पश्चिम नेपालमा बाढीपहिरोको बबण्डर, दर्जन बढीको मृत्यु, दुई दर्जन बेपत्ता

डिबी शर्मा
Read Time = 9 mins

काठमाडौं । केही दिनदेखिको अविरल वर्षाले पश्चिम नेपालमा ठूलो जनधनको क्षति गरेको छ । लगातारको वर्षाले कर्णाली र सुदूरपश्चिमका विभिन्न ठाउँमा बाढी, पहिरो र डुबानले जनधनको क्षति गरेको हो । विभिन्न ठाउँमा पहिरो जाँदा दुई दर्जन व्यक्ति बेपत्ता भएका छन् भने एक दर्जन बढीको ज्यान गएको छ । कालिकोट, हुम्ला र मुगुमा गरी १२ जनाको ज्यान गएको हो भने तीन जिल्लाका दुई दर्जन बढी बेपत्ता भएका छन् । ठाउँठाउँमा राजमार्ग अवरुद्ध भएका छन् । सुदूरपश्चिम र कर्णालीका कतिपय पहाडी जिल्लामा विद्युत् र सञ्चार सेवासमेत अवरुद्ध भएको छ । लगातारको वर्षापछिको बाढी र पहिरोले धानबालीमा समेत क्षति गरेको छ ।

पहिरोमा परेर कालिकोटमा २२ जना बेपत्ता भएका छन् । जिल्लाको तिलगुफा नगरपालिका-४ राँचुलीका १३ जना मलामी पहिरोमा पुरिएर बेपत्ता भएका हुन् । नगरपालिकाका हेमराज शाहीको निधनपछि तिला नदीमा अन्तिम दाहसंस्कारका लागि गएका एकै गाउँका १३ जनालाई पहिरोले पुरेको हो । दुईजना भने सम्पर्कमा आएका छन् । पहिरोमा परेका टेकराज शाही र अबराज शाही सुरक्षित स्थानमा आइसकेको जिल्ला प्रहरी कार्यालय कालिकोट प्रमुख डिएसपी जयस्वर रिमालले जानकारी दिनुभयो । उहाँका अनुसार उनीहरू हिलोमा लत्तपतिएको अवस्थामा बाँच्न सफल भएका हुन् । पहिरोमा परी बेपत्ता हुनेहरूमा तिलागुफा नगरपालिका ४ का ५६ वर्षीय वडाध्यक्ष परबहादुर शाही, सोही वडाका २३ वर्षीय प्रशान्त शाही, २४ वर्षीय नरेश शाही, ४१ वर्षीय मोलिलाल शाही, ५७ वर्षीय मानबहादुर शाही, २३ वर्षीय खेमराज शाही, ७६ वर्षीय बलिबहादुर शाही, ५५ वर्षीय धनबहादुर शाही, २३ वर्षीय भेषबहादुर शाही, २८ वर्षीय खगेन्द्र शाही, ३६ वर्षीय छत्रजंग शाही, ६३ वर्षीय धनबहादुर शाही र ४७ वर्षीय कालीबहादुर शाही रहनुभएको छ । स्थानीय र प्रहरीले पहिरो वरपर खोजी गरे पनि बेपत्ता भएकाहरू भेटिएका छैनन् ।

यस्तै, तिलागुफा-७ बालीगाउँको पहिरोमा घर पुरिँदा बेपत्ता भएका स्थानीय पाँचजनाको परिवार अझै फेला परेको छैन । आइतबार बिहान साढे १० बजे घरमाथिबाट आएको पहिरोले घर बगाउँदा धु्रवराज विष्टकी ३५ वर्षीया पत्नी ममता, १५ वर्षीय छोरा भरत, १३ वर्षीय छोरा कृपेश र ११ वर्षकी छोरी ज्यानी बेपत्ता हुनुभएको छ । यस्तै, जुम्ला गएर घर बिदाबाट फर्किँदै गर्नुभएका प्रहरी जवान पदम रावत टाकुल्ला खोलामा बगेर बेपत्ता हुनुभएको छ । दशैँ मनाउन घर बिदा जानुभएका रावतसहित तीनजना प्रहरी पैदल जुम्लाबाट सुर्खेततर्फ फर्किँदै गरेका र खाँडाचक्र नगरपालिका–८ को एक खोला तर्ने क्रममा बेपत्ता हुनुभएको हो ।

