गुल्मीका ३५ मतदानस्थल अति संवेदनशील

हिमालय टाइम्स
Read Time = 3 mins

-रमेश विश्वकर्मा

गुल्मी । गुल्मीका ३५ मतदानस्थल अति संवेदनशील सुचीमा परेका छन् । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तोकिएका मतदानस्थलमध्ये यस जिल्लाका ३५ मतदानस्थललाई जिल्ला सुरक्षा समितिले अति संवेदनशील सूचीमा राखेको हो ।

विगतका निर्वाचनमा भएका गतिविधि, भौगोलिक विकटता, सुरक्षा संवेदनशीलता लगायतका अवस्थालाई अध्ययन गरेर मतदानस्थलको वर्गीकरण गरिएको जिल्ला सुरक्षा समिति अध्यक्ष एवम् गुल्मीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनसार यस जिल्लामा तोकिएका १४२ मतदानस्थलमध्ये ३५ मतदानस्थल अति संवेदनशील सूचीमा राखिएको छ । त्यस्तै, ६७ मतदानस्थललाई संवेदनशील र ४० मतदानस्थललाई सामान्य अवस्थाको सूचीमा राखिएको उहाँले बताउनुभयो ।

दुई नगरपालिका र १० गाउँपालिका गरी १२ स्थानीय तह रहेको यस जिल्लामा कूल दुई लाख २३ हजार ६१५ मतदाता संख्या कायम गरिएको छ । जसमा पुरुष एक लाख १० हजार ३१५, महिला एक लाख १३ हजार २९८ र अन्य २ जना रहेका छन् ।

जिल्लामा २७८ मतदान केन्द्र रहेको छ । मतदाता संख्याको आधारमा मतदान केन्द्र थपघट गरिएको जिल्ला निर्वाचन कार्यालय गुल्मीका सुचना अधिकारी मेघलाल पाण्डेले जानकारी दिनुभयो । कालीगण्डकी गाउँपालिका–२ मा रहेको दभौखानी माविमा पहिले दुई मतदान केन्द्र रहेको थियो । अहिले एक मतदान केन्द्र कायम गरिएको छ ।

त्यस्तै, छत्रकोट गाउँपालिका– ४ मा रहेको लक्ष्मी आधारभूत विद्यालयमा पहिले एक मतदान केन्द्र रहेको थियो । अहिले दुई मतदान कायम गरिएको छ । मुसिकोट नगरपालिका– ८ मा रहेको शारदा विद्यामन्दिर माविमा पहिले तीन मतदान केन्द्र रहेको थियो । अहिले दुई मतदान केन्द्र कायम गरिएको सुचना अधिकारी पाण्डेले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?