हाम्रो सभ्यता र आजको सन्दर्भ

Read Time = 13 mins

✍️डा. नारायणप्रसाद निरौला

संसार विविधताको फूलबारी हो । हरेकका आ-आफ्ना संस्कृति र सभ्यता रहेका छन् । आजको यो विश्वपरिवेश आफूमै साँघुरो भइसकेको छ । विश्व भूमण्डलीकरणसँगै विविध विषयवस्तुले पनि जन्म लिइरहेका छन् । जसले गर्दा हामी आफ्नो पनभन्दा परायको प्रकृतिलाई रुचाउने हुन थालेका छौँ । यो उत्तरआधुनिकतावदी चिन्तनको प्रत्यक्ष प्रभाव हो । हामी हाम्रो सभ्यतामा परायको पन घोलिरहेका छौँ । हो समय परिवर्तनशील छ र परिवर्तनको मार्ग पनि हामीले अवलम्बन गर्नुपर्छ । तर यही नाममा हामी आफ्नो पनबाट विमुख हुनु कत्तिको उचित होल ? विस्तारै विनिर्माणको विकृत वायुले वशीभूत गरिरहँदा स्वयं चेतनहीन भइरहेका छौँ । आफ्नो पन र प्रकृतिबाट पन्छिएर कलमी हुँदा भोलि मूल वृक्ष रहन्छ रहँदैन ? स्वयं सचेत बन्नु आवश्यक छ ।

नीति कुनै रुढीवादीको रट्ने मन्त्र होइन । जीवन जगत्लाई सुन्दर बनाउने सूत्र हो । ऋषिमुनिका हजारौं वर्षको खोज अनुसन्धानबाट प्राप्त ज्ञान र विवेकलाई आजको युगले सजिलै स्वीकार्न नसक्दा नै यो अराजकताको आँधी उर्लिएको हो । युग परिवर्तित छ, परिवर्तको सकारात्मक पक्षलाई सबैले स्वीकार्नु पर्छ ।

पूर्वीय संस्कृति र सभ्यता विश्वमा नै सर्वप्राचीन मानिन्छ । ऋग्वेद सर्वप्राचीन ग्रन्थ हो । वेदमा मानव कल्याणका अनन्त उपायहरू छन् । आज ती ज्ञानको खोज अनुसन्धान र प्रयोगभन्दा पनि उपेक्षको दृष्टिले हेर्ने प्रवृत्ति मौलाएको छ । यसैले आजको यो विश्वमा विकराल अवस्थाको सिर्जना भएको हो । जीवनदर्शन वेदको परं उपलब्धि हो । यही ज्ञानको खोजसँगै प्रयोग गरेर आज अंग्रेजको हाइ हाइ भएको हो । कस्तुरी बोकेर स्वयं वासनामा भौतारिएको मृगजस्तै हुन पुगेका छौँ हामी । वेदका अधिकारी सबै हुन् । व्यास स्वयं मझिनी मत्स्यगन्धाका छोरा हुन्, जसले चार वेदको सम्पादन, महाभारत एवं अठार पुराणहरू रचना गरे । शुकदेव, विदुर अनि सुत जी महाराज आदि सबै ज्ञान विज्ञानका क्षेत्रमा विशिष्ट मानिन्छन् । यी कसरी वेद अध्ययन गर्न अधिकारी भए ? अतः वेदको अध्ययन गर्नसक्ने अथक परिश्रमी नै वास्तवमा वेद पढ्ने अधिकारी हो । न कि कुनै जात विशेष । अतः यस्तो ऋषिप्रणित पुण्य पवित्र ज्ञानलाई आदरका साथ जीवनमा उतारी विश्वमा यसको चेतना फैलाउनु आजको आवश्यकता बनेको छ ।

