कोटेश्वर-सूर्यविनायक सडकमा स्मार्ट लाइट

Read Time = 4 mins

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आफ्नै खर्चमा काठमाडौंको कोटेश्वरदेखि भक्तपुरको सूर्यविनायकसम्मको सडक खण्डमा स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट) जडान गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्राधिकरणले कोटेश्वर-सूर्यविनायक सडकखण्डको बीच भागमा रहेको मेडिएन स्ट्रिप/आइल्याण्डमा बत्ती जडान गरी सञ्चालनमा ल्याएको हो ।

आइल्याण्डमा राखिएका पोलमा प्राधिकरणले एक सय २० वाटका ऊर्जा दक्षतायुक्त स्मार्ट लाइट जडान गरी सञ्चालनमा ल्याएपछि कोटेश्वर-सूर्यविनायक सडकखण्ड झिलिमिली बनेको छ । कम विद्युत् खपत गर्ने तर उज्यालो बढी दिने करिब चार सय ५० बत्ती जडान गरिएको प्राधिकरणले जनाएको छ ।

काठमाडौं महानगरपालिका, मध्यपुरठिमी र भक्तपुर नगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने सडक बत्तीको महसुल तिर्ने व्यवस्था गरिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रातको समयमा सडकको यात्रा सुरक्षित र सडक तथा शहरी सौन्दर्यलाई वृद्धि गर्न स्मार्ट स्ट्रिट लाइट जडान गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सडक बत्ती जडानपछि पैदल यात्रु र सवारी चालकलाई फाइदा पुगेको छ, उज्यालो भएपछि सडक सुरक्षित, सडक सुन्दर र शहरी सौन्दर्य पनि बढेको छ ।’

प्राधिकरणको प्रणालीमा रहेको फिडर प्यानलबाट स्वचालितरूपमा स्मार्ट लाइटलाई नियन्त्रण गर्न सकिन्छ । कोटेश्वर-सूर्यविनायक सडकखण्डका लागि १३ फिडर प्यानल जडान गरिएको छ । सडक बत्तीका लागिमात्र छुट्टै ट्रान्सफर्मर जडान गरिएको छ । स्मार्ट बत्ती प्राधिकरणको सर्भरसँग सिधै जोडिएको छ । सफ्टवेयरबाटै अँध्यारो हुँदा बत्ती बल्ने र उज्यालो हुँदा निभ्ने स्वचालित व्यवस्था छ । सफ्टवेयरबाट विद्युत् महसुलको बिलिङ गरिन्छ । बत्ती बले/नबलेको अनुगमन पनि सफ्टवेयरबाटै गर्न सकिन्छ ।

प्राधिकरणले उज्यालो शहर अभियानअन्तर्गत पालिकाहरूसँगको समन्वय र साझेदारीमा मुख्य सडक, ऐतिहासिक सांस्कृतिक सम्पदा, विश्व सम्पदा सूचीमा सूचीकृत तथा पर्यटकीय स्थलमा सजावटयुक्त आधुनिक बत्ती (स्मार्ट लाइट) जडान गरिरहेको छ । जसबाट शहरको सौन्दर्य अभिवृद्धि हुने, विद्युत् माग बढ्ने र रातीको खेर जाने विद्युत् पनि खपत हुने प्राधिकरणको विश्वास छ । पालिकाहरूको ६० प्रतिशत र प्राधिकरणको ४० प्रतिशत लगानी अनुपातमा स्मार्ट लाइट जडान भइरहेको प्राधिकरणले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?