स्वदेश फिर्तीको माग गर्दै बंगलादेशमा रोहिंग्या शरणार्थीको जुलुस

हिमालय टाइम्स
Read Time = 3 mins

कक्स बजार, (बंगलादेश) । सुरक्षितरुपमा स्वदेश फिर्तीको माग गर्दै बङ्गलादेशमा शरणार्थी जीवन बिताइरहेका रोहिंग्या शरणार्थीले जुलुस निकालेर विरोधप्रदर्शन गरेका छन् । हजारौं रोहिंग्या शरणार्थीले आफूहरूमाथि भएको अमानवीय हिंसाको छैटौं वार्षिकीमा शुक्रबार बंगलादेशका विभिन्न शिविरमा विरोधप्रदर्शन गरेका हुन् । बंगलादेशले राज्यविहीन अल्पसंख्यकका १० लाख रोहिंग्यालाई शरण दिएको छ ।

सन् २०१७ मा म्यान्मामा भएको सैनिक कारवाहीबाट भागेका शरणार्थीले अन्तर्राष्ट्रिय फौजदारी अदालतले नरसंहारका दोषीलाई कारवाही गर्नुपर्ने माग पनि गरेका छन् । उक्त अदालतले म्यान्माले गरेका अपराधको अनुसन्धानको अध्ययन गरिरहेको छ ।

शरणार्थी बस्तीहरूमा व्यापक अराजकता छाएको छ भने अन्तर्राष्ट्रिय मानवीय सहायता पनि कटौती भएको छ । शरणार्थीलाई स्वदेश फर्काउने सहमति नहुँदा उनीहरूमा चरम निराशा छाएको छ । बजेट कटौतीले राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम पर्याप्त खाद्यान्न उपलव्ध गराउन सकेको छैन । प्रति महिना एक जना शरणार्थीलाई एक हजार बराबरको खाद्य सहयोग उपलव्ध भएको छ ।

‘हामी म्यान्मा फिर्तीको माग गर्छौँ, हाम्रो यो माग नयाँ होइन, हामी म्यान्माका नागरिक थियौँ र हौँ । उनीहरू बिस्तारै म्यान्माको इतिहासबाट हाम्रो नाम मेटाउन खोजिरहेका छन्’, रोहिंग्या समुदायका नेता कमल हुसेनले एएफपीलाई भनेका छन् । शरणार्थी शिविरको सुरक्षामा खटिएका एक जना सुरक्षा अधिकारीका अनुसार वर्षाका बावजुद करिब दश हजार शरणार्थी विरोधप्रदर्शनमा सहभागी भएका थिए ।

विश्वको सबैभन्दा ठूलो शरणार्थी समस्या बनेको रोहिंग्या शिविरहरूमा मानवीय अवस्था बिग्रँदै गएको छ । बेलाबेलामा शिविरमा हुने झडपमा महिला र बालबालिकासहित दर्जनौं मारिएका छन् ।

बंगलादेश र म्यान्माले रोहिंग्याहरूलाई घर फर्काउने योजनामा काम गरिरहेका बताइए पनि मावनअधिकारवादी समूहले उनीहरूको स्वदेश फिर्ती सुरक्षित नभएको भन्दै चिन्ता व्यक्त गरेका छन् । शरणार्थीसम्बन्धी आयुक्तको कार्यालयले म्यान्माका अधिकारीसँग छलफल जारी रहेको बताएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?