नैतिक हुनु कुनै आडम्बरको आगो ताप्नु होइन । नैतिकता भनेको सभ्यताको चिनारी हो । सत्य तीतो नै हुन्छ । जसरी ब्रेकले गाडीको सन्तुलनमा महत्वपूर्ण भूमिका खेल्छ त्यसैगरी नैतिकताले मान्छेलाई सव्य र भव्यको मार्गमा सन्तुलित बनाउने काम गर्छ । नीति कुनै रुढीवादीको रट्ने मन्त्र होइन । जीवन जगत्लाई सुन्दर बनाउने सूत्र हो । ऋषिमुनिका हजारौं वर्षको खोज अनुसन्धानबाट प्राप्त ज्ञान र विवेकलाई आजको युगले सजिलै स्वीकार्न नसक्दा नै यो अराजकताको आँधी उर्लिएको हो । युग परिवर्तित छ, परिवर्तको सकारात्मक पक्षलाई सबैले स्वीकार्नु पर्छ । हिजोका नीति आज सबै अनुपयुक्त भएका होइनन् । त्यसको सही व्याख्या र प्रयोग गर्ने व्यक्तिको मात्र अभाव भएको हो । सुन कहिल्यै पुरानो हुँदैन । मैलिनु भिन्नै कुरा हो । सुन सुन नै हो आगोमा तताएर परीक्षण गर्न सकिन्छ । जीवन र जगत्को अनुभवजन्य ऋषि प्रणित नैतिक शिक्षालाई आज पुनः प्रयोगमा ल्याउनु आवश्यक रहेको देखिन्छ ।

इतिहासले भविष्यको रेखा कोर्न मद्धत गर्छ । पूर्वजका इतिहास नै वर्तमान र भविष्यका द्योतक हुन् । संहिता, ब्राहृमण, उपनिषद्, आरण्यक, रामायण, महाभारत, पुराण आदि ग्रन्थ इतिहासले दिएका उत्तम पाठ हुन् । यिनै महत्वपूर्ण ग्रन्थहरूबाट मथेर निकालिएको निष्कर्ष वास्वमा नैतिक दृष्टान्त हो । जीवनलाई सही ढङ्गमा अगाडी बढाएर इहलोकको आनन्दपूर्वक भुक्ति र परलोकको मुक्ति प्राप्त गर्न नै यस्ता विषयवस्तु आवश्यक हुन्छन् । वास्वमा नैतिक उपदेश जीवनको मार्गदर्शन हो । आज हामी यस्तो अमूल्यवस्तुबाट विमुख हुनु भनेको नै भोलिको सुन्दर भविष्य विगार्नु हो । त्यसैले सुन्दर समाजरूपी राष्ट्र र विश्व बनाउन सबैमा नैतिक चेतना हुनु आवश्यक छ ।

सत्यं वद (सत्य बोल), धर्मं चर (धर्म मान), मातृदेवो भव (माता देवता समान हुन्छन् ), पितृदेवो भव (पिता देवता समान हुन्छन्), अतिथि देवो भव (अतिथि देवतासमान हुन्छन्) गुरु देवो भव (गुरु देवता समान हुन्छन्), स्वाध्ययन् मा प्रमद (आफ्नो अध्ययनलाई कहिल्यै नछोड) यस्ता वैदिक सूक्तिले मानव जीवनको सही मार्गनिर्देश गरिरहेका छन् । तर आजको अवस्था यो भन्दा निकै भिन्न भइरहेको छ । संसारका सर्वद्रष्टा माता पिता नै आजका अपहेलित पात्र बन्न पुगेका छन्, अतिथि आज अर्घेला भइरहेका छन् भने सच्चा गुरु गौण हुन थालिसकेका छन् । यसैगरी स्वाध्ययनबाट पनि आज हामी विमुख हुँदैछौँ । यस्ता अमृतरूपी वाणीबाट विकर्षित हुनु नै विनाशको मार्गमा लाग्नु हो विनाशकाले विपरीत बुद्धिः भने झैँ हाम्रो बुद्धि विपरीत बन्न थालेको छ यसैले सत्मार्गको शिखरमा लम्किन ऋषिप्रणित मार्गमा लाग्नु आवश्यक देखिन्छ ।

हो आज अमन चैन हराएको छ । चिन्ताको चङ्गुलमा फसेर कर्तव्यहीन बन्दै छ मान्छे । स्वयं अमृतको घडा बोकेर अन्धकारमा विष खोजिरहेको छ । अतः अब जाग्नुुपर्ने समय आएको छ । आनन्दको मुहान नै मारेपछि मन विचलित हुनु स्वभाविक हो । यो केवल नैतिकता विमुख हुनुको परिणति हो ।

