बर्दिया कांग्रेसमा किचलो, गौतमविरुद्ध राठौरको उजुरी

हिमालय टाइम्स
Read Time = 3 mins

दीपककुमार शर्मा/हिटा
बर्दिया । आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लाग्ीि मनोनयन दर्ता गर्ने क्रममा बर्दियामा एउटै पार्टीबाट दुईजनाले मनोनयन दर्ता गराएपछि कार्यकर्तामाझ अन्योलता छाएको छ । बर्दिया क्षेत्र नं १ मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सञ्जय गौतम र जिल्ला सभापति अरुण प्रकाशसिंह राठौरले मनोनयन दर्ता गराएपछि बर्दिया कांग्रेसमा अन्योलता मात्र छाएको छैन गठबन्धनमा रहेका अन्य दलहरू पनि झस्किएका छन् । यसले निर्वाचनमा असर पार्ने ती नेताहरूको भनाइ छ ।

असोज २३ गते मनोनयन दर्ता गराउने क्रममा नेपाली कांग्रेसका जिल्ला सभापति अरुण प्रकाशसिंह राठौरले पार्र्टीको आधिकारिक आफू भएको भन्दै मनोनयन दर्ता गराउनुभएको थियो । केही बेरपछि कांग्रेसका केन्द्रीय सदस्य सञ्जय गौतमले पनि उम्मेदवारी दर्ता गराउनुभएको थियो । उहाँले पनि पार्टीको आधिकारिक उम्मेदवार आफू भएको बताउनुभएको थियो ।

यसैबीच राठौरले आधिकारिक उम्मेदवार आफू भएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता गराएको निर्वाचन क्षेत्र नं १ का निर्वाचन अधिकृत कैलाशप्रसाद सुवेदीले बताउनुभयो । उहाँले आधिकारिकताको विषयमा छलफल भइरहेको बताउनुभयो । यसरी एउटै पार्टीबाट दुईजनाले उम्मेदवार दर्ता गराउँदा दुवै पक्षका कार्यकर्ताले सामाजिक सञ्जालमा प्रचारप्रसार पनि तीव्र पारेका छन् ।

नेपाली कांग्रेसको स्रोतका अनुसार टिकट वितरणमा अरुण प्रकाशसिंह राठौरलाई पहिले टिकट दिइएको तर पछि विवाद भएपछि सञ्जय गौतमलाई दिइएको बताइएको छ तर दुवैजनासँग पार्टी सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेको पत्रसमेत रहेको छ । यसरी एउटै पार्टीबाट दुईजनालाई टिकट दिइएको विषयमा नेपाली कांग्रेस बर्दियासमेत अचम्ममा परेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?