मड्रिड डर्वीमा रियलको जित

हिमालय टाइम्स
Read Time = 3 mins

मड्रिड । स्पेनिस ला लिगाको प्रसिद्ध मड्रिड डर्वीमा रियल मड्रिडले जित हात पारेको छ । रियलले एट्लेटिको मड्रिडलाई उसकै मैदानमा २-१ ले हराएको हो । वान्डा मेट्रोपोलिटानोमा रियलको जितमा रोड्रिगो र फेडे भाल्भेर्डेले एक/एक गोल गर्नुभयो । एट्लेटिकोका लागि मारियो हर्माेसोले एक गोल फर्काउनुभयो ।

खेलको अन्त्यतिर गोलकर्ता मारियो हर्माेसो दोहोरो पहेंलो कार्ड खाँदै मैदान छाडेपछि एट्लेटिको १० खेलाडीमा सीमित भएको थियो तर त्यसले खेलमा खासै असर पारेन । यस सिजनमा अपराजित रहेको रियलको यो लगातार छैटौं जित हो । शतप्रतिशत जित निकालेको रियल ६ खेलबाट १८ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । रियलले क्याटलान क्लब बार्सिलोनालाई दुई अंकले पछि पारेको छ । पराजित एट्लेटिको १० अंक जोडेर सातौं स्थानमा छ ।

यता, इटालियन सिरी ‘ए’ मा इन्टर मिलान र युभेन्ट्सले हार बेहोरेको छ । इन्टर मिलान घरेलु टोली उडिनेससँग ३-१ ले पराजित भएको हो । सुरुवाती अग्रता लिनका बाबजुद त्यसलाई जोगाउन नसक्दा इन्टरले यस सिजन तेस्रो हार बेहोरेको हो । यस जितसँगै उडिनेस सात खेलबाट १६ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । पराजित इन्टर १२ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

अर्काे खेलमा १० खेलाडीमा समेटिएको युभेन्ट्स मोन्जासँग १-० ले स्तब्ध बन्यो । यो युभेन्ट्सको जारी सिजनमा पहिलो हार हो । युभेन्ट्सलाई हराउन दोस्रो हाफको ७४औं मिनेटमा क्रिस्टियनले गरेको गोल निर्णायक बन्यो ।

त्यसअघि युभेन्ट्स पहिलो हाफमै १० खेलाडीमा समेटिएको थियो । एन्जल डि मारिया सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिनुभएको थियो । जसको मूल्य युभेन्ट्सले चुकाउनुपर्‍यो । पहिलो जित निकालेको मोन्जा सात खेलबाट चार अंक जोडेर १८औं स्थानमा रहेको छ । पहिलो हार बेहोरेको युभेन्ट्स १० अंक जोडेर आठौं स्थानमा छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?