बडा दशैँको दोस्रो दिन आज ब्रहृमचारिणीको पूजा गरिँदै

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपालीहरूको महान् चाड बडा दशैँको आज दोस्रो दिन । आइतबार (हिजो) घटस्थापना गरी औपचारिक रूपमा यो वर्षको दशैँ सुरु भएको हो । दशैँको दोस्रो दिन आज ब्रहृमचारिणीको पूजा गर्ने गरिन्छ । शक्तिपीठहरूमा देवी ब्रहृमचारिणीको पूजाअर्चना गरिने शास्त्रीय मान्यता छ । हिन्दू धर्मशास्त्रमा ब्रहृमचारिणीलाई ब्रहृम विद्या तथा शक्तिकी देवीको रूपमा पूजा गर्ने प्रचलन छ । ब्रहृमचारिणीको आराधनाले ब्रहृमानुसार आचरण गर्ने शक्ति प्राप्त भई ब्रहृमचर्य जस्तो परमपदमा पुग्न सकिने पौराणिक मान्यता रही आएको छ ।

नवरात्रमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ । दशैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवीशक्तिको विजयको प्रतीकका रूपमा मनाउने गरिन्छ । घटस्थापनादेखि विजया दशमीसम्मको अवधिलाई नवरात्र पनि भनिन्छ । यस अवसरमा दुर्गा देवीको विशेष आराधना गरिन्छ । दुर्गा देवीका तीन रूप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आहृवान गरी पूजा गरिन्छ ।

उपत्यकामा मैतिदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, रक्तकाली, श्वेतकाली, दक्षिणकाली, इन्द्रायणी, सुन्दरीमाई, बज्रयोगिनीलगायत प्रसिद्ध शक्तिपीठ छन् । जहाँ आश्विन शुक्ल प्रतिपदादेखि विजया दशमीका दिनसम्म भक्तजनको धेरै भिड लाग्ने गर्छ । यी शक्तिपीठमा शारदीय नवरात्रमा विशेष पूजा हुनेगर्छ । यस्तै देशभरका विभिन्न शक्ति पीठमा माता देवी भगवतीको विशेष पूजाअर्चना गर्ने गरिन्छ नवरात्रीमा ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?