भोकमरीमा खाद्यान्नको चुनौती

विश्वनाथ खरेल
Read Time = 12 mins

प्रत्येक वर्ष नेपाल सरकारले विश्व खाद्य दिवस मनाउने गरेको छ । यसै सन्दर्भमा केही कुरा प्रकाश पार्न उपयुक्त देखिन्छ । संसारभर रहेका भोकमरी, गरिबी, अशिक्षा र कुपोषणबाट मानवलाई मुक्ति दिलाउने अभिप्रायले संयुक्त राष्ट्र संघको एक महत्वपूर्ण अंग खाद्य तथा कृषि संगठनको स्थापना भएको थियो । यसरी तेस्रो विश्वका राष्ट्रहरूमा लगभग दुई अर्बभन्दा बढी जनता रहेका छन् ।

यसै सन्दर्भमा सन् १९७९ मा भएको कृषि सुधार तथा ग्रामीण विकास सम्बन्धी विश्व सम्मेलनमा १४७ राष्ट्रको सहमतिबाट १६ अक्टोबर १९८१ मा पहिलो विश्व खाद्य दिवस १५० राष्टहरूमा विभिन्न कार्यक्रमसहित मनाइयो । यसै परिप्रेक्ष्यमा ‘पहिलो आवश्यकता खाद्य र सबै वर्गको लागि खाद्यान्न’ भन्ने विचार विभिन्न सहभागी राष्ट्रहरूले व्यक्त गरेका थिए । एफएओका अनुसार हाल विश्वको करिब २ अर्बभन्दा बढी जनसंख्याको सुरक्षित, पौष्टिक र पर्याप्त खानामा निरन्तर पहुँच छैन भने सन् २०५० सम्ममा बढेर १० अर्ब पुग्न सक्ने अनुमान रहेको छ । बहुआयामिक भोकमरी मापनमा आधारित विश्वव्यापी भोकमरी सूचांक २०१९ मा नेपाल विश्वका ११७ देशमध्ये ७३औं स्थानमा रहेको छ ।

नेपालका करिब २० लाख जनसंख्या खाद्य असुरक्षित रहेका छन् तथा कोरोनाले झन् बढ्ने अनुमान गरिएको छ । त्यस्तै गरी हाल ४२औं विश्व खाद्य दिवसको नारा ‘उत्पादन, पोषण र वातावरणमा सुधारः सुखी जीवनको आहार’ भन्ने रहेको छ । दिगो कृषि प्रणालीमा वातावरणीय स्वास्थ्य, आर्थिक मुनाफा तथा सामाजिक तथा आर्थिक समानता र पशु हितको पृष्ठपोषणलाई ध्यान दिनुपर्छ । यसका निम्ति वाली चक्रको माध्यम अपनाउन पनि सकिन्छ । बालीमा विविधता भएपछि विभिन्न रोगबाट बिरुवालाई बचाउन सकिन्छ । यसकारण बढ्दो विषक्त रूपी खेती त्याग गरी, अमृत रूपी कृषिको थालनी गर्न गाउँगाउँ, बस्तीबस्ती हरेक ओडारमा रहेका किसान माझ जानुपर्छ ।

गुणस्तरीय बीउबिजनदेखि सिँचाइको बेवास्ता हरेक किसानको घर दैलोमा पुग्नुपर्छ । थोपा सिँचाई भनेको के हो ? बालिचक्र भनेको के हो ? हरेक किसानलाई सम्झाउनुपर्छ । जनतालाई आफ्नो अन्न खुवाई जीवन्त राख्ने किसानलाई नेपाल सरकारद्वारा पुरस्कृत गरिनुपर्दछ र पुर्खा जस्तै निरोगी, अटल राख्ने वातावरण तय गर्नुपर्ने हुन्छ । विश्वको दिनप्रतिदिन बढ्दो रूपमा रहेको जनसंख्याको भरण पोषण, कृषिको चौतर्फी विकासका लागि कृषिको अहम् भूमिका हुन्छ । यसले होला यो वर्षको नारा तय गरिएको होे ।

