आयोगद्वारा उम्मेदवारलाई चुनाव चिन्ह प्रदान

डिबी शर्मा
Read Time = 11 mins

काठमाडौं । निर्वाचन आयोगले प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएका उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरेको छ । बुधबार देशभरका सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट आउँदो मंसिर ४ गते हुने चुनावका लागि उम्मेदवारी दिएका उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान गरिएको हो । उम्मेदवारी फिर्ता र खारेजीपछि कायम रहेका उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गर्दै आयोगले चुनाव चिन्ह प्रदान गरिएको जनाएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को अनुसूची २९ बाट प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवारलाई निर्वाचन चिन्ह दिएको आयोगका प्रवक्ता शालिग्राम शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार निर्देशिकाको अनुसूची ३० बाट प्रदेशसभा सदस्यका स्वतन्त्र उम्मेदवारलाई मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन चिन्ह उपलब्ध गराएको हो । आयोगका अनुसार राष्ट्रिय दलको मान्यता प्राप्त गरेको दलका उम्मेदवारले सम्बन्धित दलको चुनाव चिन्ह पाएका छन् । अन्य उम्मेदवारलाई भने निर्वाचन आयोगले चुनाव चिन्हहरूको समूहमध्येबाट चिन्ह प्रदान गरेको हो ।

आयोगका अनुसार रूपन्देही निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दिनुभएका घनश्याम भुसालले त्रिभुज चुनाव चिन्ह पाउनुभएको छ । नेकपा एमाले त्यागेर स्वतन्त्र उम्मेदवार दिनुभएका प्रभु साहले हातेकल चुनाव चिन्ह पाउनुभएको छ । त्यस्तै, प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवाविरुद्ध स्वतन्त्र उम्मेदवारी दिनुभएका सागर ढकालले चुनाव चिन्ह सुई पाउनुभएको छ । काठमाडौं-५ बाट स्वतन्त्र उम्मेदवारी दिनुभएकी रञ्जु दर्शनाले सेल रोटी चुनाव चिन्ह पाउनुभएको छ । तनहुँमा रामचन्द्र पौडेलविरुद्ध उम्मेदवारी दिनुभएका गोविन्दराज जोशीले कैँची चुनाव चिन्ह पाउनुभएको छ । झापा-५ बाट स्वतन्त्र उम्मेदवारी दिनुभएका युग पाठकले पुतली चिन्ह पाउनुभएको छ । चितवन–३ मा कांग्रेसबाट प्रतिनिधिसभातर्फ बागी उम्मेदवारी दिनुभएका दिनेश कोइरालाले माछा चुनाव चिन्ह पाउनुभएको छ । सोही क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिनुभएका जगन्नाथ पौडेलले सूर्यमुखी फूल चुनाव चिन्ह पाउनुभएको छ । झापा २ मा स्वतन्त्र उम्मेदवारी दिनुभएका अधिवक्ता स्वागत नेपालले क्रस खुकुरी चुनाव चिन्ह पाउनुभएको छ । सर्लाही क्षेत्र नं ४ मा कांग्रेसबाट बागी उम्मेदवारी दिनुभएका डा. अमरेशकुमार सिंहले माछा चुनाव चिन्ह पाउनुभएको छ ।

क-कसले फिर्ता लिए उम्मेदवारी ?
तालमेलका लागि एमालेका चार उम्मेदवार फिर्ता
कांग्रेस बिपी, कांग्रेसकै बागी, राप्रपा र हृदयेशलाई समर्थन

विभिन्न उम्मेदवारहरूले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । आयोगले उम्मेदवारी फिर्ता लिन दिएको समयावधि बुधबार दिउँसो १ बजेभित्र दर्जनौँ उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।

नेकपा एमालेले अन्तिम समयमा प्रतिनिधिसभाका तीन र प्रदेशसभाका एकजना उम्मेदवार फिर्ता गरेर अन्य समूहसँग तालमेल गरेको छ । उम्मेदवारी फिर्ता लिने अन्तिम दिन एमालेले नेपाली कांग्रेस बिपी, विद्रोही कांग्रेस, राप्रपा र हृदयेश त्रिपाठीसँग सहकार्य गरेको हो । एमालेले डडेल्धुरामा नेपाली कांग्रेस बिपीका कर्ण मल्ललाई समर्थन गर्दै प्रतिनिधिसभामा चक्रबहादुर स्नेहीको उम्मेदवारी फिर्ता लिएको हो । त्यस्तै, जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठीलाई समर्थन गर्दै सिन्धु जलेसा बुढाथोकीको उम्मेदवारी फिर्ता लिएको छ । त्यस्तै, चितवन क्षेत्र नम्बर ३ मा रामप्रसाद न्यौपानको उम्मेदवारी फिर्ता लिएर कांग्रेसका बागी उम्मेदवार शेखर–गगन समूहका दिनेश कोइरालालाई समर्थन गरेको छ । धादिङ २ मा भने राप्रपाले एमालेलाई प्रतिनिधिसभामा समर्थन जनाएको छ भने प्रदेशमा एमालेका धनबहादुर घलेको उम्मेदवारी फिर्ता लिएर राप्रपाका डम्बर घलेलाई समर्थन जनाएको छ ।

