ओहदामा हुनेहरुको मनोविज्ञान घुस खानै पर्ने भएपछि विकास हुने कुरै भएनः मन्त्री चौधरी

फाईल फाेटाे

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । शहरी विकास मन्त्री मेटमणि चौधरीले ओहोदामा हुनेहरुको गलत मनोविज्ञानका कारण विकास हुन नसकेको बताउनु भएकाे छ ।

नवप्रवेशी इन्जिनियरहरुलाई डोलीद्धारा आयोजित पूर्वाधार विकास आयोजनाहरुको अनुगमन तथा कार्यान्वयन विषयक ६ दिने तालिमलाई सम्बोधन गर्दै उहाँले उक्त कुरा बताएका हुन् ।

‘मन्त्री, नेता, इन्जिनियर, हाकिम जस्ता ओहदामा हुनेहरुको मनोविज्ञान नै घुस खानै पर्ने भएपछि विकास हुने कुरा भएन । पदमा रहँदा कमाउनै पर्ने, पैसा जम्मा गर्नै पर्ने भएपछि न गुणस्तरको काम हुन्छ न समयमै योजना सकिन्छ । त्यसकारण अब हामी सबैले यस्तो गलत मनोविज्ञान त्याग्नैपर्छ,’ मन्त्री चौधरीले भन्नुभयाे ।

तालिमले कार्य क्षमता अभिबृद्धि हुने भन्दै मन्त्री चौधरीले उच्च आत्मबल, उच्च नैतिकता र उच्च इमानदारिताका साथ काम गर्न इन्जिनियरहरुलाई निर्देशन दिनुभयाे । जिम्मेवारी बोधका साथ काम गर्दै गए सचिव बन्न गाह्रो नभएको भन्दै मन्त्री चौधरीले सबैको सम्मान गर्दै, सबैलाई मिलाएर काम गरे मात्र सफल हन सकिने धारणा राख्नुभएकाे थियाे ।

शहरी विकास मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहले कर्मचारीले सकभर कामै नगर्ने, फाइल नपल्टाउने, पुराना फाइल हेर्ने, अल्झाउने र समयमा निर्णय पनि नगर्ने गरेकै कारण जनतामा गुनासो बढेकाले विकासका काम गर्दा जनतालाई केन्द्रमा राखेर छिटो निर्णय गर्न निर्देशन दिनुभएकाे थियाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?