म्याग्दी-बागलुङ जोड्ने झोलुङ्गे पुल निर्माण कार्य अन्तिम चरणमा

हिमालय टाइम्स
Read Time = 3 mins

-ध्रुवसागर शर्मा

म्याग्दी म्याग्दीको बेनी नगरपालिका-१ रत्नेचौरबाट छिमेकी बागलुङ जिल्लाको बागलुङ नगरपालिका-४ कुडुले जोड्ने ३८८ मिटर लामो झोलुङ्गे पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

नेपाल सरकारको सस्पेन्सन ब्रिज डिभिजनले दुई जिल्ला जोड्ने ३८८ मिटर लामो र १७० मिटर अग्लो झोलुङ्गे पुलको निर्माण सुरु गरेको हो ।

बागलुङ र म्याग्दीको सिमानामा बग्ने ढोडेनि खोलामाथि पुल निर्माण भएपछि एक घण्टाको बाटो पाँच मिनेटमा छोटिने भएको छ । तीन करोड लागतमा बन्ने सो पुल निर्माणको लागि भानी हिमशिखर जेभीले १० महिनामा पुल तयार गर्ने गरी गत वर्षको असोजमा सम्झौता गरेको थियो । सम्झौता मितिको करिव ४ महिना ढिला गरी पुल निर्माण हुनेभएको हो ।

गत असार मसान्त भित्र काम सक्ने गरी गत वर्षको कात्तिक ४ गतेबाट पुल निर्माणको काम अगाडी बढेको थियो ।

रत्नेचौर, ज्यामरुककोट लगायत आसपासका क्षेत्रका बासिन्दाले सदरमुकाम बेनी बजारमाभन्दा बागलुङ बजारमा आर्थिक कारोबार लगायतका गतिविधि गर्ने भएकाले पुलले आवत जावतमा झन सहज हुने अपेक्षा गरिएको बेनी नगरपालिका-१ रत्नेचौरका निवर्तमान वडाअध्यक्ष टेकबहादुर रावलले बताउनुभयो ।

पुल बनेपछि बागलुङको पञ्चकोट, कुँडुलेमा रहेको सालग्रामको संग्रालयको अवलोकन गर्न आउने धार्मिक पर्यटकहरुलाई सुविधा पुग्नुका साथै रत्नेचौरको खेलमैदान, धौलागिरी क्षेत्रकै सबैभन्दा ठुलो मानवनिर्मित बुढोपोखरीको प्रचारप्रसार हुने स्थानीयको भनाइ छ ।

पुलको कुल लागत तीन करोड ५० लाख रहेको छ । पुल निर्माण गर्नका लागि बानपा-४ कुँडुले निवासी जयलाल सापकोटा, इन्द्र शर्मा र पशुपती सापकोटा लगायतले भुजेलचौरको करिब डेढ रोपनी जग्गा उपलब्ध गराउनुभएको छ ।

दैनिक सयौँ सर्वसाधारण ओहोरदोहोर गर्ने ठूलो खोला खोँचमा पुल बनेपछि एक घण्टाको पैदलयात्रा पाँच मिनेटमै छोटिने स्थानीय यूवा विष्णु कार्की क्षत्रीले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?