राजनीतिमा नातावाद : यी हुन् आगामी चुनावी मैदानका आठ दम्पती

नारायण भण्डारी
Read Time = 5 mins

काठमाडौं । नेपाली राजनीतिमा योग्यता, त्याग र समर्पणभन्दा पनि नातावाद हाबी भएको भन्दै आलोचना हुने गरेको छ । पार्टीमा ठूलो योगदान गरेका व्यक्तिलाई किनारामा पार्दै शीर्ष तहमा रहेकाहरूले आफ्ना परिवार तथा आफन्तहरूलाई जस्केलाबाट छिराउने प्रवृत्ति व्यापक छ । राजनीतिक क्षेत्रमा देखा परेका यस किसिमका विकृतिले त्याग र निष्ठाको राजनीति गर्नेहरू निरुत्साहित हुने गरेका छन् ।

लोकतान्त्रिक व्यवस्थामा जो कोही पनि राजनीतिमा आउनु स्वाभाविक हो । आफ्नो योगदान र क्षमताअनुसार पद वा अवसर प्राप्त गर्नुलाई पनि अन्यथा मान्नु हुँदैन । तर, बिना योगदान कसैको श्रीमान्, श्रीमती वा आफन्त भएकै कारणले अवसर पाउनु भनेको इमान्दार कार्यकर्ताप्रतिको अवमूल्यन हो । यस्ता किसिमका कार्यले राजनीतिलाई नै दूषित र विकृत बनाउने राजनीतिक विश्लेषकहरूको टिप्पणी छ ।
आगामी प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा पनि आठ दम्पतीहरू चुनावी मैदानमा होमिएका छन् । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा सातौँपटक डडेल्धुरामा प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ उम्मेदवार हुनुहुन्छ । उहाँकी पत्नी डा. आरजू राणा समानुपातिक खसआर्य समूहबाट तेस्रो नम्बरमा उम्मेदवार हुनुहुन्छ । कांग्रेस केन्द्रीय सदस्य रहनुभएकी राणा यसअघि पनि सांसद भइसक्नु भएको हो । गृहमन्त्री बालकृष्ण खाँणका पनि दम्पती नै उम्मेदवार हुनुहुन्छ । खाँण रुपन्देही ३ बाट प्रत्यक्षतर्फ उम्मेदवार बन्नुभएको छ भने पत्नी मञ्जु प्रतिनिधिसभाकै समानुपातिक सूचीमा हुनुहुन्छ । उहाँ कांग्रेस केन्द्रीय सदस्य तथा नेपाल महिला संघकी महासचिव पनि हुनुहुन्छ ।

माओवादी उपमहासचिव वर्षमान पुन र पूर्वसभामुख ओनसरी घर्ती श्रीमान् श्रीमती हुनुहुन्छ । पुन रोल्पाबाट र घर्ती काठमाडौं २ बाट उम्मेदवार बन्नुभएको छ । त्यस्तै, एमाले सचिव रघुवीर महासेठ दम्पती धनुषाका दुई क्षेत्रबाट प्रतिस्पर्धामा उत्रिनुभएको छ । महासेठ धनुषा ४ र उहाँकी पत्नी जुली महतो धनुषा ३ बाट उम्मेदवार बन्नुभएको छ । एमाले केन्द्रीय सदस्यसमेत रहनुभएकी जुली पूर्वमन्त्री पनि हुनुहुन्छ ।

जसपाका वरिष्ठ नेता अशोक राई सुनसरी १ बाट प्रत्यक्षमा उम्मेदवार बन्नुभएको छ । उहाँकी पत्नी सुशीला श्रेष्ठको प्रतिनिधिसभाकै समानुपातिकको बन्दसूचीमा नाम छ । माओवादी सचिव तथा शिक्षामन्त्री देवेन्द्र पौडेल र खेलकुद मन्त्री महेश्वर गहतराजका पनि दम्पती नै उम्मेदवार बन्नुभएको छ । पौडेल बाग्लुङ २ बाट प्रत्यक्षतर्फ उम्मेदवार हुनुहुन्छ भने उहाँकी पत्नी बलावती शर्मा प्रतिनिधिसभाकै समानुपातिक सूचीमा हुनुहुन्छ । बलावती माओवादीको पोलिटब्युरो सदस्य हुनुहुन्छ । गहतराज बाँके १ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । उहाँकी पत्नी पार्वती गहतराजको नाम लुम्बिनी प्रदेशसभाको समानुपातिक सूचीमा छ । त्यस्तै, माओवादीका सुदूरपश्चिम इञ्चार्ज खगराज भट्ट डडेल्धुराबाट प्रदेशसभा सदस्यका लागि प्रत्यक्षतर्फ उम्मेदवार बन्नुभएको छ । उहाँकी पत्नी मञ्जु बम प्रदेशमै समानुपातिक सूचीमा हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?