आन्तरिक असन्तुष्टि मत्थर पार्ने सत्ता गठबन्धनका नेताहरूको जुक्ति, संयुक्त सभादेखि अभिमुखीकरणसम्म

अनिल क्षेत्री
Read Time = 13 mins

काठमाडौं । सत्ता गठबन्धनका दलहरूबीच आसन्न निर्वाचनको लागि सिट बाँडफाँटमा लामो रस्साकस्सी पर्‍यो । सिट बाँडफाँटमा असन्तुष्टि जनाउँदै गठबन्धन निर्माणमा महत्वपूर्ण भूमिका खेलेको जनता समाजवादी पार्टी (जसपा) गठबन्धनबाटै बाहिरियो । लामो बहस र विवादपछि अन्तिम सयमयमा आएर सत्ता गठबन्धन सिट बाँडफाँटमा सहमति जुटाउन त सफल भयो तर आबद्ध दलहरूभित्र तीव्र असन्तुष्टि कायमै छ । सत्ता गठबन्धनका दलहरूबीच केन्द्रमा सहमति भई चुनावी तालमेल गर्ने निर्णय भए पनि एक्लाएक्लै चुनाव नलडेको भन्दै चुनावी तालमेलबारे कार्यकर्ताहरूबाट अझै व्यापक आलोचना सुनिन्छ ।

तालमेलको कारण गठबन्धनका कार्यकर्ता र समर्थकले हरेक क्षेत्रमा आफ्नो पार्टी तथा समर्थक दललाई भोट हाल्न पाउँदैनन् । त्यसकारण फरक पार्टीबाट उम्मेदवारी परेका क्षेत्रहरूमा मतदान गर्न नेता तथा कार्यकर्ता जाँदैनन् कि भन्ने चिन्ताले गठबन्धनका शीर्ष नेता र उम्मेदवारलाई सताएको छ । त्यसकारण अहिले शीर्ष नेताको जोड शतप्रतिशत मत ‘ट्रान्सफर’ गर्न एकअर्का पार्टी कार्यालय र नेतृत्वमा कार्यक्रम गर्नेजस्ता गतिविधिमा केन्द्रित छ । कुनै बेलाका प्रमुख दुस्मन शक्तिहरू अहिले काँधमा काँध मिलाएर एकै गठबन्धन गरी चुनावमा होमिए पनि द्वन्द्वका बेला दुःख पाएकाहरूले विगत सम्झँदै मतदानमा आनाकानी गरिरहेका छन् । यसले पनि गठबन्धनका उम्मेदवारलाई मत ट्रान्सफर हुन्न कि भन्ने चिन्ता थपिएको छ ।

तल्लो तहका नेता तथा कार्यकर्तामा रहेको असन्तुष्टि र तुष मेटाउन सत्तागठबन्धनका उम्मेद्वारहरूले आबद्ध दलका कार्यकर्तासँग राजनीतिक र भावनात्मक सम्बन्ध सुधारका लागि कार्यक्रमहरू गरिरहेका छन् । शीर्ष नेताहरू संयुक्त अभिमुखीकरण कार्यक्रममा व्यस्त देखिन थालेका छन् । संयुक्त प्रशिक्षण तथा अभिमुखीकरण सत्ता गठबन्धनले देशका सबै क्षेत्रमा सुरु गर्दैछन् । त्यसका लागि आवश्यक रणनीति बनाउन निर्वाचन परिचालन समिति पनि गठन गर्दैछन् । केन्द्रमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा निर्वाचन परिचालन समिति बनेको छ ।

काठमाडौं क्षेत्र नम्बर २ मा आइतबार प्रधानमन्त्रीसमेत रहनुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत सत्ता गठबन्धनका शीर्ष नेता उपस्थित भएर गठबन्धन दलका कार्यकर्तालाई अभिमुखीकरण गर्नुभएको छ । कार्यक्रममा सत्ता गठबन्धनमा रहेका दलका जिल्लास्तरका नेताहरू तथा सम्बन्धित क्षेत्रका नेता, कार्यकर्ता सहभागी भएका थिए ।