संसारलाई हेर्ने हो भने अहिले कृषि विकासको माध्यमबाट ग्रामीणस्तरमा अर्थतन्त्रलाई प्रत्यक्ष फाइदा पु¥याइरहेको छ । हाम्रो क्रियाकलाप नै हाम्रो भविष्य हो । संसारका लागि स्वस्थ आहार । स्वस्थ्यकर खानपिन नै शून्य भोकमरीको आधार हो । दशकौंदेखि संसारमा भोकमरीमा घटाउने प्रगति विश्वले गरिरहेको थियो । तर, आजभोलि कुपोषणयुक्त मानिसहरूको संख्या बढ्न थालेको छ । यसर्थ कुपोषित मानिसहरूको संख्या बढ्दो क्रममा छ । अहिले विश्वमा झण्डैं आठ अर्बको जनसंख्या मध्ये ८२० मिलियन मानिसहरू भोकमरीले ग्रस्त रहिरहेका छन् । यसलाई अर्को शब्दमा भन्नुपर्दा विश्वमा नौजना मानिसहरूमध्ये एकजना अझैं पनि भोकै रहेको अवस्था विद्यमान छ । हालको ब्रहृमाण्डको खाद्य सुरक्षालाई अवलोकन गर्ने हो भने संख्यात्मक भन्दा गुणात्मक खाद्यान्नको विषयलाई बढी जोड दिनुपर्ने स्थिति छ ।

अस्वस्थ खाद्यपर्दाथले आजभोलि संसारभरी नै रोग व्याधीको पीडा खप्नु परिरहेको छ । यसलाई निराकरणको लागि बरु थोरै खाद्य पदार्थ उपयोग गर्दा त्यो खाद्य वस्तु गुणात्मक हुनु पर्‍यो । जसले गर्दा जीवनयापन गर्न सजिलो हुन्छ । हालको अवस्थामा स्वस्थ र दिगो खानाको सरल, सर्वसुलभ बनाउनुपर्ने टड्कारो आवश्यकता छ । विश्वमा बढ्दो जनसंख्याको कारणले गर्दा खाद्यान्नमा वृद्धि गर्नु एकातिर छ भने अर्कोतिर भोकमरी र गरिबी समस्यालाई निराकरणका लागि आवश्यक कार्यक्रम कार्यान्वयन गर्न स्रोतसाधनको व्यवस्था गर्नुपर्दछ । संसारमा हाल अनुमान गरिए अनुसार कुपोषणबाट पीडित मानिसको संख्या ८५ करोडभन्दा बढी छ । अझ खाद्यको मूल्यबृद्धिले बढीभन्दा बढी भोकमरीको जोखिम बढाउनेमात्र नभई यसले गरिबीको चाप अझ बढाउनेछ । विश्व खाद्य सुरक्षाका लागि हालै सम्पन्न उच्च तहको सम्मेलनमा उपभोग्य खाद्यको कम उपलव्धता, बढ्दो मूल्य र सम्बन्धित विविध सवालहरूको प्रभावमाथि विचार गरिएको थियो । विश्व अर्थतन्त्रलाई पुनः सवलीकरण गर्दै सम्पन्न अर्थतन्त्रलाई उकास्न खर्बौंको लगानी भइरहेको छ तर गरिबहरूको आर्थिकस्तर उकास्न ठोस पहल भइरहेको छैन । यस्तो परिस्थितिमा विगतका आर्थिक संकटहरूसँग जुध्न विभिन्न देशले चालेको कदमबाट पाठ सिक्दै भोकमरी संक्रमणको जोखिममा रहेका ती गरिबलाई सम्भावित भोकमरीको खतराबाट बचाउन, कृषि क्षेत्रमा उत्पादन तथा उत्पादकत्व वृद्धिका लागि व्यापक लगानीको विस्तार गरी खाद्य संकट न्यूनीकरण गर्ने र खाद्यान्नको बढ्दो मूल्यलाई कम गर्नेतर्फ तत्काल पहलकदमी अत्यन्त जरुरी भइसकेको छ । किनभने न यो विश्वको पहिलो आर्थिक संकट हो न अन्तिम नै हुनेछ । । विश्वमा हाल बीसभन्दा बढी मुलुकहरूमा खाद्य अनिश्चितताको स्थिति देखापरेको विभिन्न किसिमका सञ्चारमाध्यमबाट थाहा हुन आएको छ । खाद्यान्न आयातका लागि १ सय ६४ अर्ब अमेरिकी डलर खर्च गरेको तथ्यांकले देखाएको छ जुन पहिलो वर्षको दाँजोमा २० प्रतिशतले बढी हो । यसर्थ यसको असरहरू न्यून आय भएका व्यक्ति अर्थात् साना कृषकलाई पर्छ ।