गुल्मीमा चारजना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । गुल्मी-१ मा प्रतिनिधिसभातर्फ स्वतन्त्र उम्मेदवारी दिएका कमल भुसाल, गुल्मी–१ कै प्रदेशसभा (क) मा उम्मेदवारी दिएका किरण शाह र (ख) मा उम्मेदवारी दिनुभएका रामचन्द्र कँडेलले उम्मेदवारी फिर्ता लिनुभएको हो । कास्कीमा एमाले उम्मेदवार दामोदर पौडेल वैरागीविरुद्ध बागी उम्मेदवारी दिएका जगन्नाथ बास्तोलाले उम्मेदवारी फिर्ता लिनुभएको छ । गोरखा-२ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध स्वतन्त्र उम्मेदवारी दिनुभएकी माधवी भट्टले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ । बझाङमा स्वतन्त्र उम्मेदवारी दिनुभएका पाँचैजना बागी उम्मेदवारहरूले मनोनयन फिर्ता लिनुभएको छ ।

नेकपा एसका २२ उम्मेदवार केन्द्रबाटै खारेज
नेकपा एकीकृत समाजवादीबाट बागी उम्मेदवारी दिएका २२ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । पार्टीले उम्मेदवारी फिर्ता नलिए कारबाही गर्ने चेतावनी दिएपछि २२ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् । प्रतिनिधिसभातर्फ चारजना र प्रदेशसभातर्फ १८ जनाले उम्मेदवारी फिर्ता लिएको अध्यक्ष माधवकुमार नेपालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कांग्रेसका बागी उम्मेदवार, प्रस्तावक र समर्थक पाँच वर्षका लागि निष्कासित
नेपाली कांग्रेसले पार्टी र गठबन्धनको निर्णयविपरीत बागी उम्मेदवारी दिएकाहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बुधबार जारी गरेको विज्ञप्तिअनुसार निर्धारित समयमा पनि पार्टीको निर्देशन नमानेर उम्मेदवारी फिर्ता नलिएका बागी उम्मेदवालाई कारबाही गरिएको हो । देशभर प्रतिनिधिसभा र प्रदेशसभातर्फ बागी उम्मेदवारी दिएर फिर्ता नलिनेहरूलाई कांग्रेसले कारबाही गरेको हो । गठबन्धन दलले बुधबार दिउँसो १ बजेभित्र बागी उम्मेदवारी फिर्ता लिन निर्देशन गरेका थिए । तर, अधिकांश प्रभावशाली नेताहरूले भने बागी फिर्ता लिएनन् । बागी उम्मेदवारका प्रस्तावक र समर्थकलाई पनि पार्टीबाट पाँच वर्ष निष्कासित गरिएको छ । कांग्रेसले मंगलबार विज्ञप्ति जारी गरेर बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको थियो । पौडेलका अनुसार उम्मेदवारी फिर्ता लिन आग्रह गर्दासमेत उम्मेदवारी फिर्ता नलिएका बागी उम्मेदवार र निजको प्रस्तावक र समर्थकलाई पार्टी विधानको धारा ३४ (४) (क) बमोजिम पार्टीको सदस्यसमेत नरहने गरी पाँच वर्षका लागि निष्कासन गरिएको विज्ञप्ति उल्लेख गरिएको छ ।

प्रदेशसभा सदस्यमा दीपक मनाङे निर्विरोध
मनाङ प्रदेश ‘ख’ बाट स्वतन्त्र उम्मेदवार राजीव गुरुङ निर्विरोध निर्वाचित हुनुभएको छ । अर्का स्वतन्त्र उम्मेदवार दोर्जे लामा गुरुङले उम्मेदवारी फिर्ता लिएपछि दीपक मनाङे भनेर चिनिने गुरुङ निर्विरोध निर्वाचित हुनुभएको हो । दोर्जेले बुधबार १० बजेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आएर आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको हो । दोर्जेले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि राजीव गुरुङको एकल उम्मेदवारी मात्रै बाँकी रहेको छ । एकल उम्मेदवारी रहने भएकाले उहाँ निर्विरोध हुनुभएको हो । राजीव २०७४ को निर्वाचनमा कांग्रेसका कर्म गुरुङलाई हराएर मनाङ प्रदेश ‘२’ बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?