हुम्लामा एकै घरका चारजनाको मृत्यु
लगातारको वर्षाका कारण पहिरोमा परेर चंखेली–६ मासिधारको देनबाडामा एक घर पुरिँदा चारजनाको मृत्यु भएको छ । चंखेली गाउँपालिका–६ मासिधारा गाउँस्थित देनबाडामा माथिबाट आएको पहिरोले देउच्या विकको घर पुर्दा उहाँकी श्रीमती, एक छोरा र दुई छोरीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आइतबार साँझ ७ बजे घर माथिबाट आएको पहिरोले घर पुर्दा ६५ वर्षीया आमा होइजाली विक, नौ वर्षीया छोरी तुलसी विक, सात वर्षीया छोरी सुस्मिता विक र पाँच वर्षीय छोरा वसन्त विकको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सीता परियारले जानकारी दिनुभयो । घरभित्रै रहनुभएका देउच्या विकसहित तीन जना परिवारका सदस्य गम्भीर घाइते हुनुभएको छ । घाइतेको स्थानीय मेलछाम स्वास्थ्य चौकीमा उपचार भइरहेको उहाँले बताउनुभयो । लगातार पानी परिरहेकाले घटनास्थलमा सम्पर्क हुन नसकेको उहाँले बताउनुभयो ।

पहिरोमा परी मुगुमा आठ जनाको मृत्यु
मुगुको छायानाथ रारा नगरपालिका–११ सालिम गाउँमा पहिरोमा परी आठ जनाको मृत्यु भएको छ । पहिरोमा परी सालिम गाउँकी ६१ वर्षीया हाजिरा भग्री, ३० वर्षीया होइजाली भग्री, १६ वर्षीया सुस्मिता भग्री, ४२ वर्षीय वीरबहादुर ऐडको ज्यान गएको हो । त्यसैगरी उक्त पहिरोमा परी २४ वर्षीय सत्ता सावत, ३२ वर्षीय कृष्ण सावत, १६ वर्षीय चक्रवीर बोहोरा र १३ वर्षीय गौकला बोहोराको मृत्यु भएको प्रहरीले जनाएको छ । आइतबार मध्याह्न सालिम गाउँमाथिबाट पहिरो खस्दा उक्त पहिरोमा परी नौ जना बेपत्ता भएको र सोमबार दिउँसो स्थानीय र सुरक्षाकर्मीले आठ जनाको शव फेला पारेका हुन् । अझै हराइरहेकाहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । पहिरोले सालिम गाउँका करिब डेढ दर्जन घर भत्काएको छ ।

कर्णालीको बाढीले आठ सयभन्दा बढी परिवार डुबानमा
लगातारको वर्षाका कारण बर्दियाका आठ सयभन्दा बढी परिवार विस्थापित भएका छन् । कर्णाली नदीमा आएको बाढीले जिल्लाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाको-८ सय घर डुबानमा पारेको नगरपालिकाका प्रमुख दिपेश चौधरीले बताउनुभयो । उहाँका अनुसार डुबानमा परेकालाई नजिकैका सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । नदी र खोलामा पानीको सतह बढने क्रम नरोकिएकाले तटीय क्षेत्रका बासिन्दालाई नदीमा माछामार्ने र काठ ओसार्ने काममा नजान आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले जानकारी दिनुभयो । कर्णालीको बाढीले बर्दियामा मात्रै होइन कैलालीको टीकापुर क्षेत्रमा पनि दर्जनौँ घर डुबानमा परेका छन् । अविरल वर्षापछि आएको बाढीका कारण कर्णाली नदीले खतराको तह पार गरेको छ । पाँच दिनदेखि निरन्तर भइरहरेको वर्षाका कारण कर्णाली नदीमा पानीको बहाव बढेको हो । सहायक नदीहरू सेती, बुढीगंगा, तीला कर्णाली, भेरी लगायत नदीहरूमा पानीको सतह बढेका कारण तटीय क्षेत्रमा पानीको सतह बढेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?