भएका छन् । बचतकर्ताको लाखौँ रकम लिएर सहकारीका अध्यक्ष शारदा आचार्य न्यौपाने र प्रमुख कार्यकारी कमल न्यौपाने भदौ २ गतेदेखि फरार भएका हुन् । दाङ घर भएका सिइओ र अध्यक्ष श्रीमान श्रीमती हुन् । उनीहरू बचकर्ताको रकमबाट विभिन्न स्थानमा जग्गा खरिद गरी पैसा फसेपछि सम्पर्कविहीन भएको पीडितले बताएका छन् ।

आरक्ष सहकारीले सीतापाइला, चाबहिल र माछापोखरीबाट कारोबार गर्दै आएको थियो । सहकारीका सञ्चालक फरार भएपछि सञ्चालकहरूले बचत फिर्ता गर्न नसक्ने सूचनै टाँस गरेका छन् । कार्यालयमा बचत फिर्ता गर्न नसक्ने सूचना टाँस भएपछि बचतकर्ताहरू न्यायिक निकायमा पुग्न थालेका छन् । केही बचतकर्ताहरू काठमाडौं महानगरमा पुगेर धर्नासमेत दिएका छन् ।

काठमाडौं महानगरपालिको सहकारी विभागका प्रमुख देवेन्द्र पोखरेलका अनुसार हालसम्म ३२५ बचतकर्ता सम्पर्कमा आएका छन् । एकै व्यक्तिको १० लाख रुपैयाँसम्म पनि बचत राखिएको पाइएको उहाँले बताउनुभयो । अझै उजुरी गर्न बचतकर्ताहरू सम्पर्कमा आइरहेको उहाँले बताउनुभयो ।

आरक्ष सहकारीका सचिव असिम पन्थी र बद्री पन्थी, कोषाध्यक्ष श्रीराम न्यौपानेलाई प्रहरीले नियन्त्रण लिएर थप छानबिन भइरहेको पोखरेलले जानकारी दिनुभयो । १५ सय सदस्यको दुई करोड हिनामिना गरेर सञ्चालक फरार भएको भन्दै पीडितहरूले विभिन्न नियमनकारी निकायमा उजुरी दिएका छन् ।

नियमनकारी निकाय कमजोर हुँदा मनपरी बढ्दो, जनविश्वास गुमाउँदै सहकारी
गत महिना गौतमश्री सहकारीका सञ्चालक पनि पाँच अर्बभन्दा बढी हिनामिना गरेर फरार भएका थिए । केही साता अगाडि गौतमश्री सहकारीका सञ्चालक पनि ५ अर्बभन्दा बढी हिनामिना गरेर फरार भएका थिए । यसअघि पनि दर्जनौँ सहकारी सञ्चालकहरू फरार भएर कानुनी कारबाहीको प्रक्रियामा रहेका छन् ।

जसकारण सहकारीले जनविश्वास गुमाउँदै गएका छन् । केही सहकारी संकटमा र केही सहकारीका सञ्चालक फरार भएका कारण अन्य सहकारीले पनि जनविश्वास गुमाउँदै गएका हुन् । सर्वसाधारण जनताले दैनिक आधारभूत खर्चबाट कटाएर सहकारीमा बचत गर्ने गर्दछन् । भविष्यमा आफ्नै काम आउँछ भन्ने सोचेर सहकारी संस्थालाई विश्वास गरी रकम बचत गरेका हुन्छन् । त्यही रकम लिएर सहकारीका सञ्चालक फरार भएका धेरै उदाहरणहरू छन् । जसकारण सहकारी संस्थाहरूप्रतिको जनविश्वास झन्झन् दिनप्रतिदिन घट्न थालेको छ ।