प्रतिगमनको खतरा अझै छ : प्रधानमन्त्री देउवा
प्रधानमन्त्रीसमेत रहनुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा अझै प्रतिगमनको खतरा रहेको दाबी गर्नुभएको छ । काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा आइतबार आयोजना गरिएको गठबन्धनको संयुक्त अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले मुलुकमा अझै प्रतिगमनको खतरा रहेको दाबी गर्नुभएको हो । प्रतिगमन आउन नदिन गठबन्धन गर्नुपरेको बताउँदै प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘नेपालमा लडेर ल्याएको यो प्रजातन्त्र जो छ, यसलाई स्थायित्व दिन जरुरी छ । प्रतिगमनको खतरा अझै पनि छ । त्यसैले सबै पार्टी एक हुन जरुरी छ ।’

संविधानअनुसार कुनै एक दलको मात्र बहुमत आउन नसक्ने र लोकतन्त्रलाई संस्थागत गर्न पनि अहिलेको अवस्थामा गठबन्धन जरुरी रहेको भन्दै देउवाले भन्नुभयो, ‘गठबन्धन संस्कृतिको विकास जे भएको छ, यो मिलेर चुनाव लड्ने र मिलेर लोकतन्त्रको सुदृढीकरण गर्दै देशको गरिबी हटाउने यो मौका पनि हो चुनौती पनि हो ।’

गठबन्धनको तर्फबाट काठमाडौं क्षेत्र नम्बर २ मा प्रतिनिधिसभाका साझा उम्मेदवार माओवादी केन्द्रकी नेतृ एवं पूर्वसभामुख ओनसरी घर्तीको प्रशंसा गर्दै कांग्रेस सभापतिसमेत रहनुभएका देउवाले भन्नुभयो, ‘ओनसरी साहसी महिला हुनुहुन्छ । सभामुख हुँदा अत्यन्तै कुशलतासाथ जिम्मेवारी पूरा गर्नुभएको छ । मलाई त विश्वास पनि थिएन । तर, सफलतापूर्वक जिम्मेवारी पूरा गर्नुभयो । सभामुख हुँदा पार्टीभन्दा पनि राष्ट्रको हित हेर्नुभयो ।’

केपी ओली एमाले नेतृत्वमा भएको भए गणतन्त्र आउने थिएन : अध्यक्ष दाहाल
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ले केपी शर्मा ओली नेकपा एमालेको नेतृत्वमा भएको भए नेपालमा संघीयता गणतन्त्र आउन नसक्ने दाबी गर्नुभएको छ । काठमाडौं क्षेत्र नम्बर २ मा आइतबार सत्ता गठबन्धनको संयुक्त अभिमुखीकरणलाई सम्बोधनका क्रममा अध्यक्ष दाहालले २०६२/६३ को जनआन्दोलनका बेला एमालेको नेतृत्व माधवकुमार नेपालले गरेकै कारण देशमा गणतन्त्र र संघीयता सम्भव भएको तर्क गर्दै भन्नुभयो, ‘एमालेका नेता अरू भएको भए सायद १२ बुँदे समझदारी हुँदैनथ्यो । गणतन्त्र पनि आउन दिँदैनथे । माधवजी एमालको नेतृत्वमा हुनुहुन्थ्यो त्यही कारण शान्ति प्रक्रिया पनि अघि बढ्न सक्यो । शान्ति वार्ताका लागि शेरबहादुर देउवाजीसँग मेरो कुरा भएको थियो । त्यसबेला सात दलको नेता माधव नेपाल हुनुहुन्थ्यो । अनेक तिकडम गरेर एमालेको नेताका रूपमा आएका मान्छे भएको भए गाह्रो हुन्थ्यो । उनी त्यसबेला नेता भएको भए शान्ति गणतन्त्र आउन दिँदैनथे ।’

कांग्रेस, एकीकृत समाजवादी र माओवादीले एक अर्कालाई स्वीकारिसकेका जिकिर गर्नुभएका अध्यक्ष दाहालले अब भोट हाल्न पनि संकोच नमान्न आग्रह गर्नुभयो । अध्यक्ष दाहालले काठमाडौं–२ मा प्रतिनिधिसभा उम्मेदवार ओनसरी घर्तीले जितेमा विकासे मन्त्रालयको मन्त्री बनाउने आश्वासन दिँदै भन्नुभयो, ‘म तपाईंहरूलाई के विश्वास दिलाउन सक्छु भने उहाँलाई विजयी गराएपछि उहाँलाई एउटा राम्रो विकासे मन्त्री बनाएर तपाईंहरूको अगाडि पठाइनेछ ।’

दुई वर्षभित्र जोरपाटी-साँखु सडकखण्ड निर्माण गर्न नसके राजीनामा दिने घर्तीको घोषणा