हाम्रो देशको कुरा गर्दा कुल भूमिमध्ये कृषियोग्य भूमि १८ प्रतिशत अर्थात् २६.५३ लाख हेक्टर जति छ । यसको साथसाथै अर्को रोगको रूपमा भोक रहेको छ । यसबाट पिल्सिएका मानिसलाई निराकरणका लागि कृषिसंग सम्बन्धित क्षेत्र पहिचान एवं विकास गर्नुपर्ने आजको टड्कारो आबश्यकता एकातिर छ भने अर्कोतिर खाद्य असुरक्षाको पछिल्लो प्रतिवेदनमा राष्ट्रसंघीय संस्थाले झण्डै ८६ करोड ८० लाख मानिस अर्थात् विश्वको कुल जनसंख्याको १२ दशमलव ५ प्रतिशत भोकमरीबाट प्रभावित भएको उल्लेख गरेको थियो । यद्यपि सुरुमा गरिएको एक अर्बको प्रक्षेपण र १९९०/९२ को १८ दशमलव ६ प्रतिशतको दाँजोमा कम थियो । स्वस्थ खानाको लागि सुझावहरू निम्न छन् । स्वस्थ र रोगमुक्त जीवनको लागि पर्याप्त, सुरक्षित, पोषणयुक्त र विविध खानाहरू खानुपर्ने हुन्छ । मानवको शरीरका लागि खानेकुराहरूमा तरकारी, फलफूल, दाल, गेडागुडी, अण्डा, मासु, माछालगायत अरू अन्न मिलाएर खाने गर्नुपर्दछ । मानिसहरूका लागि चिल्लो, गुलियो र नुन धेरै भएको खानेकुराहरू भरसक कम खाने गर्नुपर्दछ । यी खाने कुराहरू खादा आफ्नो शरीरलाई पनि नियमित रूपमा व्यायाम सँगसँगै गर्न भुल्नु हुँदैन । यसर्थ यी खानेकुरा खादा व्यायामसँगै गरेनौं भने हाम्रो शरीरको व्यालेन्स नमिलेर बिरामी पर्ने सम्भावना बढी हुन्छ ।

सन् २०१५ मा विभिन्न देशहरूले दीगो विकासका १७ वटा लक्ष्य अगाडि सारेका थिए । जसअन्तर्गत गरिबी र भोकमरी हटाउने, विश्वलाई भोकबाट कसरी हटाउने, सबैको लागि खाद्य समृद्धि सुनिश्चित गर्ने लक्ष्यहरू रहेका थिए । शून्यभोकमरीको लक्ष्यले भोकमरीमात्र हटाउने नभएर खाद्य सुरक्षालाई अभिवृद्धि गर्न पोषणयुक्त खाने कुरा र दिगो कृषि विकास प्रविधिको प्रयोग त्यतिकै आवश्यक छ । अस्वस्थ आहारहरू अब विश्वव्यापी रोग र मृत्युका लागि एक प्रमुख जोखिम कारक बनेका छन् । स्वस्थ, दिगो आहारहरू किफायती तथा पहुँचयोग्य बनाउन अत्यावश्यक भइसकेको हाल विश्वमा विद्यमान छ । सकिन्छ भने विभिन्न स्थानीय स्तरमा प्राप्त हुन सक्ने खाद्य पदार्थहरूको बारेमा जान्न र त्यसको सेवनका लागि तयार हुनु नै सबैभन्दा बढी कल्याण रहेको कुराको विश्वव्यापी विज्ञहरूले सुझाव दिएका छन् । विश्व खाद्यान्न कार्यक्रम र कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषले जारी गरेको प्रतिवेदनले कृषिमा व्यापक सुधार गर्न सकिए भोकमरी नियन्त्रण गर्न सकिने उल्लेख गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?