एकातिर सरकार जनतालाई बचत गर्ने बानीको विकास गराउन जुटेको छ, भने अर्कातिर बचत गर्न भनी स्थापना गरिएका संस्थाहरू नै जनताको विश्वाससँग खेलिरहेका छन् । जसको प्रभावकारी नियमन गर्न सरकार चुकेको छ । नियमन, कारबाही लगायतका व्यवस्थाको प्रभावकारी कार्यान्वयन नहुँदा निक्षेप लिएर भाग्ने, बचतको दुरुपयोग गर्ने, आफ्नो व्यक्तिगत फाइदाका ठाउँमा लगानी गर्ने जस्ता क्रियाकलाप पनि सहकारी सञ्चालकहरूले गर्ने गरेका छन् । यसरी दुरुपयोग भएको रकमको क्षतिपूर्ति सर्वसाधारणले पाउने ग्यारेन्टी पनि सरकारले गर्न सक्दैन । केही फरार व्यक्तिहरू समातिन्छन् भने केही कारबाहीको दायरामा नै आइपुग्दैनन् ।

केही सहकारीको बदमासीले अवस्था थप जटिल बन्दै
टोलराज उपाध्याय, प्रवक्ता, सहकारी विभाग
सहकारी विभागका प्रवक्ता टोलराज उपाध्याय पछिल्लो समय बैंक तथा वित्तीय संस्था जस्तै सहकारी पनि तरतला अभावको समस्याबीच गुज्रिरहेका कारण सहकारीमा संकट देखापरेको बताउनुहुन्छ । केही सरकारी संस्थाको बदमासीका कारण अन्य सहकारी संस्थामा पनि सबै बचतकर्ताले एकैपटक बचत फिर्ता माग्ने क्रम बढेकाले समस्या आएको उहाँले बताउनुभयो । ‘कोरोना महामारी, रुस–युक्रेन युद्ध लगायतका कारण अर्थतन्त्र समस्यामा छ । बैंक तथा वित्तीय संस्थासँग सहकारीमा पनि तरलता अभाव देखिएको छ,’ प्रवक्ता उपाध्यायले हिमालय टाइम्सलाई भन्नुभयो ‘जसका कारण समग्र सहकारी क्षेत्र नै प्रभावित हुन पुगेको छ । बचतकर्ता उजुरी गर्न आउने क्रम बढेको छ । केही सहकारीको बदमासीले गर्दा अवस्था थप जटिल बन्दै गएको हो ।’

‘एकैपटक बचत रकम फिर्ता माग्दा समस्या’
मीनराज कँडेल, अध्यक्ष, राष्ट्रिय सहकारी महासंघ

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेल असामान्य अवस्थामा सबै सदस्य पैसा फिर्ता लिन आउँदा सहकारीले धान्न नसक्दा समस्या आएको बताउनुहुन्छ । यस्तो अवस्थामा भागेरभन्दा आफ्ना सदस्यहरूसँग मिलेर कुरा गर्दा समस्याको समाधान निस्किन सक्ने उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, ‘सहकारीले आफ्नो बचतको ८० प्रतिशत रकम सदस्यको ऋणमा लगानी गर्छन् । २० प्रतिशत मात्र सामान्य रूपमा चलाउँछन् । यो सामान्य अवस्थाको लागि ठिक हो । तर, असामान्य अवस्थामा सबै सदस्य पैसा लिन आउँदा सहकारीले धान्न नसक्दा यो समस्या आएको हो । सहकारीले यस्तो अवस्थामा भागेरभन्दा आफ्ना सदस्यहरूसँग मिलेर कुरा गर्दा समस्याको समाधान निस्कन सक्छ ।’ सहकारीले लगानी गरेको कर्जा नउठ्ने र बचतकर्ताले बचत फिर्ता माग्ने कारण सहकारी क्षेत्रमा समस्या आएको उहाँको दाबी छ । ‘सहकारीले कुल बचतको ७० देखि ८० प्रतिशत कर्जा लगानी गरेका हुन्छन् । बाँकी रहेको १० देखि १५ प्रतिशत तरलताबाट सबै सदस्यलाई बचत फिर्ता गर्न सक्ने अवस्था हुँदैन,’ केही सहकारीमा देखिएको समस्याले समग्र क्षेत्र प्रभावित हुन पुगेको भन्दै उहाँले भन्नुभयो, ‘केही सहकारीमा देखिएको समस्याका कारण धेरै सहकारी सदस्यले एकैपटक आफ्नो बचत र रकम फिर्ता माग्दा पनि समस्या आएको छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?