सत्तारूढ गठबन्धनको तर्फबाट काठमाडौं क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार ओनसरी घर्तीले आफू निर्वाचित भएमा दुई वर्षभित्रमा जोरपाटी-साँखु सडकखण्ड निर्माण सम्पन्न गराउने घोषणा गर्नुभएको छ । आइतबार काठमाडौंमा आयोजित काठमाडौं क्षेत्र नं. २ का सत्ता गठबन्धनका नेता तथा कार्यकर्ता अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै घर्तीले आफू निर्वाचित भए दुई वर्षसम्म जोरपाटी-साँखु सडकखण्डको स्तरोन्नति तथा निर्माण कार्य सम्पन्न गराउने घोषणा गर्नुभएको हो । उक्त अवधिमा निर्माण कार्य सम्पन्न गराउन नसके आफूले पदबाट राजीनामा दिने घोषणा गर्दै घर्तीले भन्नुभयो, ‘जोरपाटी–साँखु सडकको स्तरोन्नति तथा सम्पन्न गराउने काम जसरी ढिलाइ भएको छ, म घोषणा गर्न चाहन्छु आगामी दुई वर्षहरूमा यदि त्यो कार्य मैले सम्पन्न गर्न सकिनँ भने म राजीनामा गर्छु । नोट गर्नुस् । कोटेश्वरको जाम या ट्राफिकलाई हटाउन मैले आवश्यक पहल कदमी अगाडि बढाउनेछु । कृषि तथा वन विज्ञान, प्राकृतिक स्रोत व्यवस्थापन कलेज नाङ्लेभारेमा निर्माण भइरहेको छ । सञ्चालनमा ल्याउन पहलकदमी लिनेछु । साँखुको ढल निकासमा ध्यान दिनेछु ।’

सत्ता गठबन्धनलाई विजयी गराउन नेपालको आग्रह
सत्तारूढ गठबन्धनको एक घटक नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व–प्रधानमन्त्री माधवकुमार नेपालले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सत्तारूढ गठबन्धनलाई नै आम मतदाताले विजयी गराउनुपर्ने बताउनुभएको छ । आइतबार काठमाडौंमा आयोजित सत्ता गठबन्धनको अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले धरापमा परिसकेको संविधान र लोकतन्त्रलाई रक्षा गरेर सत्तारूढ गठबन्धनले मुलुकलाई ठूलो दुर्घटनाबाट जोगाएकाले पनि जनताले गठबन्धनमा आबद्ध दलका उम्मेदवारहरूलाई जिताउनुपर्ने तर्क गर्नुभयो । सत्तारूढ गठबन्धनमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा बाहेकका नेताहरू पनि भविष्यका प्रधानमन्त्री भएको उल्लेख गर्दै अध्यक्ष नेपालले भन्नुभयो, ‘अनुकूलता के छ भने भोलि पनि भविष्य गठबन्धन दलकै छ । र, गठबन्धनमा रहेका महत्वपूर्ण नेताहरू र पार्टी भइसकेपछि हल गर्न नसकिने केही पनि छैन । त्यसकारण तपाईंहरू उहाँसँग विश्वस्त भए हुन्छ । सँगसँगै केन्द्रबाट, मन्त्रिपरिषद्बाट अनेक खालका कानुनी अवरोधहरू आउलान्, त्यसलाई हल गर्नका लागि पनि हाम्रो वर्तमान प्रधानमन्त्री त छँदै हुनुहुन्छ । भविष्यका प्रधानमन्त्रीहरू पनि यहीँ छन् भन्ने पनि सबैको ध्यान जानुपर्ने आवश्यकता छ ।’

सत्ता गठबन्धनको गत असोज २७ गते बसेको बैठकले गठबन्धनका दलहरूलाई प्रभावकारी रूपमा परिचालन गर्न केन्द्र, प्रदेश र जिल्लामा निर्वाचन परिचालन समन्वय समिति गठन गर्ने निर्णय गरेको थियो । सत्ता गठबन्धनले सातै प्रदेशमा शीर्ष नेताहरूले सम्बोधन गर्ने गरी चुनाव लक्षित आमसभासमेत गर्ने तय गरेका छन् । कात्तिक ४ गते गण्डकी र बुटवलमा सभा हुनेछ । कात्तिक ५ गते विराटनगर र जनकपुरमा सभा र कात्तिक ६ गते धनगढी र सुर्खेतमा आमसभा हुनेछ भने कात्तिक ७ गते काठमाडौंमा गठबन्धनले संयुक्त सभा गर्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?