विश्वब्रहृमाण्ड शान्तिको कामना हाम्रो वेदले गरेको छ । सबैमा मित्रताको भाव जागृत गराउँदै विश्बन्धुत्वको शङ्खघोष वैदिक सूक्तिमा पाउन सकिन्छ । राजनीतिका उत्कृष्ट नमुना वेदमा व्यक्त छन् । अर्थनीतिको परिचालन र प्रयोगको शिक्षा वैदिक संहितामा यत्र तत्र छरिएका छन् । धर्म, साहित्य, इतिहास भूगोलका भव्यतम अभिव्यक्तिहरू वेदमा व्याप्त छन् । चाहे कौटिल्यको अर्थशास्त्र होस चाहे माघ, कालिदा, भारविका साहित्य । अनि व्यासको इतिहास होस् चाहे पाणिनीको व्याकरण सबै आज पनि अब्बल दर्जामा छन् र रहिरहन्छन् पनि ।
दर्शनको पाटो छुट्टै छ । साङ्ख्यदर्शन माक्र्सको चिन्तन भन्दा निकै उचाइमा उभिएको छ । चार्वाक दर्शन आजको भौतिकवादीको महा गुरु हो । चाहे वेदान्तका द्वैताद्वैत हुन् चाहे न्ययका प्रमाण प्रमेय सबै जीवन दर्शनका आदि स्रोत हुन् । चाहे वैशेषिकको अणुवाद होस् चाहे मीमांसाको कर्मफल सबै हम्रै जीवनलाई सत्मार्गमा अघि बढाउने मूल मन्त्र हुन् । आजको विश्व परिवर्तनमा यस्ता दर्शनको अवलम्बन नितान्त आवश्यक छ । यिनै दर्शनबाट विमुख भएर नै आज विश्मा अन्धकारको आँधी छाएको हो । जीवनको सार तत्व बुझन् नसकेर नै अजको विश्व मानव मदिराको मातमा मुर्झाएको छ । समस्त मन विचलित भएका छन् अनि निराशाका साङ्लाले निरन्तर निमोठिरहेको छ मान्छेलाई । हो आज अमन चैन हराएको छ । चिन्ताको चङ्गुलमा फसेर कर्तव्यहीन बन्दैछ मान्छे । स्वयं अमृतको घडा बोकेर अन्धकारमा विष खोजिरहेको छ । अतः अब जाग्नुुपर्ने समय आएको छ । आनन्दको मुहान नै मारेपछि मन विचलित हुनु स्वभाविक हो । यो केवल नैतिकता विमुख हुनुको परिणति हो । किनकि ‘स्वधर्मे निधनं श्रेय’ (गीता) त्यत्तिकै भनिएको होइन । स्वधर्म भनेको स्वसंस्कृतिको संरक्षण हो । आफ्नो कर्तव्यको पालना हो । सत्यको मार्गमा लाग्नु हो । परोपकारी बन्नु हो ।

आज हितोपदेश अहितकारी बनाइएको छ । यसको मूल मर्म नबुझी शिक्षाको पाठ्यांशबाट हटाउँदाको परिणति नै आजको विकृत परिवेश हो । सचेत सभ्य र भव्य समाजको सिर्जना गर्न आजका युवामा हितोपदेश, पञ्चतन्त्र, विदुर नीति, तर्कशास्त्र जस्ता ग्रन्थको ज्ञान हुनु जरुरी छ । राजनेताले विदुर नीति विर्सदा नै देशले गति पाउन नसकेको हो । पञ्चतन्त्रका पानाहरू सडकमा सडिँदा नै आजको असहज परिस्थिथिले पिरोलेको हो । पवित्र ज्ञानलाई अपमानको आगोले जलाए पछि स्वयं जल्नु स्वभाविक हो । यसैले हामी सभ्यता र संस्कृतिमा धनी छौँ । हाम्रा आफ्नै मूल्य मान्यता छन् । सबैको कल्याण चाहने, सबैलाई बन्धुसमान व्यवहार गर्ने, आफू जस्तै अरुलाई पनि देख्नसक्ने चेतनाको दीयो बोकेका हामी स्वयं बत्तीमुनिको अध्यारो बन्नु हुँदैन । हाम्रा संस्कृति र सभ्यताको खोज गर्नु, आफ्नै पन र प्रकृतिलाई आजको परिवेशमा हुर्काउनुपर्दछ । किनकि पौरस्त्य वाङ्मय संस्कृति र सभ्यतामा धनी छ । केवल यसको उचित संरक्षण र संबद्र्धनको अभाव छ,, यसतर्फ ध्यान दिनु आवश्यक देखिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?